Information is intelligence
HomeNewsकटारीका ५ वडाको नगरपालिकाबाट अलग हुन माग

कटारीका ५ वडाको नगरपालिकाबाट अलग हुन माग

- Advertisement -spot_img

उदयपुर : कटारी नगरपालिकाका माथिल्लो क्षेत्रका ५ वटा वडाले नगरपालिकाबाट अलग गराई बेग्लै स्थानीय तह गठनको माग गरेका छन् ।

विकास निर्माणसँगै सेवा सुविधामा समेत असहज भएको भन्दै नगरपालिकाका ९, १०, ११, १३ र १४ वडालाई छुट्याएर गाउँपालिका गठनको माग गरिएको हो । भौगोलिक हिसाबले विकट भएकाले नगरपालिकाले सहजै सेवा दिन नसक्दा छुट्टै स्थानीय तहको माग गरिएको गाउँपालिका माग सहजीकरण समितिका संयोजक अम्बरबहादुर मगरले बताए ।

कटारी नगरपालिकामा १४ वडा छन् । ५ वटा वडाका स्थानीयले ‘गाउँपालिका माग सहजीकरण समिति’ गठन गरेका हुन् । नगरबाट वितरण गरिने सेवा सुविधा, भौगोलिक विकटता, दीर्घकालीन र स्थायी पूर्वाधारको अभावमा भएको सहजीकरण समितिले उल्लेख गरेको छ । समितिले नगरपालिकामा बुझाएको ज्ञापनपत्रमा दूरीको हिसाबले नगरपालिकाको माथिल्लो क्षेत्रका नगरवासीले सुविधालाई सहज रूपमा प्राप्त गर्न कठिन रहेको उल्लेख छ ।

माथिल्लो ५ वटा वडालाई छुट्टै गाउँपालिका निर्माण गर्दा करिब १ सय २५ दशमलव ७९ वर्गकिलोमिटर क्षेत्रफलमा झन्डै १८ हजार ५ सय ८६ जनसंख्यालाई सेवा सुविधाको सहजता हुने स्थानीय वासु घिमिरेले बताए । ‘माथिल्लो क्षेत्र छुटिँदा कटारी नगरपालिकालाई नगरपालिका रहिरहन कुनै असर गर्दैन,’ घिमिरेले भने, ‘गाउँपालिकाको निर्माणको मापदण्डको आधारमा भूगोल, जनसंख्या र भौतिक पूर्वाधार पनि ५ वटा वडाले पुग्छ ।’ संविधानको धारा २९५ को विभिन्न दफामा समेत छुट्टै हुन सक्ने उल्लेख भएकाले माग गरिएको उनले बताए ।

कटारी नगरपालिका पूर्वमा उदयपुरगढी र ताप्ली गाउँपालिका, पश्चिममा सिन्धुलीको दुधौली नगरपालिका र फिक्कल गाउँपालिका, उत्तरमा ओखलढुंगाको मानेभन्ज्याङ र खोटाङको हलेसी तुवाचा नगरपालिका र दक्षिणमा सिरहाको मिर्चैया, गोलबजार, कर्जन्हा नगरपालिकाभित्र कटारी नगरपालिका अवस्थित छ । यस नगरपालिकाभित्र तल्लो क्षेत्रका १ सय ११ देखि माथिल्लो क्षेत्रमा १ सय ४ मिटरको उचाइमा ४ सय २४ दशमलव ९ वर्ग किलोमिटर क्षेत्रमा बसोबास गर्ने कुल जनसंख्या ५६ हजार १ सय ४६ रहेको छ । नगरपालिकाका ५ वटा वडाले छुट्टै स्थानीय तहको माग गर्दै ज्ञापनपत्र बुझाएको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

मासेबुङले वडा विभाजनको सिफारिस गर्ने इलाम– ठूलो भूगोल र धेरै जनसंख्या भएका कारण सेवा प्रवाहमा समस्या भएकाले इलामको मासेबुङ गाउँपालिकाको एउटा वडा विभाजन गर्न गाउँसभाले प्रस्ताव पारित गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ३ लाई विभाजन गरेर थप दुईवटा वडा बनाइने प्रस्ताव नवौं गाउँसभाले पारित गरिएको हो । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोका अनुसार गाउँसभाले सर्वसम्मत रूपमा वडा विभाजनसम्बन्धी प्रस्ताव पारित गर्दै प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउने निर्णय गरेको हो । प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले वडा विभाजनको निर्णय गर्नेछ ।

३४ दशमलव १५ वर्ग किलोमिटर क्षेत्रफल रहेको वडा नम्बर ३ को जनसंख्या २०६८ को जनगणनाअनुसार ४ हजार १ सय १३ छ । गाउँसभाको निर्णयलाई संघीय सरकारले स्वीकृत गरे माङसेबुङमा वडाको संख्या ७ पुग्नेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६ मा वडाको संख्या र सिमाना हेरफेर गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ ।

यसअघि वडा विभाजनका लागि स्थानीयको राय संकलन गर्दै सुझाव पेस गर्न वडा ३ का अध्यक्ष मइतबहादुर राईको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिको सुझावबमोजिम वडा विभाजनको प्रस्ताव गाउँसभामा पेस गरिएको हो । यस्तै इलाम नगरपालिकाको ९ नं. वडा र सूर्योदय नगरपालिकाको १ नं. वडा विभाजनको पनि प्रक्रिया थालेका छन् ।

जिल्लाका १० वटै तहले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट पेस गरेका छन् । अधिकांश पालिकाहरूले कोभिड–१९ का कारण बजेट निर्माणमा समस्या भएको जनाएका छन् । आन्तरिक राजस्व संकलनमा परेको प्रभावले कतिपय कार्यक्रम कटौती गर्नुपरेको पालिकाहरूको भनाइ छ । अघिल्लो वर्ष पनि कोभिड–१९ को प्रभावले समस्या भएको बताउँदै यस पटक पनि उत्तिकै असर परेको उनीहरूले बताए । विकटका गाउँपालिकाहरूमा आन्तरिक राजस्व संकलन नै न्यून हुने गरेकाले समस्या भएको माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले बताइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु