Information is intelligence
HomeNewsगिट्टी–बालुवा निकासीको लुम्बिनीका मुख्यमन्त्रीले गरे बचाउ

गिट्टी–बालुवा निकासीको लुम्बिनीका मुख्यमन्त्रीले गरे बचाउ

- Advertisement -spot_img

गिट्टी–बालुवा निकासी खोल्ने संघीय सरकारको घोषणाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बचाउ गरेका छन् । उनले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत वातावरणीय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रूपमा छुट्टयाई निकासी गर्न अनुमति दिइने उल्लेख गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले केही दिनअघि बजेट वक्तव्यमार्फत ढुंगा, गिट्टी, बालुवा निकासीबाट आम्दानी गरी व्यापार घाटा कम गर्ने घोषणा गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले यस विषयमा केन्द्र सरकारलाई पहिल्यैदखि ध्यानार्षण गरिँदै आएको जनाउँदै यसरी खानी परिचालन गर्दा सडक यातायातमा असर पर्न नदिने गरी रेपवेको प्रयोग गर्न दिने नीति सरकारले अघि सारेको उल्लेख गरेका छन् । उनले चुरे क्षेत्रको संरक्षणमा योगदान गर्न सक्ने कार्यक्रमका रूपमा यस्तो सोचलाई आत्मसात् गर्न पनि आग्रह गरेका छन् ।

‘बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका नदी खोलाको ढुंगा, बालुवा वा चुरे उत्खनन गरी निकासी गर्न अनुमति दिने भनेको होइन । यस क्षेत्रबाट प्राप्त हुने निर्माण सामग्रीको नेपालमै अभाव छ । सरकारले अघि सार्न खोजेको वातावरणीय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रूपमा छुट्याई विकासी गर्न अनुमति दिने हो,’ उनले लेखेका छन् । यसबाट चुरेमा हुने अवैध उत्खनन रोकिन गई तराईको खेतीयोग्य जमिनको सुरक्षा हुने र नेपालको व्यापार घाटा कम गर्नसमेत मद्दत पुग्ने उनले जनाएका छन् । ‘तसर्थ यस्तो विषयलाई चुरे क्षेत्रको विनाशसँग जोडेर भ्रम सिर्जना नगरौं । चुरे क्षेत्रको संरक्षणमा योगदान गर्न सक्ने कार्यक्रमका रूपमा यस सोचलाई आत्मसात् गरौं,’ पोखरेलले लेखेका छन् ।

अर्थमन्त्री पौडेलले बजेट किताबको १९९ नम्बर बुँदामा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने उल्लेख गरेका छन् । सरकारको यो घोषणालाई वातावरणविद् र चुरे क्षेत्रका सरोकारवालाहरुले विरोध गरिरहेका छन् । चर्को आलोचना र विरोध भएपछि मुख्यमन्त्री पोखरेलले सरकारको घोषणाको बचाउ गर्दै प्रदेश सरकारको पनि समर्थन रहेको बताएका हुन् । यसअघि लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण नगरी निरन्तर ढुंगा खस्ने डाँडा नै काटेर माथि बस्ती बसाउने र तल सडक बनाउने योजनासहितको प्रस्ताव संघीय सरकारलाई पठाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु