Information is intelligence
HomeEducationनेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार

नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार

- Advertisement -spot_img

दाङ – नेपाल संस्कृत विश्वविद्यालयले नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारेको छ । स्नातक तहको प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारी विषयगत समितिमा पठाइएको विश्वविद्यालयले जनाएको छ ।

विषयगत समितिबाट स्वीकृत गरि पाठ्यक्रम चिकित्सा सेवा आयोगमा पठाइने र आयोगले स्वीकृति दिए लगत्तै पठनपाठन शुरु गरिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले जानकारी दिए । उपकुलपति लामिछानेका अनुसार आयुर्वेद स्नातक तहसमेत अध्ययन गराइरहेको विश्वविद्यालयका लागि प्राकृतिक चिकित्सा तथा योग विज्ञान अध्यापनका लागि जनशक्ति व्यवस्थापनमा समस्या हुने छैन ।

विश्वविद्यालयले पाठ्यक्रम अध्यापनका लागि भौतिक पूर्वाधार निर्माणको काम अघि बढाएको छ । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुसार दश करोडको लागतमा बेलझुण्डीमा भवन निर्माण गरिने छ । आयुर्वेद अध्ययन संस्थान अन्तर्गत नै कक्षा सञ्चालन गरिनेछ । विश्वविद्यालयले वैदिक कृषि र वास्तु इन्जिनियरिङको पाठ्यक्रम तयार पार्न थालेको छ ।

विश्वविद्यालयका तत्कालीन उपकुलपति शिवहरी मरहठ्ठा को कार्यकालमा तयार पारिएको वैदिक कृषि पाठ्यक्रमलाई विस्तृत रुप दिई तयार पार्न थालिएको हो । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुसार वैदिक कृषि पाठ्यक्रम तयार पारी आगामी वर्षदेखि नै कार्यान्वयनमा ल्याइने भएको छ । पठनपाठनका लागि तत्काल बिजौरीमा रहेको भौतिक पूर्वाधार प्रयोग गर्ने र बेलझुण्डीमा भौतिक पूर्वाधार निर्माणको कामलाई अघि बढाइने अधिकारीले जानकारी दिए ।

त्यसैगरी वास्तु इन्जिनियरिङको पाठ्यक्रम नास्टका पूर्व उपकुलपति जीवराज पोखरेलको संयोजकत्वमा तयार पार्न थालिएको छ । वैदिक कृषि र वास्तु इन्जिनियरिङको पाठ्यक्रम तयार पारी आउँदो विश्वविद्यालयको प्राज्ञिक परिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ ।

त्यसैगरी संस्कृततर्फ शास्त्री तहको चार वर्षे पाठ्यक्रम तयार पार्न शुरु गरिएको छ । शास्त्री प्रथम तहको कार्यान्वयनमा आएको छ भने अन्य तहको पाठ्यक्रम तयार भइरहेको कुलसचिव अधिकारीले जानकारी दिए। विश्वविद्यालयले निषेधाज्ञाका कारण प्राध्यापकहरु बीच भर्चुअल विधिबाटै छलफल गरि पाठ्यक्रम तयार पारिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु