Information is intelligence
HomeOpinionसहानुभूति प्रकट कि प्रदर्शन?

सहानुभूति प्रकट कि प्रदर्शन?

- Advertisement -spot_img

मानिस सामाजिक प्राणी हो भन्ने परिभाषा निकै पुरानो भएको छ। मानिसकै लागि सुरु भएको आमसञ्चारका क्षेत्रमा विश्वले लामै फड्को मारिसकेको छ। मानव-मानवबीच एक आपसमा सूचना आदान प्रदानका लागि सञ्चारमाध्यमले ठूलो टेवा पुर्याएका छन्। एक अर्थमा यस आधुनिक युगमा सञ्चारमाध्यम वरदान नै सावित भएका छन्।

वि. सं. १९३५ बाट हुलाक घर नामले सुरु भएको हुलाकी सेवा र २००५ सालबाट खुलेको आकाशवाणी प्रारम्भ भएको हो। तर वि. सं. १९७३ मै सुरु भएको टेलिफोनले नेपाललाई विश्वसँग जोड्ने कामको थालनी गरेको थियो। ( पोख्रेल, विष्णु, ब्रिटिश इन्जिनियरको डिजाइनमा नाङ्गो तार टाँगेर काठमाण्डूमा टेलिफोन सेवा : ८ फेब्रुअरी २०२०, बिबिसी न्यूज)

तात्कालिक नेपाली जनमानसमा हर्ष/विस्मातका कुराहरू जाहेर गर्न होस् या  कुनै देश-विशेष सूचनालाई प्रसारणका लागि, टेलिफोन र आकाशवाणीले नै भरथेग गरेको प्रष्ट हुन्छ। वि. सं. १९५८ मा खुलेको गोरखापत्रले विशेष गरी दरबार र केही हदसम्म पढेलेखेका जनतालाई सुविधा पुर्याएको देखिन्छ। २००७ सालको प्रजातन्त्र प्राप्तिसँगै जन आवाज बोल्ने रेडियो नेपाल र बहुदलीय प्रजातन्त्र हाराहारीको नेपाल टेलिभिजनले सञ्चार जगतमा एउटा कोशेढुङ्गो निर्माण गरेका थिए। परिस्थिति बदलिएसँगै आमसञ्चारको लहरोले अहिले सबै नेपालीलाई जोडेको छ भन्नु अन्यथा हुँदैन।शीर्षकअनुरूप नेपाली आमसञ्चारको प्रारम्भिक इतिहासका यी तथ्याङ्कलाई यतै थन्क्याउँदै सामयिक वर्तमानतिर कीबोर्ड थिच्नु बेस हो।

विद्यालयको टिफिन समयमा ‘कातगी चिया’ खाऊँ भनी चमेना गृहमा पस्दै गर्दा मभन्दा अघि पुगेका विद्यार्थीको एउटा सानो समूह आफ्नो साथीको जन्मदिनको भतेरका विषयमा कुरा गरिरहेको थिए। म पुगेपछि तिनीहरूले केही सङ्कोच मान्न थाले र आफ्ना कुराकानीमा लगाम लगाउने कोशिस गरे। अलि कुनातिर बसेको एउटा छात्रले मलाई नदेखेर होला बोल्यो – ‘राति बाह्र बजेसम्म कुरेर ‘बर्थडे विस’ गर्यो ता नि केही ट्रीट दिने होइनौ। ‘ राति बाह्र बजे बर्थडे विस र ट्रीट शब्दले मलाई कता-कता छोयो। छेउको कुर्सीमा बस्दै व्यङ्ग्यको शैलीमा भनेँ – राति बाह्रै बजे शुभकामना दिनुपर्छ त? बिहान हुँदैन? केटो केही झस्कियो। एउटी छात्राले थपी- सबैभन्दा पहिले विस गरेको पो विस त सर, बिहानसम्म फेसबुक भरिइसकेको हुन्छ, विस गर्नुमा के मजा?

छुट्टीमा भएर घर आएपछि खाजा खाँदै फेसबुक खोलेँ। अधिकांश स्वास्थ्य लाभको कामना, हेप्पी बर्थडे, रीप, हार्दिक समवेदना इत्यादिले सञ्जालहरू भरिएका थिए। हुन त कोरोना महामारीको दीर्घकालीन असर र यसबाट ज्यान गुमाउनेहरूको सङ्ख्या ठूलो छ। आफन्तजनको अवसानबाट विक्षिप्त बन्दै सञ्जालमार्फत समवेदना वा सहानुभूति प्रकट गर्नु स्वाभाविक हो।

अहिले सञ्जालमा अभ्यस्त बनेको नेपाली समाजले कति पो भयो र फेसबुक, ट्वीटर र इन्स्टा चलाउन थालेको? अझै आधा जनसङ्ख्या इन्टरनेटको पहुँचभन्दा बाहिर छ। कसैको जन्म वा मृत्यु, तीर्थयात्रा, हर्ष बढाइँ होस् वा नयाँ वर्ष र चाडहरूमा भेटेरै शुभकामना वा समवेदना प्रकट गर्ने हाम्रो माटो सुहाउँदो प्रचलन थियो। समय क्रमसँगै विभिन्न भूगोलमा बाँढिएको समुदायका लागि सहानुभूति प्रकट गर्ने औपचारिक थलो सञ्जाल बनेको छ। विभिन्न देवी-देवताका चित्र वा नायक-नायिकाका चित्रमा शुभकामना लेखी पठाएको पुस्ता आज टिकटकमा मस्त छ।

विज्ञानले केही हदसम्म आजको तीनै पुस्तालाई एकतमासले जोडेको छ। परदेशको नातिसँग भिडियो-च्याट गरेर हजुरबुवालाई आनन्दको श्वास आउँछ। एकमुट्ठीमा संसारलाई कैद गर्नु प्रविधिको महान् उपलब्धि हो। तर यसले समाज र परिवारलाई मुढोजस्तै स्थिर बनाएको छ। आआफ्नै रूचिअनुसार मोबाइल र इन्टरनेटमा घोरिइरहने बानीले न पारिवारिक सुख र संवादलाई निरन्तरता दियो न सामाजिक प्राणीका रूपमा चिनिएको मान्छेलाई समाजसँग घुल्न दियो। सबैको आफ्नै समाज त छ तर परेको बेला सञ्जालमा सार्वजनिक वक्तव्यजस्तो सहानुभूति मात्र आउँछ।

हाम्रो मौलिक परम्परामा कसैका घरमा शोक पर्दा शोकसन्तप्त परिवारमै ‘मानोचामल’ लिएर जाने, दुःख-कठिनाइबारे साक्षात्कार गर्ने र समवेदना प्रकट गरी फर्कने चलन थियो। आजको युग कत्ति  न दुःख लागेजस्तो सञ्जालमा औपचारिक वक्तव्य जारी गर्यो, दुनियाँलाई सशङ्कित बनायो बस्यो गर्दैछ। कसैको जन्मदिनमा भेटेर वा टेलिफोनमार्फत शुभकामना दिनु सान्दर्भिक हो। अझ घिनलाग्दो विषय त के छ भने बाबुआमाका मुख हेर्ने दिन, कसैको विवाहोत्सव वा वर्षगाँठ होस् सञ्जालमा उहिलेको गोरखापत्रमा शाही वक्तव्य छापिएजस्तो गर्यो, सकियो। यसबाट सम्बन्धित पक्षसम्म शुभाशयहरू पुगेका छन्? दुनियाँलाई देखाउनु स्वाभाविक हो? भन्ने प्रश्न खडा गर्छ।

केहीलाई जमातलाई यस्ता बकम्फुसे गफ प्रविधिसँग घुल्न नसक्नेको चिच्याहट लाग्नसक्छ। आलेखकले सरोकार राख्ने द्विपक्षीय सहानुभूति प्रकट र कृतज्ञता ज्ञापन गर्न भ्याउने खालको हुनुपर्छ भन्ने मान्यता राख्छ। राजनीतिक रूपमा कुनै दलसँग नजीक रहने एकजना मेरा नजीकका मित्रले सञ्जालको उपभोग नै सहानुभूति र शोकका लागि प्रयोग गर्छन्। कुनै नेताको जन्मदिन, वर्षगाँठ, विशेष बैठक आदि मात्र उनको सञ्जालसँगको सरोकारको विषय हो। यसबाट व्यक्तिको रचनात्मकता र आन्तरिक सदाशयता हजारौँका माझ छताछुल्ल हुन्छ, जुन लोकका लागि गरिएको थियो।

विद्यालयीय उमेरका विद्यार्थीदेखि वयस्कसम्मका मानिसहरूको सञ्जालप्रतिको मोह र यसको सदुपयोग नगराइमा खेद लाग्छ। सञ्जालले सबैखाले अभिरूचि र क्षमता भएकाहरूलाई जोड्ने काम गर्छ। एकखाले व्यक्ति सञ्जाललाई सूचना पाटी मात्र बनाइरहेका छन् भने अर्काखाले व्यक्ति यसलाई रचनात्मक बनाइरहेका छन्। सुदूर पूर्व इलामको व्यक्ति सजिलै महाकालीको मित्रसँग सम्वाद र सहकार्य गर्न सफल हुन्छ। भौगोलिक सीमामा नबाँधिई उनीहरूले कला, साहित्य, राजनीति र समग्र समाजका बारेमा छलफल र सहकार्य गर्न सक्दछन्। सुदूरपश्चिमका आख्यानकार रामलाल जोशीसँग काँकरभिट्टामा बस्ने व्यक्तिले सम्वाद गरेर ‘ऐना’ कथाका बारेमा परिचर्चा गर्नसक्छ। तर यस्ता फरक क्षमता र भूगोल भएकाहरूसँग हामीले वैयक्तिक सहानुभूति प्रदर्शन गर्नपट्टी लाग्यौँ भने पक्का सम्बन्ध बोझिलो बन्दछ।

बूढा भएका बाबुआमालाई मातातीर्थमा भेट्न जानुभन्दा लोकलज्जा निवारणकै लागि फेसबुकतिर फोटो हाल्दिएपछि टन्टा साफ हुन्छ भन्ने पुस्ता बढ्दो छ। आफू बाबुआमा भेट्न नजाने तर सञ्जालमा ‘माता-पितालाई दर्शन’ ‘दीर्घायुको कामना’ जस्ता सहानुभूतिको के अर्थ? अझ कोरोना महामारीले बढ्दो मृत्युदरलाई सामाजिक सञ्जालले सघाएको छ। मृतकका आफन्त वा परिवारमा एक शब्द सहानुभूति प्रकट नगर्ने तर सामाजिक सञ्जालमा डाको छोडेर रुने रुवाइले मृतकले कति पो शान्ति पाउँछ? छिमेकमा शोक पर्दा नजाने तर सञ्जालमा रोएको भान दुनियाँलाई गराउने ।

सञ्जाल समाज र देशबाट एकदमै टाढा रहेका र तत्काल उपस्थितिको सम्भव नभए सही हो, टाढाबाट भए पनि दुःखमा मह्लम लगाउन सघाए। वल्लो घरको उत्सवमा पल्लो घर वास्तविक रूपमा बेखबर हुने तर सामाजिक सञ्जालमा हर्ष – बढाइँ गर्नुले नेपाली समाज कतिसम्म दरिलो छ भन्ने प्रष्ट हुन्छ।

अहिलेका सञ्जालकै माध्यमले बढेका आपराधिक र आपत्तिजनक तथ्याङ्कबारे सबै जानकार छौँ। दिनभर इन्टरनेटमा आफ्ना छोराछोरी के गर्दैछन् बाबुआमा जान्दैनन्। बाबुआमा कुन तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्दैछन् छोराछोरी जान्दैनन्। यसबाट समाजमा एकखालको अविश्वासको खाडल दिनानुदिन बढ्दैछ। आफ्नो नजीकको व्यक्तिको सञ्जालतिर हुने झुकाव र उसको प्रस्तुतिलाई सबैले चनाखो भएर हेर्नुपर्ने दिन आएको छ।

आधारातमा फेसबुकतिर फोटो हालेर शुभकामना नदिए शुभकामनै नहुने, अङ्गालो मारेका पतिपत्नीका चुम्बनको दृश्य सबैलाई नदेखाए दाम्पत्य जीवनै सुखमय नहुने, कसैको मृत्युमा घाटसम्म मलामी नजाने तर फोटो हालेर ‘रीप’ नलेखे उस्को मुक्ति नै नहुनेजस्ता मानसिकताले हामी दिनदिनै कमजोर रीति अँगालिरहेका छौँ। कम्तीमा प्रविधिलाई सदुपयोग गर्नका निम्ति हाम्रा सहानुभूतिहरू सम्बन्धित पक्षसँग पुगेर मात्र सञ्जालमा आऊन्। सहानुभूति मनैदेखि प्रकट गरौँ तर दुनियाँमाझ प्रदर्शन नगरौँ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु