Information is intelligence
HomeOpinionविश्वविद्यालयमा नेपाङ्ग्रेजी प्रश्नपत्र र विद्यालय तहको नेपाली भाषा

विश्वविद्यालयमा नेपाङ्ग्रेजी प्रश्नपत्र र विद्यालय तहको नेपाली भाषा

- Advertisement -spot_img

गत शनिबार नेपाली भाषा शुद्धीकरण अभियानले प्रा. डा. माधवप्रसाद पोख्रेललाई पाहुना बोलाएर नेपाली भाषाका बारेमा कार्यक्रम आयोजना गर्यो। फेसबुकमा विभिन्न देशका पृथक्-पृथक् कार्यक्षेत्रमा रहने करीब १६ हजार सदस्य भएको सामूहिक अभियान हामीले चलाएका हौँ।

विद्यार्थीदेखि प्राध्यापक र कूटनीतिक नियोगका व्यक्तिहरूसमेत जोडिएको उक्त कार्यक्रममा विभिन्न सवालहरू उठे। भाषाविज्ञका रूपमा राम्रो छवि बनाएका पोख्रेलले नेपालका भाषा र भाषिकाहरूको स्थितिबारे प्रकाश पारेपछि सहभागीहरूबाट जिज्ञासा लिने क्रम सुरु भयो। आआफ्ना स्तरका प्रश्नहरू सोधिसकेपछि पोख्रेलले क्रमैसँग उत्तर दिए। त्यस क्रममा आएका कतिपय प्रश्नहरू भने गम्भीर प्रकृतिका थिए। जसलाई पोख्रेलले आफ्नै ढङ्गले उत्तर दिए पनि राष्ट्रिय बहसका रूपमा आउनु जरुरी रहेको मैले ठम्याएँ। तिनीहरूलाई क्रमशः बुँदागत रूपमा अघि सार्नु मनासिव होला।

१. विश्वविद्यालय तहका नेपाङ्ग्रेजी प्रश्नपत्र
त्रिविलगायत अधिकांश विश्वविद्यालयबाट सहभागी सहभागीहरूको एउटा जिज्ञासा यही थियो। नेपाली भाषामा मात्र प्रश्नपत्र किन बनाइदैन? विश्वविद्यालयको तर्क यो पनि हुनसक्छ कि भिन्न भाषिक समुदाय र पृष्ठभूमिबाट आएका विद्यार्थीलाई बुझ्न सजिलो होस् भन्नका लागि यसो गरिएको हो। विश्वविद्यालयमा उच्चशिक्षाका लागि विदेशी पनि आएकाले अन्तर्राष्ट्रिय भाषाका रूपमा अङ्ग्रेजी पनि प्रयोग गरिएको हुनसक्छ। तर यो चित्तबुझ्दो र उत्तर भने होइन।

नेपालका सबैजस्तो विद्यालय तहमा नेपाली भाषा पढाइ हुन्छ। उच्चशिक्षाका लागि सम्बन्धित देशको भाषा सिकेर नेपालीहरू पनि विदेश जान्छन्। हामीले गुणस्तरीय शिक्षा दिएका छौँ भने विदेशीहरूले पनि हाम्रो भाषा सिकेर आऊन्। पोख्रेलका मतमा नेपाङ्ग्रेजी प्रश्नमा यदि अङ्ग्रेजीमा उत्तर लेख्ने कोही छ भने ऊ अरूका तुलनामा मेधावी ठहरिन्छ र अङ्क बढी पाउँछ। यस भनाइलाई हेर्दा विद्यार्थीभन्दा जाँचकर्तामा अङ्ग्रेजी मोह बढी रहने सङ्केत मिल्छ। नेपालीमा जस्तो वर्णविन्यास र वाक्यगठनको झञ्झा अङ्ग्रेजीमा हुँदैन भन्ने तर्क गर्ने विद्यार्थी पनि छन्।

यस सन्दर्भमा मलाई प्राथमिक तहमा पढाउने एकजना शिक्षकलाई सम्झन्छु, उनी भन्थे – नेपालीमा जस्तो ‘मैले भात खाएँ, अङ्ग्रेजीमा लेख्नुपर्दैन । ‘मलाई भातले खायो’ लेख्दा पनि हुन्छ भन्थे उनी।विद्यालय तहदेखि स्नातकोत्तर पढुञ्जेलको आफ्नो अनुभवमा चाहिँ अङ्ग्रेजीले भन्दा विषयवस्तुको भाका नेपालीमा लेख्नेले पुर्याएको हुन्छ। पोख्रेलका अनुसार अङ्ग्रेजी लेखे विद्यार्थीलाई आफू जान्ने छु भन्ने अभिमान र जाँचकमा विद्यार्थीलाई दिने अङ्कमा विभेदबाहेक नेपाङ्ग्रेजी अङ्ग्रेजीको तुक छैन।

२. नमुना विद्यालयका नाममा अङ्ग्रेजी रटान, निजि विद्यालयमा नेपाली बोल्दा दण्ड
अहिले नेपालमा सामुदायिक विद्यालयलाई अङ्ग्रेजी माध्यम बनाएर पठनपाठन गराउने भूत चढेको देखिन्छ। अङ्ग्रेजी सरकारी स्कूलमै पढ्न पाए किन शुल्क बढी नतिर्ने भनेर अविभावक पनि पुलकित छन्। अङ्ग्रेजी माध्यम बनाउनेबित्तिकै शैक्षिक गुणस्तर सुध्रिने, नेपाली माध्यमका विद्यार्थी लद्दु हुने? खास अङ्ग्रेजीमा के सञ्जीवनी बुटी छ? यसमा गम्भीर बहस हुनुपर्छ।

कक्षामा राम्रोसँग नपढाउने वा नबुझाउने शिक्षकहरूले ट्यूसनबापत खुब कमाएको मेरो स्कूले जीवनको अनुभव छ। नमुना विद्यालयहरूमा केही प्रविधिको सहयोगले ट्यूसन पढाउने शिक्षकलाई कक्षामै पढाउन लगाइन्छ। बाँकी उही सामान्य क्रियाकलाप हुने हुन्। वर्षेनी सबैभन्दा बढी सरकारी लगानी हुने शिक्षा क्षेत्र अङ्ग्रेजी पढाएर मात्रै कायाकल्प हुने हो त? यो पनि सोचनीय विषय हो। अङ्ग्रेजी पढेर युरोप अमेरिका जानेबाहेक के सुविधा छ? नमुना विद्यालय नेपाली माध्यमका विद्यालय किन बन्न सक्दैनन्? यो पनि  आम जनमानसमा बहस हुनसक्छ।

शिक्षक र शिक्षामा राजनीति नमिसाइ पठनपाठनको वातावरण सिर्जना गरे सबै सामुदायिक विद्यालयले काँचुली फेर्छन्। शहरका धनाढ्यहरूको पकडमा रहेका विद्यालयलाई नमुना बनाएर अन्यत्र उही ‘साधारण’ बनाइराख्ने हो भने यो व्यवस्था नै दोषी हुनेछ।

हाम्रो समाजमा अङ्ग्रेजी भाषा कति समृद्ध र सभ्य बन्यो कि सबैमा आफ्ना सन्ततिलाई बोर्डिङ नत्र नमुना विद्यालयमा पढाउने ध्याउन्न छ। पाठ्यक्रममा रहेका सबै विषयमा विद्यार्थी लेख्न, पढ्न र बोल्न स्वतन्त्र हुन्छन्। तर एक सय पूर्णाङ्कको नेपाली भाषा विद्यालयमा बोले तिरो तिराउने विद्यालयहरू पनि छन् । जसको प्रभाव कति छ भन्ने बुझ्न शिक्षक हुनु जरुरी छ। अङ्ग्रेजी नजानेका र नेपाली निषेध गरिएका विद्यालयका केही विद्यार्थीहरू नबोलेरै दिन बिताउँछन्। पारस्परिक संवाद र सहभागिताले दिने शिक्षा यस्ता ‘मौन’ विद्यार्थीले कहाँबाट सिक्ने? प्रत्येक विद्यालयमा यस्ता केही लुप्तप्रतिभाहरू छन्। जसलाई न अविभावकले बुझ्ने कोसिस गर्छ न विद्यालयले! पाठ्यक्रममा भएका तर बोलिचालीमा सीमाना लगाइएका विषयहरू पढाउने शिक्षकको आत्माभिमान कहाँ पुग्ला? मैले चाहिँ आफू कार्यरत विद्यालयमा नेपालीसँगै आआफ्ना मातृभाषामा समेत बोलिचालीका लागि स्वतन्त्र बनाएको छु।

३. सवारी साधनका परिचायक अङ्कमा अङ्ग्रेजी (इम्बोस्ट नम्बर)
नेपालको साक्षरता दर ६५.९ प्रतिशत पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्क रहेको छ। यसको अर्थ बाँकी ३४.१ प्रतिशत जनता निरक्षर छन्। सवारी साधनमा प्रयोग गरिने परिचायक अङ्कमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्दो छ। केही पूँजीपतिहरूसँगै सरकारले पनि अङ्ग्रेजी भाषामा नै इम्बोस्ट नम्बरको प्रयोग बढाएको छ। २०७४ भदौ ५ गतेदेखि तत्कालीन सरकारले अङ्ग्रेजी भाषामा परिचायक अङ्क राख्ने सभा नै राख्यो। उसो त भारतीय केही शहरहरू बाहेक नेपाली परिचायक अङ्क भएका सवारी साधन अन्यत्र पुग्नुपर्दैन। नेपालमा नै गुड्ने सवारीमा बढीभन्दा बढी अङ्ग्रेजी प्रयोग गरेर हामी विश्वव्यापी यातायात सञ्जाल विस्तारका क्रममा भन्दा पनि ‘सिको’ गरिरहेका छौँ।

एक तिहाइ निरक्षर जनता रहेको देशमा अङ्ग्रेजी इम्बोस्ट नम्बरको प्रयोगले कुनै दुर्घटना वा ज्यादती भइहाले उम्कन सजिलो मात्र भएको छ। यसबारे नेपालीमा इम्बोस्ट नम्बर भन्ने केही अभियानहरू पनि चले तर लागू भएको देखिँदैन। विश्वका अधिकांश देशमा आफ्नै मानक भाषामा इम्बोस्ट नम्बरहरू प्रयोग भएको पाइन्छ। उदाहरणका लागि हामी झापाको काँकरभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल राज्यका सवारीहरू देख्न सक्छौँ। जहाँ हिन्दी पनि नभई बङ्गाली भाषामा इम्बोस्ट नम्बर प्रयोग भएको देख्न सकिन्छ। परिचायक अङ्क कसरी लेख्ने भन्ने सवाल पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण छ।

४. विज्ञापन तथा सूचना पाटी
शहर बजारका विभिन्न व्यापारिक केन्द्र तथा सार्वजनिक सूचनाहरू अहिले अङ्ग्रेजीमा राख्ने प्रचलन बढेको छ। उसो त पर्यटकहरूका लागि सजिलो होस् भन्ने तर्क अघि सर्ला। नेपालीपन हेर्न र अनुशरण गर्न आउने पाहुनाले कोही सारथि अवश्य लिएको हुन्छ। अङ्ग्रेजीमा लेख्ने गरे गरिमा बढ्ने अहङ्कार हामीमा पर्नथालेको छ। त्यसकारण पाखाभित्ता, शहर बजार सबैतिर हामी अङ्ग्रेजी विज्ञापन गर्छौँ। यसको प्रभावले हाम्रा प्राविधिक शब्दहरूमा खिया लागेको स्थिति छ।

उल्लिखित क्षेत्रबाहेक देखाउनका लागि अङ्ग्रेजी प्रयोग हुने निकायहरू धेरै छन्। विश्वव्यापीकरणका लागि अङ्ग्रेजी भन्ने शिक्षित जगतको आफ्नै तर्क रहे पनि देशको पहिचान, संस्कृति र भाषागत उपलब्धिका कुरा पनि हुन्छन्। अङ्ग्रेजी नभएर पनि चीन, जर्मन, कोरिया र स्पेन समृद्ध बन्न सके। केही दशकअघि नेपालले दाल चामल पठाएर सहयोग गरेको कोरिया जान तपाईँ हामी कोरियाली भाषा पढ्दैछौँ।

भूगोलले मात्र देश समृद्ध हुने भए नेपालभन्दा साना माल्दिभ्सदेखि माल्टासम्मका देशहरू कसरी समृद्ध हुन्थे? अङ्ग्रेजी विश्वभाषा हुनलाई हामी सघाइरहेका छौँ। अनेकन देशका मौलिक भाषा समाप्त पारेर एकाधिकार जमाएको अङ्ग्रेजीलाई चुनौती दिन हामीलाई केले व्यवधान गरिरहेको छ? विभिन्न देशमा छरिएका आप्रवासी नेपालीहरूसँगै विश्वमाझ पुगेको नेपाली भाषालाई अझ विस्तार गर्नुपर्ने अविभारा हामीमाझ छ।

आजको चिरफारमा विद्यालय तहदेखि विश्वविद्यालयसम्म देखिएका भाषिक दुर्गतिबारे चिरफार गर्ने साहस गरिएको छ। अङ्ग्रेजी भाषाको विस्तारो उपनिवेशले हामीलाई गाँज्दै लगेको छ। आफ्ना सन्ततिलाई महङ्गो शुल्क तिरेर अङ्ग्रेजी पढाएर मन्द मुस्कानमा रमाउने हाम्रो प्रवृत्तिले विकराल रूप लिँदैछ।

तोतेबोलीमै एप्पल जानेका हाम्रा भविष्यका कर्णधारहरूले मुस्ताङको स्याउ कहिले चिन्छन् ? बजारी मिल्क खाएका हाम्रा भरोसाका केन्द्रहरू कहिले गाईको दूध खाने बन्छन्? ससाना बिमार लाग्दा ट्रिटमेन्ट गराउने हाम्रा सन्तानले मनशान्ति हुने गरी कहिले उपचार गर्छन्? देशको भाषा, संस्कृति र कलामाथि गरेको नियन्त्रण भूगोलभन्दा विभत्स खालको हुन्छ।

भारतले मिचेको दशगजाभन्दा कहाली लाग्दो इतिहास अङ्ग्रेजहरूको अङ्ग्रेजी शिक्षाका विरुद्ध हुनेछ। किनभने सत्य सधैँ दुर्घटना न होउञ्जेल भ्रम भएर हाम्रा मानसपटलमा रहने गर्छ। त्यसैले आफ्ना सन्ततिलाई उचित संस्कार सहित नेपाली भाषामा उच्च शिक्षा हासिल गर्ने वातावरण निर्माणका लागि सरकारलाई पानी छ्यापीरहनुपर्छ। गान्धीले भनेका छन् – ‘यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य हो ।’ आज अल्पमतमा रहेको नेपाली भाषा अभियान एउटा सत्य हो। जसको दोहनमा यो समाज न जानिँदो पाराले लागिरहेको छ। भाषाका सवालमा सबै नेपाली भाषीहरू निर्मम बनेर उभिनुपर्ने दिन आएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु