Information is intelligence
HomeNewsपेट्रोलियम आपूर्ती सहजताका बारेमा उद्योगमन्त्रीको उपस्थितिमा बृहत छलफल

पेट्रोलियम आपूर्ती सहजताका बारेमा उद्योगमन्त्रीको उपस्थितिमा बृहत छलफल

- Advertisement -spot_img

नेपाल आयल निगम लिमिटेडले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री राजकिशार यादवको उपस्थितिमा पेट्रोलियम पदार्थको सहज आपूर्ती र चुहावट नियन्त्रण लगायतका विषयमा अन्तरक्रिया गरेको छ । मोरङको विराटनगरमा आयोजित छलफलमा उपस्थितहरुले तराईका पेट्रोलपम्पहरुलाई मर्ज गर्नुपर्ने तथा पहाडमा नयाँ पेट्रोलपम्प खुल्ला गर्न प्रकृया अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

आयल निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख नकुल भण्डारीले पेट्रोलियम पदार्थको आपूर्ती विषयमा धेरैपछि बृहत छलफल भएको बताए । उनका अनुसार छलफलमा प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री राजकुमार ओझा, आन्तरिक मामिला तथा कानून मन्त्रालयकाका सचिव राजेन्द्रकुमार पौडेल, प्रदेश १ को प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखहरु इश्वरबाबु कार्की र वंशीराज दाहाल, प्रदेश २ को सशस्त्र प्रहरी प्रमुख चन्द्रप्रकाश गौतमको सहभागिता थियो ।

त्यस्तै झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहाका प्रमुख जिल्ला अधिकारीहरु क्रमशः श्रवणकुमार तिमिल्सिना, कोषहरी निरौंला, उमेशकुमार ढकाल, फणिन्द्रमणी पोखरेल र प्रदिपराज कणेलको उपस्थिति रहेको थियो । ‘हामीले धेरै पछि पेट्रोलियम पदार्थको आपूर्ती र वितरणका लागि पूर्वका प्रमुख सरोकारवाला पक्षलाई राखेर बृहत छलफल गरेका हौ’ भण्डारीले भने, ‘यसबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दैै लैजानेछौँ ।’

उनका अनुसार भारतीय सिमा क्षेत्रमा पेट्रोलपम्प नियुक्त गर्दा विशेष मापदण्ड बनाउनुपर्ने सुझाव आएको छ । खासगरी प्रमुख जिल्ला अधिकारीहरुले सिमा क्षेत्रमा इन्धन तस्करी बढ्दै गएकाले नियन्त्रण गर्न पेट्रोलपम्पहरुलाई समेत निश्चित मापदण्ड बनाई लागू गर्न सुझाव दिएका थिए । आयल निगमले देशभरका पेट्रोलपम्प व्यवसायीका लागि एउटै मापदण्ड हुने गरी ‘पेट्रोलियम पदार्थ विक्रेता बिनियमावली, ०७५’ लागू गरेको छ । यहीं विनियमालीअनुसार निगमले नयाँ पम्पको दर्ता खोल्ने तथा नियमन गर्दै आएको छ ।

त्यस्तै छलफलमा सहभागीहरुले तराईमा पम्पको संख्या धेरै भएको र एउटै व्यवसायीको २–३ वटा पम्प भएकाले मर्ज गर्ने नीति ल्याउन सुझाव दिएका छन् । पहाडी क्षेत्रमा भने लामो दुरीका बीचमा पनि पम्प पाउन मुस्कल बन्दै गएकाले त्यस क्षेत्रका लागि आवेदन खुल्ला गर्नुपर्ने सुझाव आएको भण्डारीले बताए ।

अहिले पहाडी क्षेत्रमा नयाँ बाटो र राजमार्ग खुल्नेक्रम बढेर यातायातको पहुँच बिस्तार भइरहेकाले नयाँ पम्पको खाँचो रहेको सरोकारावालले औंल्याएका छन् ।आयल निगमले मध्यपहाडी र हुलाकी राजमार्ग लक्षित नयाँ पेट्रोलपम्प खोल्न गृहकार्य अघि बढाइरहेको जानकारी दिएको छ । त्यस्तै आधुनिक पम्पको संख्या बढाउन पनि सुझाव दिएको भण्डारीले बताए ।

आयल निगमले पम्पहरुको निरिक्षण गर्दा जिल्ला प्रशाशन कार्यालयसँगको समन्वयनमा गर्दा प्रभावकारी हुने सुझावसमेत आएको भण्डारीले जानकारी दिए ।कार्यक्रममा मन्त्री यादवले पेट्रोलियम पदार्थको सहज आपूर्तीका लागि नीति, निर्माण गरी कार्यान्वयन गर्न सरकार तयार रहेको बताएका थिए । उनले त्यसअघि झापाको चारआलीस्थित निगमको शाखा कार्यालय पुगेर प्रस्तावित सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनबारे जानकारी समेत लिएका थिए । पाइपलाइनबारे जानकारी लिएपछि मन्त्री यादवले चाँडै निर्माण कार्य सुरु गर्न निर्देशन दिएका थिए ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पाइपलाइनको सर्भे सकिएको र भारत–नेपालबीच ‘जिटुजी’ समझदारीमा पाइपलाइन निर्माण गर्ने तयारी भइरहेको जानकारी गराएका थिए । सो पाइपलाइन ५० किलोमिटर हुनेछ । निगमको चारआलीस्थित शाखा कार्यालय छेऊमै रहेको २३ बिघा क्षेत्रफलमा पाइपलाइनको अन्तिम बिन्दु हुने र त्यहाँ पाइपलाइनबाट आएको तेल भण्डारण गर्न ठूलो क्षमताको भण्डारण गृह समेत निर्माण हुने पौडेलले जानकारी दिएका थिए । मन्त्रीले यादवले सोही अवसरमा झापाको मेचिनगर–६, काँकरभिट्टास्थित नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालयसमेत निरिक्षण गरेका थिए ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय