Information is intelligence
HomeHealthकनकाई नगरप्रमुखद्वारा पारिश्रमिकको सबै रकम अक्सिजन प्लान्टमा सहयोग

कनकाई नगरप्रमुखद्वारा पारिश्रमिकको सबै रकम अक्सिजन प्लान्टमा सहयोग

- Advertisement -spot_img

 झापाकाे कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पारिश्रमिक तथा भत्तावापत प्राप्त गरेको रु १० लाख अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका छन् । कोभिड–१९ को महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न उक्त सहयोग दिएको नगरप्रमुख पोखरेलले बताए । उहाँले रु १० लाखको चेक नगरपालिकालाई हस्तान्तरण गर्नुभएको नगरका प्रमुख प्रशासकीय मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

विकासप्रेमी नगरप्रमुखको पहिचान बनाउनुभएका पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका थिए । नगरमा हाल १५ शय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा छ । त्यहाँ रुदुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने नगरको लक्ष्य छ । यसका लागि नगरको चालु बजेटबाट रु एक करोडसम्म उपयोग गरिने र स्थानीय सहयोगी मनहरुबाट रु एक करोडको आश्वासन प्राप्त भएको उनले बताए । अस्पताललाई ५० शय्यामा विस्तार गर्नेसमेत नगरको योजना छ ।

“कोरोना महामारीबाट नागरिक एकदमै ठूलो पीडामा छन्”, उनले भने, “अहिले बरु सडक पक्की गर्दैनौँ, स्वास्थ्य सेवालाई भरपर्दो बनाउँछौँ ।” अप्ठेरो बेलामा नागरिकलाई भोक र रोगले मर्न नदिने आफ्नो उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले पहिलो वर्ष यही सुविधावापत पाएको रु तीन लाख ४० हजार नगरका श्रमिक वर्गको सार्वजनिक हित कोषमा जम्मा गरेका थिए ।

आर्थिक वर्ष २०७४/७५ मा गाडी खरिद शीर्षकमा नगरपालिकाले छुट्याएको रु ४० लाख बजेट नगरप्रमुखले सडक निर्माणमा लगाउनुभएको थियो । विसं २०७० मा नगरपालिकाले किनेको गाडीले नै काम चलिरहेको जनाउँदै नगरप्रमुख पोखरेलले नयाँ गाडी किन्न आवश्यक नरहेको बताएका थिए ।

आव २०७६/७७ मा नगरप्रमुख चढ्ने छुट्टै सवारी साधन खरिदका लागि नगरपालिकाले फेरि रु ६० लाख बजेट विनियोजन गरेको थियो । नगरप्रमुख पोखरेलले गाडी किन्न अस्वीकार गर्दै सो रकम नगरपालिका आफैँले स्थापना गरेको प्राविधिक कलेजलाई प्रदान गरेका थिए । नगरपालिकाले सो रकम खर्च गरेर वडा नं ७ मा कनकाई पोलिटेक्निक इन्स्टिच्युट नामक प्राविधिक कलेज सञ्चालनमा ल्याएको छ । कलेजमा सिभिल इञ्जीनियरिङ, जियोमेट्रिकक इञ्जीनियरिङ र इनफर्मेशन टेक्नोलोजीको पढाइ भइरहेको छ ।

साइकलप्रेमी नगरप्रमुख पोखरेल कार्यालयमा साइकल चढेर जाने गर्छन् । उहाँले पारिश्रमिकको केही रकम नगरका सडकमा साइकल लेन बनाउन खर्च गर्ने घोषणा गरेका थिए तर गत वर्षदेखि कोरोना महामारी बढेपछि साइकल लेन परियोजना अधुरो छ । (रा स स)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु