Information is intelligence
HomeNewsधारा ७६ (५) ले सरकार बनाउन सांसदलाई आत्मनिर्णयको अधिकार दिएको छ :...

धारा ७६ (५) ले सरकार बनाउन सांसदलाई आत्मनिर्णयको अधिकार दिएको छ : पौडेल

- Advertisement -spot_img

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले सरकार गठनका लागि सांसदहरूलाई आत्मनिर्णयको अधिकार दिएको बताएका छन् । संविधानको धारा ७६ को उपधारा ५ ले प्रतिनिधिसभाका सदस्यहरूलाई आत्मनिर्णयको अधिकार दिएको बताएका हुन् ।

नेपाल प्रेस युनियनको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै नेता पौडेलले दलहरूले सरकार दिन नसकेको अवस्थामा संसद् पूरा अवधि चलोस् भन्नका लागि संविधानले नै सांसदहरूलाई आत्मनिर्णयको अधिकार दिएको दाबी गरे ।

‘संविधानको धारा ७६ को उपधारा ५ ले प्रतिनिधिसभाका सदस्यको स्वतन्त्र अस्तित्व, आत्मनिर्णयको अधिकार दिएको छ,’ पौडेलले भने, ‘त्यो भनेको सांसदहरूको स्वविवेकीय अस्तित्व स्वीकार गरेको अवस्था छ । यो विशिष्ट अवस्था हो । यो विशिष्ट अवस्थाको अहिलेको परिस्थितिमा प्रयोग भएको हो ।’

प्रतिनिधिसभाका सदस्यहरू सरकार दिन्छौं भनेर सर्वोच्च अदालतमा गएको बताउँदै देशलाई विकल्प चाहिएको र त्यो प्रतिनिधिसभाले दिने विश्वास पौडेलले व्यक्त गरेका थिए । अहिले देशलाई वर्तमान सरकारको विकल्प चाहिएको र सभापति शेरबहादुर देउवाको नेतृत्वमा त्यसको पहल भएको पनि उनले बताए ।

प्रतिनिधिसभा विघटन गरी सरकारले कात्तिक र मंसिरमा गर्ने घोषणा गरेको निर्वाचन हुने अवस्था नरहेको पौडेलको भनाइ थियो । ‘देशलाई विकल्प चाहिएको छ । चुनावमा जाने अवस्था कतैबाट देखिँदैन,’ उनले भने ।

मुलुक कोरोनाले विषम परिस्थितिमा रहेकाले चुनाव हुनै नसक्ने पौडेलको भनाइ थियो । ‘चुनावको घोषणा गर्ने र महामारीका कारणले गर्न सकिएन भनेर चुनाव नगर्ने घोषणा गर्ने,’ उनले भने । यस्तो अवस्थाबाट पार पाउनका लागि नै कांग्रेसको नेतृत्वमा सरकारको विकल्प दिनुपर्ने पौडेलको भनाइ थियो । उनले संविधान, लोकतन्त्रको रक्षा गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । जनताको जीवनरक्षा गर्नका लागि सरकारले सम्पूर्ण शक्ति नलगाएको पनि पौडेलले आरोप लगाए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु