Information is intelligence
HomeNewsदुई दर्जन सडक अवरुद्ध

दुई दर्जन सडक अवरुद्ध

- Advertisement -spot_img

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि राप्ती राजमार्गसहित दुई दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षा जारी रहेकाले सडकमा खसेको पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण राप्ती लोकमार्गअन्तर्गत सल्यानको कपुरकोट–३ दसरेमा खसेको पहिरो। तस्बिर : विप्लव/कान्तिपुर
जिल्ला प्रहरी कार्यालयका अनुसार खलंगा–बालुवासंग्रही, त्रिवेणी–काभ्रा–रामपुर, त्रिवेणी– फलाबाङ, लुहाम–पिमखोला, कालीमाटी–दम्दवाली, छत्रेश्वरी–झिम्पे, बाग्चौर– दार्मा, बाग्चौर– रागेचौर–चौरजहारीलगायत सडकमा यातायात सेवा बन्द भएको छ । त्यस्तै खलंगा–लक्ष्मीपुर, बरला–सापमारा, बरला– माल्नेटा, रामेखोला–ओखरेनी, ढोडचौर–कालालेख,चाक्लिघाट–कुमाख, बाबियाचौर–निगालचुला, सल्लीबजार–बामे, कपुरकोट–रिम, कपुरकोट–गर्पा, लान्ती–दहखोला, मौख्ला– दमाचौर सडक पनि बन्द भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण कपुरकोट गाउँपालिका–३ दसरेमा पहिरो खस्दा बुधबारदेखि राप्ती लोकमार्ग अवरुद्ध भएको छ । लगातार भइरहेको वर्षाका कारण खसेको पहिरो पन्छाउन समस्या भएको हो । पहिरोले दाङ, सल्यान र रुकुमको सडक सम्बन्धविच्छेद बनाएपछि यात्रुहरू हिँडेरै गन्तव्यमा जान बाध्य छन् । डोजरले समयमै पहिरो हटाउन नसक्दा झन्डै एक सय मालबाहक गाडी सडकमै अलपत्र परेका छन् । झन्डै ५० यात्रुबाहक गाडीलाई कपुरकोट र तुलसीपुरमा रोकिएको छ ।

डोजर लगाएर पहिरो पन्छाउन खोजिए पनि माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकाले सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार धेरै जोखिम भएपछि पहिरो पन्छाउने काम रोकिएको छ ।

सडक अवरुद्ध भएपछि किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको कपुरकोट तरकारी हाटबजारका सचिव तिलक शर्माले बताए । उनका अनुसार कपुरकोट हाटबजारमा झन्डै १० लाख रुपैयाँको ताजा तरकारी थन्किएको छ । ‘राजमार्ग र अधिकांश ग्रामीण सडकमा जताततै पहिरैपहिरो छ,’ उनले भने, ‘वर्षा नरोकिएकाले किसानले उत्पादन गरेको तरकारी घरमै कुहिने अवस्था आयो ।’ सडक बन्द भएपछि गम्भीर अवस्थाका बिरामी र कोरोना संक्रमितलाई अस्पताल लैजान समस्या भएको छ । लगातारको वर्षापछि आएको बाढीले दुई जनाको मृत्यु भएको डीएसपी थापाले बताए । उनका अनुसार कपुरकोट र छत्रेश्वरीमा दुई घर भत्किएका छन् । झन्डै एक दर्जन परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु