Information is intelligence
HomeLiteratureच्यावादी हजुरबा!

च्यावादी हजुरबा!

- Advertisement -spot_img

हजुरबा हाम्रो घरमा वि.पि कोइरालाजस्तो हुनुहुन्थ्यो । बा अहिलेका नेताजस्तो भैजानु भो ।म कार्यकताजस्तो छु । घर देशजस्तो छ ।भाँडभैलो छ ।

हजुरलाई लाग्न सक्छ- झ्याक्ने! कांग्रेस रहेछ।तर त्यस्तो हैन । म कम निष्ठ हुँ । मलाई राजनीतिमा कुनै निष्ठा छैन ।

हिन्, च्या खान जाम् – भन्छ राजु । मेरो उहाँसँग लामो समयबाट गृहयुद्ध चलिरहेछ।हुन त गृहयुद्ध हैन,ऊ घरवाली हुन युद्ध नै गर्दिनँ मसँग।गर्दथी भनें म आफ्नो सरकार आफै ढलाइदिन्थें।सरकार सुम्पन तयार थें।ऊ वार्तामा आउनै चाहन्ने। आतंककारी हमला भैरहन्छ । तर ऊ आतंककारीभन्दा नि खतरनाक छे । हमला गर्छे तर हमलाको जिम्मा लिन्ने ।

प्रिये,
तिमीभन्दा त बोको हरामका कार्यकता नै ठिक ! कम्तिमा हमलाको जिम्मा त लिन्छन् ।

जाडो छ । घामले आफूलाई तातो बनाउन एक बिहान लगाउँछ । अल्छी घाम अलिक अबेर गरेर उठ्छ अचेल । हुस्सुको ब्लाङ्केट ओढेर डाँडामाथि आइपुग्छ। आँखा मिच्छ । कचेरा फाल्छ । आङ तान्छ । हाइ काढ्छ । उसलाई पनि त जाडो हुँदो हो । बिचरा ! घाम! मसँग पुरानो सिरक छ । डल्लाडल्ला परेको छ उसको छाती । पुरानो सिरक घामलाई दिऊँ पनि लाग्छ ।तर म दिन्न ।

त,
राजुले चिया खान जाम् भनेको छ ।
म भन्छु- छोड्दे यार ! जाडो छ।मुटु चिसो हुन्छ बाहिर निस्किँदा !
ऊ भन्छ- च्याको पैसा म तिर्छु । मुटु चिसो नबनाइहाल् ।
फिस्स हाँस्छु म ।

आङमा स्वेटर टाँस्छु । धोती मिलाउँदै खाटबाट निस्किन्छु र चियाका लागि तयार हुन्छु ।

प्यारो स्वेटर थियोे मेरो । कुन्नि कता हरायो ।स्वेटरसँग कस्तो मीठो सम्झना छ मेरो । हराएको धेरै दिनसम्म म पिरमा परें । लेखिहालूँ क्यारे है !

कुनै बिहान उहाँ सोध्नुहुन्छ – तिम्रो फेवरेट कलर कुन हो ?
मलाई फेवरेटसेवरेट केही थाहा थिएन । भनें- जुन देख्यो त्यही मन पर्छ ।
फेरि भन्नुहुन्छ- भन न कुन कलर मन पर्छ ?
मैले भन्छु- भनिसकें त । जून देख्यो त्यही मन पर्छ,घाम देख्यो त्यही मन पर्छ ।
फेरि सोध्छु म- हजुरलाई कुन कलर मन पर्छ ?

कलेजी कलर !

कलेजी कलर कस्तो हुन्छ ?

तिम्रो स्वेटरजस्तो ।

म आङको स्वेटर हेर्छु।मलाई कलेजी कलर थाहा हुन्छ।साच्चिकै जिन्दगीमा एकथान मायालु हुने हो भनें धेरै कुरा थाहा हुँदो रहेछ।
उहाँ फेरि भन्नुहुन्छ – आजबाट तिम्रो फेवरेट कलर नि कलेजी है!
मलाई मेरो फेवरेट कलर कलेजी हो भन्ने पनि थाहा हुन्छ ।
म ङिच्च परेको इमो पठाउँछु।मेरो फेवरेट कलर घोषणा हुन्छ।त्यही दिनबाट त्यो स्वेटर खुब मन पर्छ मलाई।

कलेजी कलर मन पर्छ भन्नेले कलेजीमा ठाउँ पाइसकेकी हुन्छे।तर अचानक एकदिन स्वेटर हराउँछ।मेरो कलेजी कलरको स्वेटर हराउनु,मेरो कलेजीमा बसेकी मान्छे हराउनु अनि मेरो कलेजी नै हराउनु एकैपटक जस्तो हुन्छ।

फेरि पछि कुनै दिन कलेजी कलर मन पर्ने मान्छे भेटिन्छे।मेरो कलेजी पनि भेटिन्छ अलिक पुरानो भएर।तर मेरो कलेजी कलरको स्वेटर भेटिन्न!
प्रिय स्वेटर, आई मिस यु। कलेजीमा बस्नेलाई जस्तो,कलेजीमा बस्नेले जस्तो झुठ बोल्दिन म तिमीसँग । प्यारी स्वेटर ,साच्चिकै मिस यु । सत्य !

लुकाउनै पर्यो च्यातिएको मन लगायो हिंड्यो ।
अरु के सकियो र ?कमिजका बटन लगायो हिंड्यो।

तिमीले दिएको गलबन्दी देखे मुटु चिसो हुन्छ,
आमाले उनिदिएका स्वेटर छन् लगायो हिंड्यो।

म खासमा चियाको विकासवाद बारे केही लेख्छु भनिरहेछु । तर दिमागभरि मायालु भरिएर म उता जान सकिरहेको छैन । म अब जान्छुफ।शुभयात्रा भनिदिनुस् त । ट्राभलिङ टु चियावाद ।

सोध्नुहोला- चियावाद कहाँ पर्छ ? भनेर ।
ठाउँ चाहिएको हो भने चियावाद जिन्दावादभन्दा अलिक उता र धन्यवादभन्दा अलिक अगाडि पर्छ।

दिनभर कसैको पछि लागेर जिन्दावाद भनिसकेपछि चियावाद आउँछ र अन्त्यमा धन्यवादमा पुगेर सकिन्छ यात्रा ।

चियासँग मेरो लगाव बारे म केही भन्छु अब ।सुन्नुस् । भो पर्दैन नसुन्नुस् । तर पढ्नुस् ल ।ङिच्च! म हाँसिरहेछु यति बेला ।

भनिसकें हजुरबा विपि जस्तै हुनुहुन्थ्यो । जसरी कांग्रेसले विपिको नाम बेच्छ । उसै गरेर मैले चिया पसलमा हजुरबाको नाम बेच्छु । साउनी चिया बेच्छिन् । हामी हरेक कुरा बेचिरहेका हुन्छौं। यहाँ जे पनि बिक्छ ।मरेका मान्छेका कपडादेखि ज्युँदा मान्छेका अस्मितासम्म बिक्छ। बेच्न जान्नु पर्छ । आँसु बिक्छ सस्तोमा । म बेच्छु ।प्रेम कहानी बिक्छ । म बेच्छु । तर बेचिरहंदा आफूले किनेको चीज पुरानो भैसक्दो रहेछ । चिसो भैसक्दो रहेछ । एकछिन ल । मेरो चिया चिसो भो ।

हजुरबा बितेको बर्ष दिन पूरा भो अस्ति दशैं ताका । बाल्यकालमा खास प्यारो मान्छे हैन म । हुन त अचेल पनि खासै प्यारोमा पर्दिनँ । खैर!

दौरा सुरवालमाथि सेतो मैलो खाष्टो ओढेर खाटमाथि बसेका हजुरबा सम्झिन्छु म । अचेल पनि आकाशमा हेर्दा बादलको खास्टो ओढेर बसिरहेको आकाश हजुरबा जस्तै लाग्छ मलाई । हजुरबा तगालोबाट भित्र पसेपछि मेरो सातो जान्थ्यो । चकचक गर्दा कयौं पटक जिम्मालको घरमाथिसम्म हजुरबाले लखेटेको याद छ मलाई ।म बाटोमै चप्पल छोडेर भाग्थें । फर्किंदा चप्पल खोज्नको हैरान!

म अचानक गुरुकुलमा पढ्न गएँ। अनि त घर जाँदा हजुरबाको उधुम प्यारो नातिमा परें।तर भाइ जति प्यारो भने हैन।गुरुकुल फर्किंदा खुसुक्क पैसा दिनुहुन्थ्यो! म खुसी भैजान्थें । बाक्लो खुसी हुन्थें । बिहान अबेरसम्म हजुरबा गीता पाठ गर्नुहुन्थ्यो मृगको छालामाथि बसेर ।
आँखा कम देख्न थालेपछि अलिक ठूलो अक्षर भएको गीता किनेर लगिदिएँ । यहीँ हो नाति भएर किन्न सकेको हजुरबाको नाममा। अब पनि खासै ठूलो लक्ष्य छैन ,आफ्नै पैसाले बालाई एक प्याकेट देउराली चुरोट किनदिन सक्ने हुनु छ । खै !

तर हजुरबाले मेरा लागि एउटा परिचय नै किनिदिनु भएको रहेछ । कतै जाँदा मान्छेहरू सोध्ने गर्छन् – कसको छोरो होस् ?
भन्न त मन लाग्छ हजुरबाको नाति हुँ ।
फेरि उनैसँग प्रश्न गर्न मन लाग्छ – कसको नाति होस् भनेर किन सोध्नुहुन्न ?
बाको नाम भन्छु- फलानोको छोरो हुँ । चिने पो । फेरि भन्छु – अग्निधरको नाति हुँ ।

ए हो र! खुब रसिला छन् बा । फलानाको छोरो हुँ भन्दा ए भन्दा अरु केही शब्द बोल्दैनन्।तर जब अग्निधरको नाति हुँ भन्छु त्यस पछि थप दशपन्ध्र ओटा प्रश्न बढी सोधिन्छन् ममा, केही समय लम्बिन्छ वार्तालाप । लाग्छ यी प्रश्न मेरा बलबुताले पाएको हैन हजुरबाका प्रश्न हुन्।अनि मलाई हम्मेहम्मे पर्छ हजुरबाको साख जोगाउन।

कसैले- तँ को होस् ? भनेर प्रश्न गर्दा म उसको नाति हुँ भनेर उत्तर दिंदा कसैले चिन्छ भनें यो भन्दा ठूलो कुरा के हुन सक्छ।मलाई मेरो परिचय पनि हजुरबाले बनाइदिनु भएको रहेछ। म नाति जसले एउटा गीताको पौस्तक – हजुरबा पुस्तकलाई पौस्तक भन्नुहुन्थ्यो – बाहेक केही किनिदिन सकिनँ।

काँसको कचौरामा अगाडि चिया राखेर खाटमा बस्नुभएको हजुरबा सम्झिन्छु पहिले जब म चिया देख्छु ,भेट्छु, खान्छु कतै ।

म सानै हुँदा गाउँ डुलेर जब हजुरबा आउनुहुन्थ्यो, छोइछिटा गरिदिनुपर्थ्यो।पानी छर्किदिनु पर्थ्यो। गाउँमा सबै हजुरबाहरू कांग्रेस थिए तर हजुरबा हुनुहुन्थेन कांग्रेस। सुचिकार, ताम्राकार सबैसँग छोइने हुनाले कांग्रेसीहरू हजुरबालाई खास मान्दैनथे।जो साना मान्छे थिए उनीहरू सबैले हजुरबालाई मान्थे।तर पनि हजुरबा बिपिजस्तै हुनुहुन्थ्यो ।

उहाँ कांग्रेसी हुनुहुन्थेन, कम्युनिस्टप्रति उहाँको कम निष्ठा थियो । माओवाद त हजुरबाका निम्ति चल्ला थियो । उहाँको निष्ठा केवल चियामा थियो।खुब पिउनुहुन्थ्यो चिया । त्यसैले उहाँ चियावादी हुनुहुन्थ्यो ।

गाउँ डुलेर आएपछि ढोकानिरको भित्तामा घंङ्गेरीको लौरो अड्याएर दाइने खुट्टाले देब्रे खुट्टाको जुत्ता फुकाल्दै भन्नुहुन्थ्यो – बुढी च्या! बना त ।
हजुरमा बनाउनुहुन्थ्यो चिया । कहिले भन्नुहुन्थ्यो – सधैं यस्तै मीठो च्या! बनाउने गर् न बुढी !
कहिले भन्नुहुन्थ्यो – लाटीको मोइजस्तो च्या बनाछे।खा आफै, खान्न म ।

एकदिन यस्तै समयमा पिंढीको एकछेउमा बस्नु भएकी आमाले भन्नुहुन्छ – “ससुराले काँ चाख्नु भैच लाटीको मोइल?”
मलाई लाग्यो अब चियाको कचौरा झटारो आउँछ आमामाथि । तर त्यस्तो भएन । फिस्स हाँस्नु भो हजुर बा । त्यसपछि कहिल्यै भन्नुभएन हजुरामालाई – “लाटीको मोइजस्तो च्या बनाछे ।खा आफै, खान्न म ।”

मैले जान्दा हाम्रो घरमा घोडा थियो । रातो मौलो रङको घोडा । घाँटीमा एउटा सानो घन्टी थियो ।पुच्छर मङ्गोलियन हरफको कविताजस्तो सिल्की थियो । पुच्छर हल्लाइरहन्थ्यो । कहिल्यै नहल्लिएको देखिन मैले पुच्छर ! आमा भन्नुहुन्थ्यो – घोडा कहिल्यै बस्दैन।बस्यो भनें अलक्छिन हुन्च ।

चौरमा चर्न जाँदा नि कहिल्यै बसेको देखिन मैले।पल्टिएर ढाँड कन्याउथ्यो चौरमा । तर गाई गोरुजस्तो बसेको कहिल्यै देखिन ।
म सोध्थें – राति पनि सुत्दैन आमा घोडा ?
आमा भन्नुहुन्थ्यो – नाइँ, सुत्दैन ।
म राति सुत्नुअघि सु गर्न आमासँग निक्लिदा हेर्थें।घोडा उभिएकै हुन्थ्यो।बिहान म उठ्दा पनि घोडा उभिएकै हुन्थ्यो।

हाम्रो घरमा दुहुनो भैंसी थिएन । बाहिरबाट ल्याएको दूधले पुराउनु पर्थ्यो।खानामा पनि दूध थोरै पाइन्थ्यो । दूधका निम्ति म बिरालोजस्तै थिएँ।दूध नभए भातै नखाने ।

एकदिन साँझ हजुरबाले अर्को घोडा लिएर आउनु भो। घोडा सेतो थियोे ।पहिलेको भन्दा अझै ठूलो। बिहान जाँदा त हजुरबाले हाम्रो घोडा लिएर जानू भएको थियोे । घोडा हजुरबा जस्तै थियोे – सेतो । उसको पुच्छर मजस्तै थियोे – चकचके ।

हजुरबा घोडाबाट ओर्लेपछि नजिकै पुगेर सोधें मैले – हजुल बा ! हजुल बा! यल्ले दुत दिन्च ?

मेरो कुरा सुनेपछि घोडाको लगाम छोडेर मेरो टाउकोमा हातले मुसार्नु भो । म दौराको फेंद समातेर हजुरबाको मुखमा हेरिरहें ।

अर्को दिन बिहानै घोडा चढेर निस्किनु भएको हजुरबा साँझ भैंसी लिएर आउनु भो । अगाडि अगाडि चार जना मान्छेले भैंसी लिएर आएका थिए । साथमा सानो पाडी पनि थियोे । भैंसी पछाडि फर्किदै पाडीलाई हेर्दै अगाडि बढ्दै हाम्रो लगालोबाट भित्र पस्यो । पछिपछि हिंड्दै हजुरबा पनि आउनु भो । मैले फेरि हजुरबा आगनमा पुगेपछि दौराको फेंद समातेर सोधें – हजुल बा! हजुल बा! घोला खै ?
हजुरबाले केही उत्तर दिनु भएन ।

साँझबाट घरमा दूध प्रसस्त भो ।मैले चाहेजति दूध खान पाउनथाले । तर त्यसदिनपछि हजुरबा कहिल्यै घोडा चढेको मैले देखिनँ ।


अघिल्लो दशैंमा हजुरबा नराम्रोसँग बिरामी पर्नु भो । द्वादशीको दिन साँझ हजुरबालाई तुलसी मठमा सारे । मैले हजुर बाको मृत्यु सहज होस् भनेर गीता पढ्न थालें सिराननिर बसेर । म गीता पाठ गर्दै सोह्रौं अध्यायमा पुगिसकेको थिएँ । आमाले भन्नू भो – हजुरबालाई पानी ख्वा !
मैले ख्वाएँ पानी । हजुरबाले घुटुक्क निल्नु भो।त्यसपछि अरुले ख्वाएको पानी निल्नु भएन हजुरबाले। म गीताको श्लोक पढिरहेको थिएँ ,अल्मल्लिरहेको थिएँ , पढेछु – सर्वस्य चायं हृदिसन्निविष्टो !

तर त्यहाँ रहेछ – सर्वस्य चाहं हृदिसन्निविष्टो ।

हजुरबा,
हो हजुर सबैको हृदयमा नै बस्नुभएको छ ।

(मैले चियाको विकासवाद बारे केही भन्छु भनेको थिएँ माथि । तर म त अन्त गैगएछु । अर्को लेखमा श्रीकृष्णले अर्जुनलाई गीता सुनाइरहँदा अन्तिम चिया ब्रेकमा चियाको प्रशंसा गरेको कुरा लेख्ने वाचाका साथ विदा हुन्छु ,नमस्कार । हजुरको दिन शुभ रहोस्।जय श्री राधे ।)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु