Information is intelligence
HomeNewsचुरे विनाशसँगै विस्थापन

चुरे विनाशसँगै विस्थापन

- Advertisement -spot_img

उदयपुर — चुरेमा भइरहेको प्राकृतिक स्रोतको विनाशका कारण खोला नदीको अवस्था र बहाव फेरिने गर्दा स्थानीय बासिन्दाले दुःख खेप्नुपरेको छ । आधा उदयपुर भएर त्रियुगा नदी बगेको छ ।
चुरे विनासका कारण मरुभूमीकरण भएको त्रियुगा नदीको तल्लो तटीय क्षेत्र । यस क्षेत्रमा अहिले नदीमा माछासमेत पाइँदैन । तस्बिर : कान्तिपुर

चुरे क्षेत्रमा वन विनाशका कारण बाढीपहिरो बढेको छ । यसले गर्दा नदीले बर्सेनि धार परिवर्तन गर्ने, खेतीयोग्य जमिन पुरिदिने जस्ता समस्या बढेका छन् ।

नदीका कारण विस्थापित भएकाहरू चुरे क्षेत्रको हजारौं हेक्टर वन अतिक्रमण गरी बसोबास गरिरहेका छन् । धान फल्ने खेत बगर भएका छन् । त्रियुगा धार (तटीय क्षेत्र) मा बस्नेले अहिले चुरे जंगल अतिक्रमण गरेर बसेका छन् । उनीहरूको गुजारा अहिले वनबाट दाउरा काटेर बिक्री गर्नुबाहेक अन्य विकल्प छैन । पहिले एक दुई विघा/कट्ठा खेत भएकाहरू त्रियुगा नदीका कारण विस्थापित भएका छन् ।

नदीले जग्गा कटान र बालुवाले पुरिदिएपछि छेदिलाल चौधरी, ललकु चौधरी, मिश्रीलाल, मगलु चौधरीलगायत जमिनदारका सन्तान गुजाराका लागि थातथलो छोडेर हिँडेका छन् । त्रियुगा धारमा एक जनाको ३० बिघाभन्दा बढी अन्न उत्पादन हुने खेत थियो । उनीहरूका सन्तानको एक बिघा पनि खेत नहुँदा गुजाराका लागि थातथलो छोडेर हिँड्ने क्रम बढेको वडाध्यक्ष देवनारायण चौधरीले बताए ।

उदयपुरका ८ स्थानीय तहमध्ये झन्डै आधा भूभाग त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाले ओगटेको छ । त्रियुगा नगरपालिकको शिरदेखि सुरु भएको त्रियुगा सदरमुकाम गाईघाट हुँदै चौदण्डीगढीको मध्यभाग भएर बेलका नगरपालिकासम्म बगेको छ । नदीको शिरदेखि सप्तकोसीसम्म झन्डै ४२ किलोमिटर लम्बाइ छ । मुख्य अन्न बाली हुने ठूलो क्षेत्रफल भएको जग्गा पनि यी तीन नगरपालिका नै हुन् । क्षेत्रफलको दृष्टिकोणले अन्न उब्जनी हुने क्षेत्र यी नगरपालिकामा परे पनि त्यसको ७५ प्रतिशत भूभागलाई त्रियुगा नदीले क्षति पुर्‍याएको छ ।

त्रियुगाका कारण चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका ५ हजार जग्गाधनीमध्ये अधिकांशको जग्गामा खोला कुदिरहेको छ । सुरुमा कटानले प्रभाव पारेका जग्गा अहिले बालुवाले पुरेको हो । ‘३५–४० बिघा खेतीयोग्य जमिन भएकाहरूको अहिले एक बिघा पनि जग्गा छैन,’ वडाध्यक्ष चौधरीले भने, ‘स्रेस्तामा अहिले पनि ३० बिघा जग्गा भए पनि एक बिघा खेत पनि बचेकाहरू कमै छन् ।’

नदीबाट उकास हुन्छ कि भनेर बर्सेनि ३० बिघा जग्गाको मालपोत तिरे पनि अहिलेसम्म अवस्था उस्तै रहेको उनले बताए । ३० बिघा जग्गा खोलाले बगाएपछि अहिले धेरै युवा गुजाराका लागि काठमाडौंदेखि भारतको पञ्जाबसम्म मजदुरी गर्न पुगेका छन् । वैदेशिक रोजगारमा जानेको संख्या पनि उस्तै रहेको स्थानीयले बताए । ‘जसको ३०/४० बिघा जग्गा थियो, तिनका सन्तान अहिले सुकुम्बासी छन्,’ वडाध्यक्ष चौधरीले भने, ‘तर थोरै एक डेढ बिघा जग्गा नदीले बगायो तिनीहरू समयमै थातथलो छोडेर हिँडे पनि अहिले मालिक बनेका छन् ।’

सयौं किसान नदीकै कारण अहिले पनि वनक्षेत्र अतिक्रमण गरेर बसेका छन् । त्रियुगा नदीबाट विस्थापित अहिले पनि चौदण्डीगढी नगरपालिका ५ को जुटपानी, धामीचाप, टोकनीलगायत चुरे वन क्षेत्रमा अतिक्रमण गरेर बसिरहेका छन् । झन्डै १ हजार १ सय ५० परिवार अहिले पनि जंगल क्षेत्र अतिक्रमण गरेर बसोबास गरिरहेको वडा कार्यालयको तथ्यांकमा देखिन्छ ।

चुरे वन विनाशसँगै वर्षात्मा हुने भूक्षयले खहरेमा पानीको साटो लेदो र बालुवा बग्ने गरेको सुन्दरपुरका पूर्वजनप्रतिनिधि राधाकृष्ण प्रसाईंले बताए । माथिल्लो चुरे क्षेत्रबाट झरेका खहरे खोलाले बस्ती र तल्लो क्षेत्रको त्रियुगाले खेत पुरेपछि किसान ज्याल मजदुरी गर्न बाध्य भएका उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु