Information is intelligence
HomeAgricultureनिषेधाज्ञाका कारण सिंचाइमा समस्या

निषेधाज्ञाका कारण सिंचाइमा समस्या

- Advertisement -spot_img

कैलालीका किसानलाई धानखेती गर्ने समयमा कुला सफा गर्न नपाउँदा चिन्ता बढेको छ । धानखेती गर्ने समय आइसक्दासमेत खेत सिँचाइका लागि पानी ल्याउने कुला सरसफाइ नहुँदा किसानमा चिन्ता बढेको हो । कैलाली जिल्लामा कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलिएपछि एक महिनादेखि निषेधाज्ञा गरिएको छ । सङ्क्रमणको जोखिमले किसान जम्मा भएर कुला सफा गर्न समस्या भएको बताउँछन् । सरकारले खेतीपातीको काम जारी राख्न दिने भने पनि किसान सङ्क्रमणको जोखिम बढेकाले किसान कुला मर्मत, सरसफाइजस्ता कार्यमा जुट्न डराइरहेका छन् ।

धानखेतीका लागि किसान एक महिनादेखि तयारी थाल्छन् । किसानले ब्याड राख्ने, मलखाद जोहो गर्नेदेखि लिएर खेतमा पानी लाग्ने कुलाको मर्मत, सरसफाइलगायत काम गर्नुपर्ने हुन्छ । खेतीका लागि पानी नभई नहुने र पर्याप्त पानी नभए उत्पादन घट्ने भएकाले किसान खेतसम्म पर्याप्त पानी लैजान हरेक वर्ष सिँचाइ कुला सरसफाइ गर्ने गर्दछन् तर कोरोनाका कारण खेतमा पानी लाग्ने कुला सरसफाइ गर्न नसकेको टीकापुर–४ का किसान समिर चौधरीले बताए । “कुला सफा गर्ने सवालमा सबै चिन्तित छन् तर गाउँघरमा सबै बिरामी छन् । घरघरमा बिरामी भएकाले हामीले हिम्मत गर्न सकेका छैनौँ”, किसान समिर भन्छन्, “दूरी कायम गरेर सफा गर्ने सल्लाह गरेका थियौँ । सबै डराएकाले जुट्न सकेका छैनौँ । अब त ढिला भइसक्यो ।”

कोरोना नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञा र त्रासका कारण किसान अहिलेसम्म खेत सिँचाइ गर्ने कुला, मुहान र बाँध मर्मतसम्भार गर्न नपाएको किसान किट्टुु चौधरीले बताए । “कुला गाउँमा मात्र सफा गरेर हुँदैन, कुला सफा गर्न किसान एक साताभन्दा बढी काममा जुट्नुपर्ने हुन्छ”, उनी भन्छन्, “यस्तो माहोलमा कसरी काम गर्नु ? यसरी किसान जम्मा भएर किसान खेतमा जाने वातावरण नभएकाले स्थानीय सरकारले प्रविधिको प्रयोग गरेर कुला सरसफाइजस्ता कार्यमा सघाउन आवश्यक छ ।”

बर्खा लाग्नु पहिले वर्षेनी किसान सामूहिकरूपमा मूल, शाखा र प्रशाखा कुला सरसफाइ गर्ने परम्परा छ । जसअन्र्तगत किसान आफ्नो खेतसम्म पानी लैजानका लागि सहजतासँगै आवश्यकतानुसार पानीको पर्याप्तता हुने गर्दछ । गत वर्ष पनि  यही समयमा भएको निषेधाज्ञाका कारण राम्रोसँग कुलाका मुहान लगायत कुला सरसफाइ गर्न र खन्न नपाएका किसान यस वर्ष पनि सोही समस्या भएपछि चिन्ता बढेको बताउँछन् । “गत वर्ष पनि सिँचाइ कुला राम्ररी सफा गर्न सकिएन, सिँचाइ कुला र मुहान बालुवा र झारपातले भरिएका छन्”, किसान किट्टु भन्छन्, “कुला तथा मुहान सफा नभए आवश्यक मात्रामा पानी नआउने हो कि भन्ने चिन्ता लागेको छ ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत रहेका रानी मूल कुलाका १४ शाखा कुला, जमरा मूल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला रहेका छन् । ती मूल कुलाका शाखामार्फत बनेका ८६३ उपशाखा कुला छन् । यसरी  ती  शाखा र प्रशाखा कुलामार्फत किसानका खेतसम्म पानी लैजाने कार्य हुन्छ । यी शाखा तथा प्रशाखा कुला सरसफाइ र मर्मत नगरे खेतमा पानी पुुगे पनि सिँचाइका लागि पर्याप्त हुँदैन । त्यसका लागि केही कुला सरसफाइ भए पनि अधिकांश कुलाका सरसफाइ नभएकाले किसान समस्यामा छन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सरसफाइ गर्न सकिने भए पनि उक्त कुला सामूहिकरूपमा सरसफाइ गर्ने परम्परा रहेकाले अहिले समस्या भइरहेको किसान तथा जमरा मूल कुलाका सचिव मानबहादुर चौधरी बताउँछन् । “अब किसानले कुला सफा गर्न ढिला गर्न हुँदैन, कि स्थानीय सरकारले विकल्प खोजेर सफा गरिदिनुपर्यो, नभए किसान खेतबारीमा पस्ने समय ढिला हुन्छ”, सचिव चौधरी भन्नुहुन्छ, “सिँचाइ पर्याप्त नभए उत्पादन घट्छ ।”

कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ । तीन लाख २३ हजार ५०० हेक्टर जमिन रहेको कैलालीमा ८९ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन छ । “धानखेतीका लागि कैलाली उर्वर भूमिका रूपमा रहेको छ । वर्षेनी जग्गा प्लटिङ, घर निर्माणजस्ता कार्यले खेतीयोग्य जमिन घट्दै गएको छ”, कृषि शाखा प्रमुख चौधरी भन्छन्, “उत्पादन बढी लिन सिँचाइ आवश्यक हुन्छ । हामीले किसानलाई धानको बीउ वितरण ग¥यौँ तर यतिखेर कोरोना फैलिरहेकाले कुला मर्मतजस्ता कार्यमा सघाउन सकेका छैनौँ ।” (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु