Information is intelligence

ओठ

- Advertisement -spot_img

मैले बजारबाट फर्किँदा एकदिन सोधेको थिएँ हजुरबालाई – ‘हजुरबा, यो चौतारो कसले बनाएको हो ?’

हजुरबा अघिअघि हिँडिरहनु भएको थियो। हातमा लौरो, अाङमा घ्यु रङका दौरा सुरवाल।  पछिपछि म । दिदीहरूले मेरो ‘काट्ने नाम’ पुच्छर राखिदिएका थिए । तर मलाई हजुरबाले ‘लौरो’ भन्नुहुन्थ्यो । म हजुरबाको अघिअघि हिँड्थेँ ।

सधैँ सँगै हिँड्ने लौरो र हजुरबुबाबिच,हुन्छ होला नि है गफगाफ, लागिरह्यो ।

केही मिनेट हिँडेपछि चौतारो  अाउँछ । छायामा बसिसकेपछि हजुरबाले सोध्नुहुन्छ – ‘अघि के सोध्या थिस् रे मलाई ?’

यो चौतारो कसले बनाएका हुन् नि ? – ‘यो चौतारो मैले लाको हुम् । काँ काँ पराट छपनी ल्यार चिनेको हुम् ।’

मलाई फेरि सोध्न मन लाग्यो – ‘यी बुटा नि  तपैंले लाउनु भको ?’तर सोध्नुभन्दा अघि नै हजुरबाले लौरोले देखाउँदै भन्नुहुन्छ – ‘तो ढुङ्गो ल्यार त्याँ चिन् त ।’

चौतारोका ढुङ्गाहरू खसेका थिए । हजुरबाका दाँत खसेका थिए। हजुरबासँग उत्तर छ – ‘ठुल्छोरीको छोरो रामुले बम्बै लएर दाँत हाल्देको हो।’ तर पीपलसँग त्यस्तो भनाइ केही छैन। जो अाउँछन् , बस्छन् ,जान्छन् । कुनै चकचके ठिटाहरू त चौतारो च्यातेर ढुङ्गा पल्टाउँछन् ।

तल खसेका दुईवटा ढुङ्गा उचालेर चौतारोमा राख्छु म । हातमा लागेको माटो टक्कक्याँदै सोध्छु – ‘यी दुइटै बुटा हजुरले लाउनो को ?’-  ‘तेरी हजुरामालाई ब्या गर्दाओ बर्ष लगाको हुम् यी बेर्ना। पीपलको बेर्नो खन्या बुटाँ उम्रेओ थ्यो। वर कताट ल्याएँ कुन्नि! बिर्सें ।’

पीपल र वर टाढा छैनन् तर केही दूरीमा छन् । पीपल र वर केही दूरीमा छन् र पनि नजिक छैन ।
लगातार बढ्दै गए ती बिरुवा । पीपलका शरीरमा कुनै बढ्दो उमेरकी युवतीको छातीमा उठेका स्तनजस्तो गाँठा उठ्दै गए ।वरका हाँगामा पनि वधुको केशराशिजस्ता लामा लामा लहरा झुन्डिए । ती दुबै बिरुवा अब त रुख भैसकेका छन् । दुबै रुखले चारै दिशामा हाँगा फैलाए, जरा फैलाए ।

जमिनमुनि दुबै वृक्षका जराहरुले एक अापसमा अंकमाल गरिसके । माथि हाँगाहरु पनि एकअर्कालाई स्पर्श गर्न सक्ने भए । एकअर्कालाई काउकुति लगाउन थाले हाँगा हाँगाले । सानो हावा लाग्दा पनि दुबै रुखका पातहरू बराबर नाच्थे ।पीपलको रुखमा चढेर ‘छुनेबिकल’ खेलेका केटाकेटीहरू वरको रुखबाट ओर्लिन थाले।

तर फेंद भने सधैं अलिक टाढा नै रहेका छन् । अाफ्नो मोटोपन जति बढाए पनि उनीहरुका फेंद कैले जोडिएनन् । अब त जोडियोस् भन्ने चाहना पनि बिर्सिसकेका छन् ती वर पीपलले ।पीपल र वरको भाग्यविधाता हुनुहुन्थ्यो हजुरबा । कहाँ फरक फरक ठाउँबाट ल्याएर त्यहाँ रोप्नु भएको थियो। नजिकै रोप्नु भो तर सँगसँगै रोप्नु भएन। सँगसँगै रोपेको भए सायद अाज त्यहाँ कि पीपल हुन्थ्यो । कि त वर मात्रै हुन्थ्यो । केही दूरीमा रोप्नाले दुबै छन् ।

******

चौतारोको छहारीनिर पिपल र वरजत्तिकै दुरीमा  वाचन र श्रृङ्खला बस्छन् । आआफ्ना निधारमा विनाकुनै पंक्ति उठेका पसिनाका थोपालाई बगिरहेको हावाले सुकाउछन् । वाचनले अाफ्नो गलामा रहेको रातो मफलर निकालेर भन्छ-  ” खै!कसले कलेजको बेन्चमा मफलर छोडेर हिंडेछ । लिएर अाएको पसिना पुछ्न गज्जप भयो । “

लगत्तै श्रृङ्खलाले अाफ्नो उठेका छातीभन्दा अलिक माथि घाँटीनिर हेर्छे । लामा अाँखा तल झारेर । उसको मफलर घाँटीमा हुँदैन । आत्तिदो क्रममा वाचनको हातमा हेर्छे । आफ्नो मफलर ऊसँग भएको थाहा पाएर हातबाट निकालेर अाँखा वाचनको अनुहारमा फ्याक्छे जुन अनुहारमा हाँसो बगिरहेको छ । वाचनले मफलरले पसिना पुछ्न थालेजस्तो गर्छ । फेरि नाकबाट जबर्जस्ती नभएको सिंगान निकाल्न सिइइ गर्छ । मफलरले सिंगान पुछ्न खोजेेजस्तो गर्छ ।

हत्तारिदै श्रृङ्खला उठेर मफलर खोस्न जान्छे ।वाचनले मफलरको एकछेउ छोडिदिन्छ । अर्को छेउ भनें हातमा एक फन्को बेरेर बलियो गरेर समात्छ । एक छेउ समातेर श्रृङ्खलाले मफलर तान्छे । तानातान गर्दा कति बेला वाचनले श्रृङ्खलालाई नजिकै तान्छ । कति बेला श्रृङ्खलाले वाचनलाई नजिकै तान्छे । एउटा प्रेमिल दृश्य देखिन्छ।

एकछिन मफलर खोस्ने प्रयासपछि जोडले मफलर तानिरहेको वाचनलाई हेरेर हाँस्छे  श्रृङ्खला र अकस्मात हातबाट मफलर छोडिदिन्छे । वाचन लडबडाउदै अलिक पछाडि पुगेर पुठ्ठालाई भार पर्ने गरेर थ्यचारिन्छ । श्रृङ्खलाको अनुहारको रङ उडेर कालो निलो हुन्छ। अलिक अफ्ठेरो गरेर वाचन उठ्छ । कालो पाइन्टमा लागेको धुलो टकटक्याउँछ । अनुहार र अावाजमा केही रिस  मिसावट गरेर गाली गर्छ  – ” बोक्सिनी! “

श्रृङ्खलाले अब के गर्ने के नगर्ने दोधारमा अाफूलाई राखिरहेकै बेला ‘ बोक्सिनी ‘ भनेको सुनेपछि रिसाएजस्तो गरेर नजिकै पुग्छे र वाचनको देब्रे हातको कुमभन्दा थोरै तल  जोडले टोकिदिन्छे ।
 –   ” तैंले मलाई बोक्सिनी भन्या हैनस् ? ल खा ।”- ‘ऐया ! छोड् । मर्लिस् फेरि । दारे ।’

वाचनले ऐया! शब्द उच्चारण गर्छ । वाचनको सेतो कमिजको बाहुलामा एकप्रति श्रृंखलाका राता अोठ छोडिन्छन् ।

स्त्री अङ्गको छुवाइले वाचन अलिक अर्कै कस्तो कस्तो महसुस गर्छ । जुन महसुस उसले बाँचेको उमेरमा पहिलो पटक गर्यो ।

सुस्तसुस्त हिंडेर चोकनिर पुगेपछि श्रृंखलाले कान समातेर उभिन्छे माफी मागेको भावमा । वाचनले उसको कानबाट हात छुटाइदिएर एकछिन अाफूले समात्छ र छोडिदिन्छ । अब घर जाऊ भन्ने भावमा ।

जब खुट्टामा घाउ लाग्छ,साथमा खोच्याउने बानी पनि लाग्छ । घाउ त निको हुन्छ । तर खोच्याउने बानी ? शृङ्खला घाउ थिई , वाचन बानी थियोे ।

दुखाइ समाप्त भए पनि लङ्गडोपन अझै समाप्त भएको हुँदैन । अाफूलाई अलिक अफ्ठेरो हिडाइमा कायम राखेर वाचन घर पुग्छ । गेटबाट भित्र पसेपछि अलिक छिटो पाइला चालेर अाफ्नो कोठामा पस्छ,यानि कि कमिजको बाहुलामा टाँसिएर अाएका एक थान राता अोठ घरका मान्छेले नदेखून् ।
किताबको झोला टेवलमा फाल्छ । अगाडि उभिएको दराजको सिसामा अाफूलाई माथिबाट हेर्दै ल्याउँछ । देब्रे हातको कुमनिर चञ्चल अाँखालाई अड्याउँछ । मानौं ती अाँखा उसको भित्तामा झुन्ड्याएको फोटोमा भएका अाँखा हुन्, जो दुई बर्षदेखि यता उता चलेका छैनन् ।

धेरै समय श्रृङ्खलाले कमिजमा छोडेर गएका अोठलाई हेर्छ । जतनसँग अाफ्नो शरीरबाट कमिज फुकाल्छ । कतै अोठ बिग्रिन्छन् कि भन्ने त्रासका साथ । जब कमिज निकाल्छ शरीरबाट फेरि अाफ्नो देब्रे कुमलाई सिसामा हेर्छ । माथि पाँच र तल चार अोटा दाँतको ठाम झर्लङ्ग देखिन्छ । एकछिन हेरेपछि ती दाँतका नजिकै केही छुटेजस्तो, केही नपुगेजस्तो लाग्छ उसलाई । नजिकै टेवलमाथि रहेको ब्लेट समातेर हलुकासँग थोरै थोरै काटेर दाँतको डामलाई भित्र पारेर अोठको अाकार निर्माण गर्न थाल्छ । धेरै बेरपछि जब उसको खुट्टामा केही चुहिएर चिसो महसुस हुन्छ अनि बल्ल पो ऊ होसमा अाउँछ । रगत बगिसकेछ धेरै ।

देब्रे हातको कुमको केही नजिकबाट बगेको रगत कुहिनोको टुप्पाबाट तप्प गर्दै खुट्टाको बुढी अौंलाको नजिकै चुहिएको छ । छेउमा रहेको अङ्गोछाले रगत पुस्छ। धेरै समयसम्म थोरै थोरै रगत बग्छ। रोपाइ गरेको खेतमा हतारहतार हरेक धानका गाँजलाई भेटेर छेउको गरीबाट तल्लो गरामा हाम फाल्न अातुर पानीजस्तो माथिबाट कुहिनाको हाडको छेउमा पुग्न अातुर देखिन्छ रगत । धेरै समयपछि त कुहिनाको छेउमा दुई थोपा जति रगत भूमिमा हामफाल्न नसकेर झुन्डिएर त्यत्तिकै सुक्छ। अग्लो भिरको ढुङ्गाको छेउमा अरिङ्गालले गोलो हालेजस्तो, झरी रोकिएपछि घर अगाडिको कपडा सुकाउने डोरीमा झुन्डिएको एकथोपा पानी जस्तो, घाउ निको भए पनि निको नहुने खोच्याउने बानीजस्तो ।

अर्को दिन कलेजमा साथीहरूको समुहमा वाचन, श्रृंखला, भवामि , गातिस्था, घुपा, भूव्य, परस्मैपदेषु लगायतका सम्पूर्ण साथीहरूले गफ गरिरहेका थिए । घुपाले खै! के हाँसो लाग्दो कुरा गरेर सबैलाई हसाई । श्रृङ्खलाको हाँस्दा थपडी पिटीपिटी हाँस्ने बानी छ । ठ्याक्कै ‘घामका पाइलाहरू’मा अमलेन्दु भट्टाचार्यकी छोरी, पिताम्बरको छोरो पवनकी साथी अणुकोजस्तो । हाँस्ने क्रममा हात अापसमा पिटाएर पनि नपुगेर श्रृंखलाले दाइने हातले छेउमा रहेको वाचनको देब्रे कुमको नजिकै हिर्काई । वाचन झस्कियो । उसलाई भित्रबाट दुखेर अायो बाहिरी घाउ र साथमा सम्झना पनि अायो कि मैले हिजो ब्लेडले काटेर श्रृङ्खलाको रगत चुहिएलाजस्ता रक्तिम अोठ बनाएको छु । अाज उसैले हाँसेर त्यही अोठमा हानी ।

कलेजबाट फर्किदा श्रृङ्खलाले लाज मानेको भावमा भनी  – ” कमिज  धुनु पर्दैन ? त्याँ कमिजाँ लिबिस्टिक छ अझै हिजोको ।”

वाचनले हिजो नै ख्याल गरेर त्यो कमिज मायाले सुम्सुम्याएर अर्को ह्याङ्गरमा जतनसाथ झुन्ड्याएको थियोे । अाज अाफ्नो कमिजको कुममा नियाल्छ त उस्तै दाग छ रातो । उसले थाहा पाउँछ त्यो लिबिस्टिक होइन । रगत हो भन्ने । जुन अघि श्रृङ्खलाले हाँसीहाँसी उसले निर्माण गरेको अोठमा हिर्काउँदा अाएको थियोे ।

वाचनले श्रृङ्खलालाई कस्तो कस्तो मीठो प्रेम गर्छ तर कहिल्यै भनेको छैन । कुनै कुरा गर्न, केही भन्न समय र मन भएर मात्रै नपुग्दो रहेछ । साहस पनि चाहिदो रहेछ । यदि साहस कुनै पसलमा पाइन्थ्यो भने उसले बर्षैभरि क्यान्टिनमा नास्ता खाने पैसा जोगाएर पनि किन्थ्यो। तर त्यस्तो भएन ।उसले सुनेको थियोे साहस बढ्दो उमेरसँगै अाउँछ । उसले हरेक महिनाको पल्टिदो क्यालेन्डरको पातोसँगै अाफ्नो शरीरमा कतै साहस पलायो कि भनेर हेर्यो । तर साहस कहिल्यै पलाएन ।

घर पुगेपछि वाचनले दराजको सिसामा अाफूले अाफ्नो देब्रे हातको कुम नजिकै निर्माण गरेको श्रृंखलाको अोठ हेर्यो ।हेरिरह्यो । हेर्दा हेर्दा त्यो अोठका नजिकै अलिक माथि केही दूरीमा दुई अाँखा देखिए । नाक देखियो । क्रमशः श्रृङ्खलाको अनुहारको भव्य उपस्थिति भयो । वाचनको शरीर व्यानरमा राखेको कभर फोटो जस्तो धमिलो देखियो अलिक टाढा र हराउँदै गयो । दराजको सिसामा अब केवल श्रृंखला मात्रै देखिई । अामाले – खाना खान अाइजा – भनेपछि वाचन झस्कियो ।

अाफ्नै नाङ्गो छाती देख्छ ऐनामा। वाचनको कुममा श्रृंखलाको अोठ उस्तै रातो छ,जस्तो उसको अाफ्नै अनुहारमा छ । के फरक छ भने उसको अनुहारको अोठबाट रगत चुहिन थालेजस्तो देखिन्थ्यो । वाचनको कुमको अोठबाट चुहिएको नै छ ।

प्रत्येक दिन वाचनले कुमको अोठ चलाइरहन्थ्यो । थाहा छैन उसले कस्तो अानन्द प्राप्त गर्दथ्यो।अोठ त उसको कल्पना मात्रै थियो ,वास्तवमा त त्यो घाउ नै थियोे । एउटा अालो घाउ जसबाट निरन्तर बगिरहेछ रगत ।तर वाचनका निम्ति त्यो श्रृंखलाको अोठ नै थियो । त्यही अोठ जुन श्रृंखलाको मुहारमा टपक्क मिलेको छ । खुब सुहाएको छ ।

हरेक दिन त्यो उसले देख्दो अोठ चलाइरहन थाल्यो । मुसारिरहन थाल्यो ।एकदिन चलाएन भने घाउमा बाहिरबाट पातलो खाटा बस्दथ्यो । तर वाचनलाई सहन योग्य लाग्दैन थ्यो । श्रृंखलाको अोठ फुटेजस्तो लाग्दथ्यो । रङ उडेजस्तो लाग्दथ्यो । असह्य हुन्थ्यो । झन जोडजोडले घाउ अालो बनाउनमा ऊ लाग्दथ्यो । कुनै समय त्यो अोठ चलाउन पाएन भने खुब छट्पटिन्थ्यो । एउटा नमिठो अादत भैसकेको थियो वाचनका निम्ति अोठ चलाउनु । एउटा लत जसको भावी परिणाम वाचनलाई कत्ति थाहा छैन ।

एकदिन राति वाचनको घाउ अधिक दुख्यो,सहन गर्न धेरै गाह्रो पर्यो । त्यसरात उसले अाफूले बनाएको घाउलाई घाउ नै सम्झियो । बिहान कलेज जाने बेलामा श्रृंखलाले धमिलो मुख लगाएर भनी – ‘घरमा बिहेको कुरा चलेको थियोे हिजो ।मान्छे अाएका थिए । चाँडै बिहेगरिदिने भनेका छन् ।’वाचन एकशब्द पनि बोल्न सकेन । छिटो छिटो पाइला चालेर श्रृंखला अगाडि गई ।

ठिक विपरीत वाचनका पाइला गर्हौं भए ।  ऊ क्रमशः पछाडि छोडिँदै गयो । केही समयमा नै श्रृंखलाले हिंडिसकेको बाटो र वाचनले हिंड्न बाँकी रहेको बाटोको दुरी धेरै लामो भैसकेको थियोे । वाचन धेरै पछाडि छोडियो।

वाचनले कुमको अोठ चलाइ नै रह्यो ।अोठको अाकार पनि बढ्दो क्रममा थियोे।सधैं ताजा जस्तो देखिन्थ्यो । मानौँ भर्खरै बनेको घाउ हो । भर्खरै टोकेकी हो श्रृंखलाले र भर्खरै काटेको हो ब्लेड प्रयोग गरेर अोठको अाकारमा वाचनले । तर समय धेरै बितिसकेको थियोे ।

वाचनको कुमनिर श्रृङ्खलाको अोठ अझै ठूलो भएको थियोे। जब वाचनले अोठ चलाउँथ्यो। रगत बग्दथ्यो । तल तल बगिरहेको रगतले शृङ्खलाले लिबिस्टिक लगाउँदा बिगारेरजस्तो हुन्थ्यो । लत्पतिएजस्तो हुन्थ्यो ।

एक दिन दिदीले उसको घाउ देख्नुभएछ। के भएको ? भनेर प्रश्न पनि गर्नु भो । वाचनले केही भनेन तर अस्पताल जानू पर्ने भो। दिदीले अस्पताल लगेर उपचार गरियो पनि । तर एक दिन नबित्दै वाचनले हातको पट्टी खोलिहाल्थ्यो । घाउको अवस्था झन् दर्दनाक र बीभत्स भैसकेको थियोे ,वाचन त त्यसै नाजुक थियो नै।

चौंथोपटक घाउ उपचार गराएर ल्याएर घरमा कडा निगरानीमा वाचनलाई राखे ।तीन दिनसम्म कहीँ कतै निक्लिन पाएन ।वाचनको अनुहार धेरै दिनदेखि रगत खान नपाएको बाघजस्तो देखिन अाट्यो । कस्तो भोकोजस्तो देखिन्थ्यो । चौंथो रात अबेर अाफ्नो कोठाबाट निस्किएर छतमा पुग्यो वाचन । लगत्तै भोकाएको सिंहले मदले युक्त हात्तीको घाँटी फोरेजस्तो,मान्छेले पाकेको कटरह च्यातेजस्तो घाउ च्यात्न थाल्यो,रगत बग्न थाल्यो । च्यात्यो,बग्यो। च्याति नै रह्यो,बगि नै रह्यो ।

हेर्दा हेर्दै वाचनले अाकाशमा अाफूले र श्रृंखलाले फिजाएर जोडजोडले मफलर तानेको देख्यो र रातो मफलरको रङ उडेर बेरङ भएको पनि देख्यो । अाकाशमा लटरम्म फलेका ताराहरू क्रमशः पुरानो मैलो रङ उठेको श्रृंखलाको मफलरको बीचमा नियमभङ्ग रुपमा प्वाल परिरहेकोजस्तो देख्यो । अाकाशमा भर्खर एकवित्ता जति हिंडेको जून कालो ताबामा भर्खर राखेको सुक्का रोटीजस्तो लाग्यो । तेजहीन, कान्तिहीन ।

बिहान नदी स्नान गर्न अाएका एक पल्टन बादल भर्खर स्नान गरेर खोलाको छेउमा रहेका अग्ला सिमलको रुखका हाँगामा पुगेका छन् । घरको छतमा वाचनको शरीर अचेतन अवस्थामा लडिरहेको छ।अल्लिपरसम्म बगेको रगतको धर्सो छ । र छेउमा कमिज पनि छ, जसको देब्रे बाहुलामा छन् श्रृंखलाका अोठ उस्तै रक्तिम ।

छन त तिमीले दिएका चोटहरू तिम्रै अोठजस्ता छन् ,
तर अब मैले मुसार्न मिल्दैन ,चुम्न मिल्दैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

Previous articleमनकला!
Next articleदस मुक्तक
- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु