Thursday, June 17, 2021
HomeNewsपिप्ले–बन्दीपुर सडक कालोपत्र गरिँदै

पिप्ले–बन्दीपुर सडक कालोपत्र गरिँदै

- Advertisement -
- Advertisement -spot_img

पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करिब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो । सडक विभागको रु छ करोड र गाउँपालिकाको रु तीन करोड ६० लाख गरी रु नौ करोड ६० लाखको लागतमा असार महिनाभित्र सम्पन्न गर्ने कालोपत्र कार्य शुरु गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । सडकको दायाँबायाँ एक-एक मिटर बढाएर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । रिटेनिङ पर्खाल उठाउने ठाउँका लागि ठेक्का लगाई काम शुरु भएको छ । उनले भने, “नाला निर्माण ठेक्का लागे पनि ठेकेदार भागेकाले नालाबिनाको कालोपत्र गर्न लागिएको छ ।”

सडक साँघुरो भएका कारण ठूला पर्यटकीय गाडी बन्दीपुर जान कठिनाइ भएपछि अघिल्लो वर्ष सडक छ मिटरको चौडा बनाएपछि यस वर्ष कालोपत्रको काम गरिएको उनले बताए । पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रका करिब दुई किलोमिटर सात मिटरको फराकिलो सडक बनाइनेछ भने पाँच किलोमिटर छ मिटरको सडक हुनेछ । दुईतर्फी सवारी साधन गुड्न मिल्ने गरी सडक बनाइएको अध्यक्ष थापाले बताए । उनका अनुसार पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रको पुरानो कालोपत्र सडक पूरै भत्काएर पुनःनिर्माण गर्ने योजना छ ।

प्रत्येक वडा कार्यालयसम्म कालोपत्र

बन्दीपुर गाउँपालिका मातहत रहेका छवटै वडा कार्यालयमा कालोपत्र पुर्याउने गरी काम गरेको छ । हरेक वडा कार्यालयमा कालोपत्र गर्ने अभियानअनुरुप वडा नं ६ मा जाने मार्गको करिब पाँच किलोमिटर कालोपत्र गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । उक्त वडा जाने सडकको बीच भागमा केही कालोपत्र गर्न बाँकी रहेकाले तुरुन्तै सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए ।

त्यसैगरी वडा नं ५ मा जाने सडक पृथ्वीराजमार्गअन्तर्गत पर्ने याम्पाबाट फराकिलो बनाई कालोपत्र गर्दै थुम्कासम्म पुगेकाले अबको केही दिनमा सम्पन्न हुने उनले बताए । बाँकी चार वडामध्ये केही वडामा पुगिसकेको र कुनैको अन्तिम चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । (रा स स)

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय