Friday, June 25, 2021
HomeOpinionसमवेदनाको प्रमाणपत्र : शोकको उपहास

समवेदनाको प्रमाणपत्र : शोकको उपहास

- Advertisement -
- Advertisement -spot_img

२०७१ सालको विजयादशमीकै दिन दमका कारण हजुरबुवाले प्राण त्याग्नुभयो। त्यसको ठीक डेढ वर्षपछि ब्रेन ट्यूमरले हजुरआमालाई लग्यो। परिवारमा परेको शोकमाथि शोकमा मल्हम लगाउन इष्टमित्र र छरछिमेकी सहृदयी आए। दुःखमा साथ दिनेहरूको त्यो सहृदयताले सजिलै दिन बिते। शोक बिर्सिएर सामान्य जीवनमा फर्किइयो।

विभिन्न संघसंस्था र समूहहरूले उतिबेला समवेदना प्रकट गर्नका लागि ल्याएका शोक-वक्तव्यका प्रमाण पत्रहरू फ्रेममा घरका भित्ताभरी छन्। छोटो अन्तरालमा भएका दुईवटा घटनाले दुई दर्जन प्रमाणपत्रहरू पायो। हाम्रो परिवारको भवितव्यलाई यी प्रमाणपत्रहरूले प्रमाणित गरेर गए। आज पनि जता फर्कियो उतै ‘हार्दिक समवेदना’ वा ‘भावपूर्ण श्रद्धाञ्जलि’ फ्रेमहरू झुण्डिरहेका छन्। ती श्रद्धाञ्जलिका प्रमाणपत्र हेर्दा आज पनि शोक जिउँदै छ जस्तो लाग्छ र आँखा रसाउँछन् ।

हजुरबुवा केही सामाजिक रूपमा परिचित व्यक्ति हुनुहुन्थ्यो। वहाँको अन्त्यपछि हामीलाई सहानुभूति दिन आउनेहरूले खुब गुण गान गर्थे। अमुक संस्थाबाट हाम्रा सहृदयी व्यक्तिको दुःखद् निधनप्रति समवेदना प्रकट गर्दछौँ। अझ ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’ लेखनाथ पौड्यालको ‘काल महिमा’ शीर्षकको एकाध हरफ माथि वाचन सुरु गरिने प्रमाणपत्रमा के आयो? के टिप्यो? के टारेर टर्दैन? निरक्षर मेरा फुपू र आमाहरूले बुझेको पाइनँ। वहाँहरूले मृत्युलाई बुझ्नुभयो होला। लेखनाथले यति नलेखिदिएको भए यिनीहरू के राखेर प्रमाण बनाउँथे? मेरो प्रश्न।

शोकलाई शक्तिमा बदल्नुपर्छ। संसारमा मृत्यु अपरिवर्तनीय छ। जन्मिएपछि मर्नु मानिसको कर्तव्य हो। म मर्दिनँ भन्नु प्रकृतिको धर्मविपरीत छ। यस्ता कुरा  प्रमाणपत्र प्रदाताहरूले उतिबेला सम्झाएका वाक्यांशहरू हुन्। हातमा प्रमाणपत्र मात्र बोकेर आउनेहरूको लर्को जब बढ्न थाल्यो, मलाई चाहिँ यिनीहरू घाउमा नूनचुक लगाउन आएका हुन् कि भन्ने लाग्न थाल्यो।

कसैको मृत्यु भए सहृदयीहरूले गर्ने काम प्रमाणपत्र दिनु मात्र हो त? एउटा नीतिवचन छ –
उत्सवे व्यसने चैव दुर्भिक्षे रणसङ्कटे ।
राजद्वारे श्मशाने च यः तिष्ठति सः बान्धवः ।

अर्थात् उत्सव, विपत्ति, अनिकाल, युद्ध मैदान, राज्यकाअघि र श्मशानमा जो सँगै छु भनेर उभिन्छ, त्यो बन्धु हो। उपर्युक्त नीतिले कसैका मरणमा श्मशानसम्म मलामी भएर जाने, केही पीर-मर्का भए बुझ्ने र सोही किसिमको सहयोग गर्ने भन्ने हुन्छ। बरु मलाम नजाने, लोकलाज पूरा गर्नकै लागि विभिन्न संस्थाका नाममा प्रमाणहरू लिएर जाने प्रथाले कतै शोकमा अझै शोक थपिने हो कि? यो हामीले गम्भीर भएर सोच्ने बेला आएको छ।

एकजना मेरा मित्रले फेसबुकमा गम्भीर हुदै स्टाटस पनि लेखे – ‘आलो घाउमा नूनचुक छर्नु भनेको के रहेछ भनेको समवेदना लिएर जानेहरूको ताँती पो रहेछ।’ वास्तवमै मृतक व्यक्तिको सम्झना केही ओझेल पर्न खोजेको हुन्छ, हामी हुलमुलका साथ प्रमाणपत्र लिएर आँगनमा उभिन्छौँ र सभा गर्छौँ। अझ कतै कतै कोरामा बसेका पत्नीपुत्रादिलाई नै आभार व्यक्त गर्न लगाउने उद्‌घोषकसम्म देखिएको छ।

समवेदना पनि प्रकट भयो, आफन्तहरू आएर गए, कुनै अपशोच भएन तर ती प्रमाणपत्रका खातलाई कसरी तह लगाउने भन्ने पीर परिवारमा थपिन्छ। भित्ताभरी अभिलेखालयमा जस्तो फ्रेमहरू राखेर परिवारले कहिले शोकलाई सामर्थ्यमा फर्किने? कतिपय परिवारमा त्यही प्रमाणपत्र पढ्दै वर्षदिनसम्म रुने सदस्यहरू पनि भेटिएको छ। हजुरबुवा र हजुरआमा डेढ वर्षको अन्तरालमा बितेपछि पिताजी त्यो फ्रेम हेरेर कयौँ महिना रोइरहनुभयो। न त्यसलाई कतै फाल्न मिल्छ, न सधै हेरिरहन सकिन्छ! कुरा गराइमा सामान्य लाग्ने यस विषयले समाजमा नयाँ विकृतिलाई प्रश्रय दिइरहेको भान हुन्छ।

बरु मृतकका घरमा जाने। ‘मानोचामल’ लैजाने भन्ने पुरानो चलन पनि छँदैछ। फलफूल वा केही खानेकुराहरू लैजाने। मृतकका परिवारको आर्थिक दैनन्दिन कस्तो छ? त्यो बुझ्ने। कसैका छोराछोरी सानै हुँदा अविभावक बितेका होलान् तिनका भविष्यबारे हौसला दिँदै हामी छौँ भनी आश्वस्त पार्ने आदि गरे समवेदनाको दार्शनिक अर्थ व्यवहारमा देखिन्थ्यो। होइन भने राज्यले दिने मृत्युदर्ताअघि नै समुदायले दिने ‘प्रमाणपत्र’को कुनै अर्थ छैन।

कसैका घरमा गई मृतकको चिर शान्तिको कामनाका लागि एक मिनेट मौन धारण गर्नुपर्ने केही आवश्यकता छ? कतै आबद्ध व्यक्ति छ भने उक्त कार्यालयले आफैँ मौन धारण गर्ने, आफ्नो हितकामी सदस्य गुमाएकोमा खेद प्रकट गर्दै मौन धारणदेखि कार्यालयमा अवकाशसम्म गर्नु स्वाभाविक र सान्दर्भिक पनि छ। आफ्नो रीतिरिवाज अनुरूप शोकले विह्लव भएर मौन रहेका परिवारलाई उभ्याएर मौन धारण गराउनु भनेको परिवारले गरेको क्रियाकर्मप्रति उपहास गर्नु बराबर हो। राजकाज सम्हालेका वा राजनीतिक प्रभाव भएकाहरूको सम्झनामा गरिने ‘शोकशभा’जस्तो सामान्य गृहस्थीका घरमा गरिने शोकशभा कत्ति ठाँट नमिलेको जस्तो देखिन्छ।

गत साल आफ्नै जन्मभूमि तेह्रथुम पुगेर प्रधानमन्त्री ओलीले नेपालको नक्शा भएको केक काटेर हर्षबढाइँ गरे। देशको प्रतिमालाई नै काटेर खानेले के देशको माया गर्ला? भन्नेखालको टिका टिप्पणी र आलोचना दुवै भए। हाम्रो समाजमा शोकलाई गर्ने उपहाससँगै उत्सवलाई हिंसाको प्रतिरूपमा ढाल्न थालिएको छ। हाम्रो मुलुकमा हुँदै नभएको संस्कृति विस्तारै राणा शासकहरूको बिलासी जीवनसँग मितेरी गाँस्दै भित्रिएको देखिन्छ। एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले महेन्द्र पुलिस क्लबमा प्रत्येक वर्ष राजा महेन्द्रले पनि केक काट्ने गरेको उल्लेख गरेका थिए।

युनानी सभ्यताका रूपमा ईशाको दुई सय वर्षपूर्व स्थापित केक परम्परा १७औँ शताब्दीसम्म सामान्य रूपमा प्रचलनमा रहेपनि जर्मनीका चर्चित इसाई धर्मगुरु लुडविग भोन जिन्जेन्डर्फको जन्मदिन केक काटेर मनाउने गरेको तथ्य बुझ्न पाइन्छ। हिन्दूहरूको मूर्तिपूजाकै रूपमा ईशाईहरूले केकलाई लिने गरेता पनि आजभोलि उनीहरूको अभिन्न पर्वका रूपमा केकलाई लिइन्छ। झापाका एकजना मेरा हितैषी प्रौढवयका मित्रले २०२८ सालतिर रहर लागेर सालगढीबाट केक ल्याएर काटौँ भन्दा उहिलेका शामन्तहरूले आफूलाई कुटपिट नै गरेको र केक कुकुरलाई खान दिएको कुरा बताएका थिए। उनी भन्छन् – उतिबेलाको कुटाइले मेरो ज्यान दुखिरहेको छ, २०२८ सालमा झापा बिद्रोहका बिद्रोहीहरू हाल सत्तामा छन्। केक नकाटे उनीहरूको जन्मदिनै खल्लो हुन्छ।

२०७५ सालमा कवि शिरोमणि लेखनाथ पौड्याल स्मृति प्रतिष्ठान धरानले आयोजना गरेको साहित्यिक कार्यक्रममा पूर्वका एकजना प्रखर अतिथिले केक ल्याएर काटेको भए अझ कार्यक्रमको गरिमा बढ्ने वक्तव्य जारी गरेपछि सभा असमञ्जसमा परेको म सम्झन्छु। केकको मोह अब त राजनीतिदेखि साहित्यसम्म पुगेको छ। यसले आखिर कस्को दीर्घायुको कामना गर्ला र? मैनबत्ती बालेर निभाउने अनि केक काट्ने, दीर्घायुको कामना गर्ने? हामी त जुनसुकै शुभकार्यमा पनि दीप प्रज्ज्वलन गरी उज्यालोको आभास गर्छौँ।

हप्तौँ फ्यीजमा राखेर बनाइने केकले न त स्वास्थ्यलाई राम्रो गर्छ न त संस्कृतिकै। जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार बालकदेखि बूढाबूढीसम्मको केक मोहले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर त गरेकै छ, मधुमेहलगायतका समस्या भएकाहरूले प्रयोग गर्ने सुगरफ्री केकले झन् सङ्कट पैदा गर्दछ। अहिले व्याधिका रूपमा देखा परेको कोरोनालगायतका जीवाणुलाई प्रश्रय दिन यस्ता परम्पराले सहयोग गर्छन्।

हाम्रा धार्मिक मान्यतामा जन्मदिनमा गर्नुपर्ने खास उत्सवहरू त छैनन् तर अष्टचिरञ्जीवीहरूको पूजा गर्नाले दीर्घजीवी भइने विश्वास छ। एकातर्फ स्वास्थ्यसँग खेलबाड पनि नहुने र अर्कोतिर आर्थिक र सांस्कृतिक दृष्टिले पनि सकारात्मक प्रभाव पर्नाले केक प्रथालाई त्याग्नै पर्छ। कसैको प्रतिमूर्ति वा चित्र बनाएर उत्सव मनाउनु कुनै पनि कोणबाट राम्रो पक्का हुँदैन। त्यसकारण सामन्ती पश्चिमा संस्कारको रूपमा आएको केक प्रथालाई हामीले जन्मदिनमा काट्न छोड्नुपर्छ र उज्यालो भविष्यको कामना गर्नेले मैनबत्ती निभाएर होइन दीप बालेर जन्मदिन मनाउनुपर्दछ।

समाजमा भड्किला गतिविधिका रूपमा बढ्दो क्रममा रहेका समवेदना सिद्ध गर्ने प्रमाणपत्र र प्रतिकूल केक जात्रा आजकै मितिबाट त्याग्ने प्रतिज्ञा गर्नुपर्ने देखिन्छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय