Information is intelligence
HomeBreaking Newsमेलम्ची बजार वर्षाका कारणले मात्र डुबेको होइनः भूगर्भविद्

मेलम्ची बजार वर्षाका कारणले मात्र डुबेको होइनः भूगर्भविद्

- Advertisement -spot_img

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको पहिरो र बाढीमा परी बेपत्ता हुनेको संख्या २० पुगेको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार परिवार र आफन्तको सम्पर्कमा नरहेकाको संख्या २० पुगेको हो। साथै १६ घर पूर्णरूपमा क्षति भएको, दुईवटा मोटरेबल पुल र ५ वटा झोलुङ्गे पुलमा क्षति भएको पनि सहायक प्रजिअ खनालले बताए।

यस्तै, बाढी प्रभावित क्षेत्रका नागरिकका लागि गृह मन्त्रालयले तत्कालका लागि राहत सामग्री पठाएको छ। गृहका प्रवक्ता जनकराज दाहालले २५० वटा त्रिपाल, १०० वटा टेण्ट र ५० वटा स्लिपिङ ब्याग पठाइएको जानकारी दिए ।

नेपाल फ्लोड अलर्टका अनुसार सिन्धुपाल्चोकस्थित मेलम्ची नाकोटे जलमापन केन्द्रमा मंगलबार बेलुका ६ बजे जलसतह एक्कासि ४.७ मिटरबाट घटेर ३ मिटर पुगेको र बेलुका ६ः४५ देखि अकस्मात् जलसतह बढ्न गई ७ बजे ६ मिटर मापन भएकाले खोला केही समय थुनिई एक्कासि बाढी आएको हुनसक्ने आँकलन गरिएको छ।

मनसुन भित्रिएसँगै सुरु भएको अविरल वर्षालाई सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत नदी छेउछाउ रहेका पहाडी क्षेत्रका ठाउँहरूलाई डुबानको कारणका रूपमा हेरिए पनि वर्षाको कारणले त्यसो नभएको भूगर्भविद् प्रा.डा. मेघराज धिताल पनि बताउँछन्।

वर्षौदेखिको पहिरोले जम्मा गरेको ढुङ्गा र माटोका कारण पहाडी क्षेत्रका नदीनाला वर्षा याममा थुनिएर ठाउँ–ठाउँमा पानी जम्मा गर्ने र एक्कासि खुलेर ठूलो बाढीको रूप लिने गरेको उनको बुझाइ छ।

‘हाम्रो पहाडी भेगका खोलानालामा पहिरोका कारण ठूलाठूला ढुङ्गा जम्मा हुने गर्छन्। तिनले थुपारेको माटोले वर्षाको समयमा खोलाको बहाव निक्कै नै बढाइदिन्छन्। मेलम्ची बजार डुबाउने बाढीमा लेदो ठूलो मात्रामा देखिएकाले वर्षाले मात्रै भन्दा पनि यो पनि एउटा कारण हो भन्ने मलाइ लाग्छ,’ प्रा. डा. धितालले भने।

‘ठाउँठाउँमा बाधिँदै, फुट्दै र उक्लिँदै आएको खोलाले खुला ठाउँ भेटेपछि जम्मा भएको माटोको लेदो थुपारेको हो,’ उनले थपे।

उनका अनुसार यस किसिमको बाढी कुनै पनि पहाडी नदीमा केही दशकको अन्तरालमा आउँछ।

‘हामीले कुलेखानीमा २०५० सालमा आएको बाढीबारे अध्ययन गरेका थियौँ। त्यसपछि त्यस्तै बाढी २०७३ मा आयो। कारण नदीमा जम्मा भएको सेडिमेन्ट नै थियो। नदीहरूमा यस्तो चक्र ३० देखि ५० वर्षमा पुनरावृत्ति भइरहन्छ,’ उनले भने।

यस किसिमको नेपालको भौगोलिक कारणले आउने बाढीबाट बच्ने एउटै उपाय खोलाबाट टाढा बस्नु रहेको उनको ठम्याइ छ।

‘मानिसहरू नदीनाला छेउमा बस्छन्, अतिक्रमण गर्छन्। बाढी आउने खालका ठूला नदीको छेउछाउ बस्नु नै राम्रो होइन,’ प्रा. डा. धितालले भने।

समयसमयमा नदीले कहाँ कति ढुङ्गा थुपारेको छ भन्ने अध्ययन गरेर जोखिम न्यूनीकरण गर्न भने सकिने उनको ठम्याइ छ।

‘बाढीले केही ढुङ्गा बगाएर लैजान्छन् र, केही नदीमै छाड्छन्। छुटेका ढुङ्गा प्रायः ठूला हुने गर्छन्। तिनले नै नदीको बाटो थुन्ने हुन्,’ केन्द्रबिन्दुसँग कुराकानी गर्दै उनले भने, ‘हामीकहाँ नदीले कहाँ कति ढुङ्गा, माटो थुपारेको छ भन्नेबारे खोजी नै हुँदैन। त्यसो गर्न सके त्यस किसिमको बाढीको सम्भाव्यताबारे जान्न सकिन्थ्यो र, आवश्यक कदम पनि लिन सकिन्थ्यो।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु