Information is intelligence
HomeLiteratureखुसी अन गरौँ।

खुसी अन गरौँ।

- Advertisement -spot_img

म अलिक व्यस्तताले युक्तजस्तो देखिन्छु हिजोआज । आर्थिक वर्ष समाप्त भैसकेको छ र नयाँ आर्थिक वर्ष सुरु भैसकेको छ ।केही हिसाबकिताब मिलाउन छ । केही उपलब्धिहरूको चर्चापरिचर्चा गर्नुछ ।

यो वर्षमा कति रोइयो भन्ने जानकारी लिन खोज्छु म बाटोको छेउनिर खुट्टा तल झारेर आफ्नै चप्पलमाथि बसेर । भर्खर रोपाइँ गरेका खेत चर्चरी फुटेर बसेका छन् । हरेक देशले लगाएको सिमानाजस्तो भाग लगाएर टुक्रा टुक्रामा परिणत छ सिङ्गो खेत । फेरि म बिर्सिरहेको छैन कि हिजो साँझ नै हो खेतमा पानी लगाएको । यसरी चर्किरहेको छ खेत । पानी लगाएर ठाउँमा आउँनेछ ।मान्छे पनि एकपटक आफूले अाँसुले सिचाइ गर्यो भनें केही समय चर्किरहन पर्दैन ।

बिग्रिएको धाराजस्तो दिनरात चुहिएर जिन्दगी चल्दो रहेनछ । सोच्थें – ‘मेरा अाँसु कसैको ट्वाइलेट सफा गर्ने पानी हैनन् ।’

म केवल सोच्थें । मलाई यो सोच्न अल्छि लाग्यो र पहाडतिर हेर्छु । कस्तो नमज्जाइलो लाग्छ पहाडले फेंदीलाई च्याँपेको देख्दा । पहाडले फेंदीलाई च्याप्दा नमज्जाइलो लाग्नु अत्यन्त झुर कुरा हो । फेरि सत्य हो पहाडले फेंदीलाई च्यापेको ।पहाडको फेंदी हुँदै उकालो उकालो बगेको बाटो एउटा मोडनिर पुगेर हराएको छ । आनन्द लाग्छ कम्तिमा मोडमा पुगेर त  हराएको छ ! मान्छेहरू बीच बाटोमै हराउँछन् । दुख लाग्छ ।

म फेरि सोच्छु – यो वर्षभर कति पटक “मिस यु” भनें हुँला । र, मिस युको रिप्लाईमा कति पटक “हस्” अायो होला, अनि कति पटक ङिच्च परें हुँला ! कति पटक “हेट यु” भनें हुँला ? फेरि कति पटक हेट यु को रिप्लाईमा – था छ,था छ,हजुर हेट गर्नुन्छ भन्ने- आयो होला !म यस्तै झिनामसिना कुरा सोचेर व्यस्त दैनिकी धकेलिरहेछु ।

उपलब्धिहरूको लेखाजोखा गर्छु । ६,७ अोटा शून्य उपलब्धि हात लागेछन् । यति धेरै शून्य उपलब्धि हाँसिल गर्नु पनि ठुलो कुरा हो ! कुनै दिन झुक्किएर भए पनि एउटा उपलब्धि हाँसिल भयो भने पनि अब गज्जप हुनेछ । यी सबै शून्य उपलब्धिको अगाडि एउटा उपलब्धि राख्नेछु ।

यो वर्षमा कति जना मान्छे बेपत्तासँग मन परे,कति जना मान्छे देख्दै चाटूँ लाग्नेबाट छुदै ‘टाटु’ लाग्नेसम्म पुगे । दिलको बाटो कति जना हिँडे ! कति जना दिलको बाटो सम्झेर भिरको बाटो हिँडे ! बेइमान अंगालोले कति मान्छेलाई अर्काकी गर्लफ्रेन्ड भनेन । पापी आँखाले कति जनालाई मोडमा नपुगेसम्म हेरिरह्यो ! कति रात निद्राले आफ्नो ड्युटी पूरा गरेन ! कति बिहान कलेज जान मानेनन् खुट्टाले ! कति पटक नदी किनारमा बसेर अाफू बसेको दुई हात टाढासम्मका ढुङ्गा टिपेर नदीमा फाले यी हातले । कति पटक घर फोन नगरेर गाली गरे घरकाले । र, अाफ्नो सम्झेको मान्छे कहिले उडाइदियो अर्काले । यी यावत कुराको तथ्यांक मागिरहेछ मभित्रको मान्छेले । त्यसैले अचेल अलिक व्यस्त छु म ।

साच्चिकै व्यस्त छु म अचेल । हिजो दिनभर सोचिबसेछु मेरो कमिजमा पाँच अोटा बटन किन छन् ? चार अोटा किन छैनन् ? किन छ अोटा छैनन् ? हो ,हिजो दिनभर बहुत तनाबमा थिएँ म ।

व्यस्त हुनाले बिहान ब्रस गर्न त बिर्सें बिर्सें ।साँझ सुत्ने बेला – मलाई ब्रस गर्न किन अल्छी लाग्छ होलाल- खालका केही थान सोचाइ सोच्न नि बिर्सेछु । धुमधाम भुलक्कड छु नि म ।

घुर्कीको भाषामा – हजुर आफ्नो लागि जे जस्तो भएर हिँडे हिड्नुस् तर मेरो लागि राम्रो भएर हिँड्न पर्छ । मेरा साथीले तेरो प्रेमी नराम्रो रैछ भने भने म हजुरका गाला भत्काइदिन्छु – भन्ने खालकी मायालु भए खै! केही हुन्थ्यो कि! तर भगवान न हुन्, यस्तो खालको अन्याय जो कोहीसँग गर्दैनन् ।

…त,भुलक्कडको कुरा आइरहेथ्यो नि है ।साच्चिकै भुलक्कड छु म । तिम्रो गालामा केही थान दाँतहरू बिर्सेर हिँडूजस्तो लाग्छ । तिम्रो आँखातिरै लामो समयसम्म मेरा आँखा बिर्सेर हिँडूजस्तो लाग्छ । तिम्रा कोमल हातमा मेरा हात जिन्दगीभरलाई बिर्सेर हिँडू लाग्छ । तर म यो तिमी भन्ने को होला सोचेर बिरामी पर्छु ।

कसैलाई मन दिऊँ पनि नलागेको हैन । फेरि अचेल विश्वास कसको गर्नु ! मन लगेर अँध्यारो कोठाको खाटमुनि चिसो भुँइमा कटहर टिपेर राखेजस्तो राख्देलान् रे । सर्दी लाग्ला रे मेरो मनलाई । अाफ्नो मन हो नि ! माया पो लाग्छ त !

मनमाया, मनको कुरा सुन्न छोडिदेऊ । ऊ जे पनि भन्छ, ऊ जे पनि गर्न खोज्छ , ऊ जे पनि आफ्नो बनाउन खोज्छ । किनकी मनमाया, मनको दिमाग हुँदैन ।

तर एक साँझको एउटा मायालु समयमा मलाई एउटा खुब मीठो प्रश्न सोधियो । त्यो समयमा चैं मलाई लाग्यो कि मन भन्ने जिनिस टपक्क टिपेर दिइहालूँ । चिसो भुँइमा त के घरभन्दा बाहिर तगालोनिर राखे नि राखोस् उसले ।

बिहान ब्रस गरेका सेता दाँतले भरिपूर्ण एउटा सुन्दर मुखबाट कस्तो बेपत्ता राम्रो र मीठो प्रश्न सोधिन्छ मलाई – ‘हाम्रो लभ कहिले पर्छ ?’

उत्साहले जुरुक्क उठ्छु म । ठ्याङ्ङ टाउको ठोकिन्छ दलिनमा । उहीँ जोसमा थुचुक्क बस्छु खाटमा । माथि फर्केर दलिनतिर हेरेर निन्याउरो अनुहार बनाएर मनमनै प्रश्न गर्छु दलिनलाई- ‘के गल्ती गरें र मैले ?’- आत्तिएको र मात्तिएको निको हुन्न छोरो !- हस्, अब यस्तो गर्दिनँ।

त्यही पिडाले युक्त बिग्रिएको अनुहार लिएर रिमोट समात्छु र टिभी खोल्छु । टिभीमा डिस होमले “खुसी अन गरौं” भन्दै विज्ञापन बजाइराख्छ । म खुसी अन गर्ने निहुँमा भान्सामा जान्छु र आमैलाई भन्छु- आमा! भोक लाग्यो !

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

Previous articleखै! बजे
Next articleमनकला!
- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु