Information is intelligence
HomeAgricultureतर्बुजाको व्यावसायिक खेती

तर्बुजाको व्यावसायिक खेती

- Advertisement -spot_img

पोखरा : पोखरा—१७ फुस्रेखोलाको किनारमा व्यावसायिक रूपमा तर्बुजा खेती सुरु भएको छ। पोखरा १७ छोरेपाटनका भीष्म कार्कीले पहिलो पटक पोखरामा व्यावसायिक रूपमा तर्बुजा खेती सुरु गरेका हुन्।

फुस्रेखोलाको किनारको बलौटे माटोमा पोहोर र परार ट्रायलको रूपमा तर्बुजा खेती गरेका कार्कीले राम्रो उत्पादन हुन थालेपछि यस वर्षदेखि व्यावसायिक तर्बुजा खेती गरेका हुन्। तराईको गर्मी र बलौटे माटोमा हुने तर्बुजा खेती पोखराको खोला किनारका बलौटे माटोमा पनि उत्तिकै स्वादिलो उत्पादन भएपछि ८ वर्षदेखि तरकारी र माछापालन गर्दै आएका कार्की तर्बुजा खेतीतर्फ पनि आकर्षित भएका हुन्।

९ वर्ष बेल्जियम बसेर फर्केका ५७ वर्षीय कार्कीले तरकारी र माछापालनका साथै तर्बुजा खेती पनि सुरु गरेका हुन्। उनको बारीमा सरस्वती, लक्ष्मी र मस्ताना गरी तीन जातका तर्बुजा छन्। तर्बुजा फल्न थालेपछि फर्ममै खरिद गर्न स्थानीय र व्यापारी आइपुग्छन्। तरकारीको जस्तो बजारको समस्या नरहेको उनले बताए। यस वर्ष पहिलो लटमा लगाएको तर्बुजा असिनाले खाएपछि दोस्रोपटक चैत १ गते लगाएको थियो।

९० दिनभित्रै तर्बुजा तयार हुन्छ। सरस्वती जातको तर्बुजा साढे दुई किलोदेखि ४ किलोसम्मको फल्छ। सानो परिवारलाई एउटा खाँदै पुग्ने र अरूभन्दा बढी स्वादिलो हुने भएकोले यो जात ग्राहकमाझ निकै लोकप्रिय भएको उनले सुनाए। लक्ष्मी र मस्ताना ७ देखि १० किलोसम्मको हुन्छ। ठूलो परिवार भएका र व्यापारीले यी जातका तर्बुजा मन पराएर लग्ने गरेको उनले सुनाए। तरकारीले तर्बुजाको जस्तो भाउ नै नपाउने उनले यसतर्फ आकर्षित भएको उनको भनाइ छ। पसलमा ९० भाउ हुँदा आफूले ३० रुपैयाँ किलो बेच्नुपर्ने अवस्था रहेको उनले बताए। माछापालन, तरकारी खेती गर्दै आएका कार्कीले ३२ लाख रुपैयाँ लगानी गरेका छन्।

यस वर्ष उनले एक हजार किलो तर्बुजा घरबाटै बिक्री गरिसकेका छन्। बारीमा अझै दुई टन तर्बुजा रहेको उनले सुनाए। असारको नलाग्दै जेठको अन्तिम हप्तादेखि पोखरामा ठूला पानी परेपछि बिक्री गर्ने बेलाका करिब ६ सय किलो तर्बुजा बिग्रिएको उनले सुनाए। पानी परेपछि सानो दाग लागेपछि पनि तर्बुजा कुहिने समस्या भएको उनले सुनाए। यो लट निकालेपछि उनी फेरि टनेलमा अर्को लट तर्बुजा खेती लगाउने तयारीमा छन्।

तर्बुजा खेतीका लागि यो वर्ष पोखरा महानगरपालिका कृषि महाशाखाले भीसीडीपीको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत तीनै जातको बिउ र मल्चिङ प्लास्टिकमा सहयोग गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए। पोखरामा तीन ठाउँमा तर्बुजा खेती गरिए पनि भीष्म कार्कीको फर्ममा राम्रो उत्पादन सुरु भएको पनि उनले बताए। तर्बुजा घरबाटै जातअनुसार ६० देखि ८० रुपैयाँ किलोसम्म बिक्री हुँदै आएको किसान कार्कीले बताए।

तर्बुजाका लागि गर्मी मौसम उपयुक्त मानिन्छ। समथर भूभाग, नदी, खोलाकिनारको बलौटे माटोमा यो खेती राम्रो हुन्छ। यो खेती कम समयमा हुने बाली हो। गर्मी मौसममा राम्रो खेती हुने यो बाली पोखराको मौसममा पनि निकै राम्रो उत्पादन भइरहेको छ। यो बालीको बिउ उम्रनका लागि २२ देखि २५ डिग्री सेल्सियस तापक्रम उच्च मानिन्छ। कार्कीले समुद्री सतहदेखि करिब ७ सय ५० मिटरको उचाइस्थित फुस्रे खोलाको बगरमा तर्बुजा खेती गरेका छन्।

उनले २० रोपनी जग्गा वर्षमा दुई लाख रुपैयाँ तिर्ने गरी भाडामा जग्गा लिएर तरकारी, फलफूल र माछापालन गर्दै आएका छन्। बाँकी केही जमिनमा उनको भाञ्जाले कुखुरा पालेका छन्। सिजनअनुसारका तरकारी पनि उनले उत्पादन गर्छन्। ग्रास कार्प माछा उनको फर्ममा छ। असिनापानी र बाढीले नबिगारेको वर्ष राम्रो आम्दानी हुने उनले सुनाए। धेरै पानी पर्ने, असिना पनि उस्तै पर्ने भएकोले बाली नोक्सानी हुनु नेपाली किसानका साझा समस्या भएको उनले बताए। कृषि पेसामा मेहनतअनुसार मूल्य नपाइने गरेको उनले सुनाए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु