Information is intelligence
HomeNewsकारभित्र ३ बालकको मृत्यु प्रकरण : ‘निसासिएर’ मृत्यु भएको प्रहरीको निष्कर्ष

कारभित्र ३ बालकको मृत्यु प्रकरण : ‘निसासिएर’ मृत्यु भएको प्रहरीको निष्कर्ष

- Advertisement -spot_img

दाङको तुलसीपुरमा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फेला परेका थिए ।

मृतकमा तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए । ती तीन बालकको मृत्यु निसास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

‘ एक दूई दिन अगाडि मात्रै भिसेरा रिपोर्ट आयो,’ सिंहले भने ‘ त्यो रिपोर्टमा बालबालिकाको मृत्युको कारण (सोफोकेशन) निसासिएर भएर भन्ने खालको छ ।’

तीन बालकको मृत्यु अक्सिजनको अभावले र कार्बनमोनोअक्साईडले गर्दा निसासिएर भएको भन्ने उल्लेख रहेको डिएसपी सिंहले बताए ।

बालरोग बिशषेज्ञ डा. किशोर खत्रीले सोफोकेशनले सहजै बालबालिकाको मृत्यु हुन सक्ने सम्भावना औंल्याए । ‘ सोफोकेशनले मानिसको सहजै मृत्यु हुन्छ,’ उनले भने ‘ अक्सिजनको अभावले मष्तिष्कले काम गर्न छोड्छ र मानिसको मृत्यु हुन्छ ।’

अक्सिजनको अभावले शरीर शिथिल बनेर मानिस लड्ने र मृत्यु हुने कुराहरु हुन सक्ने डा. खत्रीले औंल्याए । कार सञ्चालकका अनुसार उक्त कारपनि माघ १ गतेदेखि पार्किङ गरि राखिएको थियो ।

‘प्रहरीले आफ्नो अनुसन्धान पुरा गरि अदालतमा मिसिल बुझाई सकेको छ,’ डिएसपी सिंहले भने ‘ भिसेरा रिपोर्ट रिपोर्टले निसासिएर मृत्यु भएको देखाउनु, पोष्टमार्टम रिपोर्टले कतै चोट पटक लागेको नदेखिनुले घटनालाई ब्यक्ति विशेषले आफ्नो ढंगले मनोगत रुपमा ब्याख्या गर्न खोज्नु गलत हो ।’

तथ्य र रिपोर्टहरुका आधारमा लामो समयदेखि पार्किङ गरि राखिएको कार भित्र बच्चा खेल्ने क्रममा त्यस भित्र प्रबेश गरेको भएपनि भित्रबाट ढोका लक भएपछि बाहिर निस्कन नसक्दा निसासिएर मृत्यु भएको हुनसक्ने डिएसपी सिंहले बताए ।
यसअघि प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर र प्राविधिक झिकाएको थियो भने शवको पोष्टमार्टमका लागि बुटवलबाट विषेशज्ञ डाक्टर झिकाएको थियो ।

पोष्टमार्टम रिपोर्टले बालकको शरीरमा कुनै चोटपटक नलागेको हुँदा कर्तब्य गरि मारेको नदेखिएको प्रहरीले यसअघि नै जनाई सकेको थियो।

प्रहरीले घटनाको दोस्रो दिन वैशाख १९ गते नै कार धनी भनिएका तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ वर्षीय यादव प्रसाद गैरे र सोही वडा बस्ने ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरि ‘लापरबाही’ शिर्षकमा मुद्दा चलाएर अनुसन्धान सुरु गरेको थियो ।

चालक बस्नेत र गाडी धनी गैरेले माघ १ गते आफूहरूले उक्त कार लक गरि पार्किङमा राखेकाले आफूहरू घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष बयान दिदै आएका थिए । तर पीडित अभिभावकले भने तीन बालकको सामुहिक हत्या भएको दावी गदै दोषी पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएको भएपनि बैशाख ३१ गते १३ दिन पछि मात्रै शव बुझेका थिए ।

तुलसीपुर उपमहानगरपालिकामा पीडित पक्ष, स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार प्रमुख लगायतका बीचमा भएको वार्तापछि पीडित पक्षले बैशाख ३१ गते बेलुका १३ दिन पछि तीन बालकको शव बुझेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु