Information is intelligence
HomeOpinionसुन्दर देशको दुःखद कहानी

सुन्दर देशको दुःखद कहानी

- Advertisement -spot_img

नेपाल विश्व माटोको सुन्दर वगान हो । यहाँका भाषा, धर्मसंस्कृति, भौगोलिक विविधता आदि सुन्दर फूलहरू हुन् । जहाँ सुन्दर फूलहरू हुन्छन् त्यहाँ भ्रमरहरूको आँखा लाग्नु अस्वभाविक कुरा होइन । तर तिनीहरूकै साम्राज्य चल्नु दुःखद पक्ष हो । वगानको संरक्षक कमजोर, अदूरदर्शी, अज्ञानी, स्वार्थी र विभेदी हुँदा वगानको सौन्दर्य लुटिन र फूलको अस्तित्व सकिन समय नलाग्ने रहेछ । अहिले हाम्रो वगानको सौन्दर्य लुट्न चहाने र फूल चुसेर मोटाउने जुकाहरूको व्यापार राम्रै फस्टाएको छ । यसलाई समयमै नियन्त्रण गर्न नसक्ने हो भने पुर्खाहरूको रगत र पसिनाले सराप्ने छ । नेपाललाई इतिहासको पानामा खोज्नु पर्ने दिन आउन समय नलाग्न सक्छ ।

जुका र बाँदरबाट लुटिएको मेरो देश अहिले प्राकृतिक विपत्तिबाट पनि थलिएको छ । बाढी पहिरोका कारण देशको सौन्दर्य उध्रिएको छ । देशलाई चोट लाग्दा आफैँलाई घाउ लाग्दो रहेछ । माटो बग्दा मुटुनै बगेजस्तो हुँदो रहेछ । रुखहरू भाँचिदा हात गोडा नचल्दा रहेछन् । देश पानीमा डुब्दै गर्दा मुटुमा आगो बल्दो रहेछ । देश आगोले जल्दै गर्दा आँखामा बाढी आउँदो रहेछ, जीवनमा पहिरो जाँदो रहेछ । अचेल एउटै प्रश्नले दुखाइरहन्छ, मेरो जस्तै भावना वगानका मालीहरूमा होला कि नहला ? दिलले भन्छ, तिनीहरू पनि मान्छे हुन् पक्कै होला । दिमाग शङ्का गर्छ, यदि हुँदो हो त माली बन्नैका निम्ति गुलाबको अस्तित्व लुटाइन्छ ?

हुन त प्राकृतिक विपत्तिलाई कसैले रोक्न सक्दैन । प्रकृतिको नियमलाई कसैले परिवर्तन गर्न सक्दैन । तर यसैलाई कारण देखाएर प्राकृतिक ताण्डवलाई नजरअन्दाज गर्नु मान्छेको स्वभाव होइन, हुनु हुँदैन । यदि प्राकृतिक ताण्डव चलिरहने अनि पहाड लड्दै जाने र तराई पुरिँदै जाने हो भने देश उजाडिन समय लाग्दैन । यस्ता विपत्तिहरूबाट देशलाई जोगाउने विषयमा सोच्न धेरै ढिला भै सकेको छ । देशमा आवश्यक प्रविधिको अभाव हुनु, विपत व्यवस्थापनको व्यवस्थित र वैज्ञानिक पूर्व तयारी नहुनु, भएका निकायहरूले पनि स्वतन्त्र रूपमा काम गर्न नसक्नुजस्ता विविध कारणले देशले वर्षौँदेखि ठुलो क्षति बेहोर्नु परेको तथ्य स्पष्ट छ । यसलाई नियन्त्रण गर्न भौगोलिक स्थितिको अध्ययन गरी जोखिमयुक्त क्षेत्रको वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने र नदी सतह एवं किनारको व्यवस्थापनलाई ध्यान दनिुपर्ने देखिन्छ । यदि पहाड भत्किँदै जाने र तराईका नदीहरूको सतह भरिँदै वा पुरिँदै जाने, देशलाई नै हानी पुग्ने गरी बनाइएका बनाउन खोजिएका संरचनाहरूप्रति नजरअन्दाज गर्ने हो भने नेपालको तराई क्षेत्र मरुभूमिमा परिणत हुन समय नलाग्ने पक्का छ । यो गम्भीर विषयमा सम्बन्धित निकायको समयमै ध्यान पुगोस्, अन्यथा आगो लागिसकेपछि कुवा खन्नुको कुनै अर्थ रहँदैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु