Information is intelligence
HomeNewsपहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध, बाढीका कारण दर्जन बस्ती जोखिममा

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध, बाढीका कारण दर्जन बस्ती जोखिममा

- Advertisement -spot_img

पहिरो खस्दा जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । बझाङबाट  धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन्  ।

गए रातिदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  “राजमार्ग खुलाउने विषयमा स्थानीय तह,सडक कार्यालयसंग समन्वय भइरहेको छ”, उनले भने । लगातारको वर्षाले सडक पुनः सञ्चालनमा भने समस्या भइरहेको जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ ।

आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हँुदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ ।

बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र सोही नगरपालिका–६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । त्यस्तै बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको छ । त्यस्तै घागरमा गत वर्ष कटान भएको खेतीयोग्य जमीन यस वर्ष वर्षात् शुरुआतसँगै पुनः नदीले कटान गर्न शुरु गरेको छ । आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूर्णरूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताए ।

यस्तै नदीका कारण बडिमालिका–६ पानीनाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीयवासी धन बढुवालले बताए । “प्रत्येक वर्ष कटान गर्दै आएको थियो, यस वर्षदेखि पूर्णरूपमा खेतीयोग्य जमीन बगाएको छ”, उनले भने । त्यस्तै त्रिवेणी नगरपालिका–३ र बूढीगङ्गा–३ को खेतीयोग्य जमीन नदीले कटान गर्दै आएको बूढीगङ्गा नगरप्रमुख दीपकविक्रम शाहले बताए।

नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, घागर, बार्जुगाडा, मौरलगायतका गाउँ तथा बजार उच्च जोखिममा रहेको शाहको भनाइ छ । तलबाट नदीले कटान गर्दै आएपछि बाम्काबजार जोखिममा रहेको र केही विस्थापित भइसकेको प्रमुखले बताए। त्यस्तै बूढीगङ्गाले छिमेकी जिल्ला अछाममा पनि खेतीयोग्य जमीन कटान गर्दै आएको साँफेबगर नगरपालिका–२ बस्ने कमल साउदले बताए । साँफेबगरको बुढाबगर, ठाँटी बजार, साँफेबगर र कालिमाटीमा खेतीयोग्य जमीन कटान गर्दै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु