Information is intelligence
HomeNewsकालीगण्डकीमा गेग्रान थुप्रिँदा तटीय क्षेत्रमा जोखिम

कालीगण्डकीमा गेग्रान थुप्रिँदा तटीय क्षेत्रमा जोखिम

- Advertisement -spot_img

म्याग्दी — मुस्ताङमा कालीगण्डकी नदीमा गिट्टी, बालुवा थुपि्रँदै गएपछि बाढीले तटीय क्षेत्रमा जोखिम बढाएको छ । बर्सेनि जमिन कटान गर्दै लगेपछि नदी किनारमा बगरको आकार बढिरहेको छ ।


बाढी र कटानले उर्वर भूमि र बस्तीलाई जोखिममा पारेको छ । समथर फराकिलो भएर बग्ने नदीको गति कम भएपछि थुप्रिएको गेग्रान बगाउन नसक्ने र बर्सेनि झन् थुप्रिँदै जाने गरेको छ । ‘नदी डिग्रेडिङ (बगाउने) र एग्रेडिङ (थुपार्ने) गरी दुई प्रकारका हुन्छन्,’ खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय मुस्ताङका प्रमुख झलकमोहन ओझाले भने, ‘मुस्ताङमा कालीगण्डकी एग्रेडिङ छ । गिट्टी, बालुवाको पहाडबाट हिमाली ठाडो खोलाले अधिक मात्रामा डेब्रिज बगाएर ल्याएको हुन्छ । जसलाई बगाएर लैजान नसकेपछि थुप्रिने गरेको छ ।’

जलवायु परिवर्तनका कारण छायावृष्टि हुने मुस्ताङमा बढ्दै गएको वर्षाको मात्राले गिट्टी, बालुवाको पहाड झनै स्खलित भइरहेको उनले बताए । ‘मुस्ताङमा अहिले कालीगण्डकीको सतह बढिरहेकाले आउँदा दिनमा झनै बढ्ने जोखिम छ,’ उनले भने । जलवायुसँग अनुकूलन हुन हिउँ, हिमाल, हिमाली खोला र नदीसमेतको एकीकृत संरक्षण योजना आवश्यक रहेको ओझाले बताए ।

तलबाट मुस्ताङ प्रवेश गर्दा दाहिनेतर्फ नीलगिरि साउथ र नर्थ तथा देब्रेतर्फ धौलागिरि र टुक्चे हिमालबाट लेते, सेते, घट्टे, लाइक्यु, थापा, चिमाङ, बोक्सी, तम, टुक्चे, मार्फा, स्याङ, लुप्रा, ठिनी, पाण्डा, झोङ, नरसिङ, साङ्तालगायत ठाडा खोला कालीगण्डकीमा मिसिन्छन् । हिमालमा सधैं हिउँ पर्दैन । मनसुनमा हिमालमा पानी पर्छ । पानी परेपछि हिउँका ढिक्कासहित पग्लेर बलौटे पहाडबाट पहिरो बनाई गेग्रान लिएर बग्ने गरेको छ । ‘जोमसोमको मुक्तिनाथ बसपार्कनजिक कालीगण्डकीमा तटबन्ध बनाउन फाउन्डेसन खन्दा साढे २ मिटर तल ग्याभिन भेटियो । यसरी कालीगण्डकीमा सतहमाथि चढ्दै गएको छ,’ स्थानीय नीरज थकालीले भने, ‘हालै लुप्रा, ठिनी र मार्फा खोलामा आएको बाढी हिमालमा वर्षा भएप्छि ग्लेसियर पग्लेर भएको थियो । यसले नदीमा गेग्रानको थुप्रो बढिरहेको छ ।’

कालीगण्डकी किनारका थासाङ गाउँपालिकाको टुक्चे, कोवाङ, चिवाङ, सौरु, घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ, जोमसोम, पुथाङसमेतका बस्ती र बाह्रगाउँ मुक्ति क्षेत्रको कागबेनी, छुक्छाङ क्षेत्रमा गिट्टी, बालुवा अत्यधिक जम्मा भएर सतह माथि उठेको हो । यसले पानी बस्तीमा पस्न थालेको छ ।

मुस्ताङको तल्लो भेगमा नदीको दुवै किनाराबाट हिमालहरू धेरै नजिक छन् । ‘यिनै हिमालबाट झर्ने खोलाले बर्सेनि ल्याउने डेब्रिज नदीमा आएर थुप्रिने गरेको र बस्ती डुबानमा पर्ने समस्या बढेको छ,’ विघटित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले भने, ‘संसद्मा कानुन बनाउँदा हिमाल, पहाड, तराई र चुरे क्षेत्रको फरक–फरक बनाऔं भन्ने प्रस्ताव गरें । करोडौं घनमिटर गिट्टी, बालुवा डिपोजिट भएर समस्या भएको छ, उत्खनन गर्ने संयन्त्र बनाउने प्रस्ताव गरे पनि सुनुवाइ भएन ।’ उनले तत्काल छुक्साङबाट तल लेतेसम्मै कालीगण्डकीमा डोजर लगाएर डेब्रिज साइड लगाई बीचमा नबगाए बस्ती जोगाउन मुस्किल हुने बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय