Information is intelligence
HomeEducationसिन्धुलीमा वैकल्पिक केन्द्र बनाएर पठनपाठन

सिन्धुलीमा वैकल्पिक केन्द्र बनाएर पठनपाठन

- Advertisement -spot_img

सिन्धुली — कमलामाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीवासले विद्यार्थीलाई पायक पर्ने चार स्थानमा वैकल्पिक केन्द्र स्थापना गरी सिकाइ सहजीकरण थालेको छ । कोरोना संक्रमणका कारण तत्काल भौतिक उपस्थितिमा पठनपाठन सम्भव नभएपछि सिकाइ केन्द्र स्थापना गरी सहजीकरण सुरु गरिएको विद्यालयले जनाएको छ ।


विद्यालय क्षेत्रभित्रका क्लब भवन, सामुदायिक वन उपभोक्ता समूह, महिला भवनलाई सहजीकरण केन्द्र बनाइएको छ । विद्यालयको सेवा क्षेत्र रानीवास, रुचानी, मडाहा र बयरवनमा सिकाइ केन्द्र स्थापना गरी स्वास्थ्य मापदण्ड पालना गर्न लगाएर विद्यार्थीको भौतिक उपस्थितिमै दैनिक चार घण्टा सिकाइ सहजीकरण गरिएको विद्यालयका प्रधानाध्यापक अरुणकुमार थिङले जानकारी दिए । ‘सरकारले असार १ बाट नयाँ शैक्षिक सत्रको वैकल्पिक माध्यमबाट भर्ना र पढाइ सुरु गर्न गरेको सूचनाका आधारमा केन्द्र स्थापना गरी सिकाइ सहजीकरण गरेका छौं,’ उनले भने ।

दैनिक १२ जना शिक्षकले कक्षा १ देखि ८ सम्मका करिब तीन सय बालबालिकालाई सहजीकरण गर्दै आएको उनले बताए । ‘हाललाई असार २० सम्म यसरी वैकल्पिक विधिबाट सहजीकरण गरिनेछ । त्यसपछिको अवस्थालाई मूल्यांकन गरी पढाइलाई निरन्तरता दिइनेछ,’ उनले भने । वैकल्पिक केन्द्रमा एकपटकमा २० देखि २५ जनासम्म विद्यार्थी उपस्थित हुने भएकाले दूरी मापन गरी बस्ने व्यवस्था मिलाएको शिक्षक पुजन बख्रेलले बताए । कोरोना संक्रमणको शंकास्पद लक्षण भएका शिक्षक तथा विद्यार्थीलाई नआउन भनिएको उनले सुनाए ।

नयाँ पुस्तकसँगै गृहकार्य :

घ्याङलेखको मावि मरिण हायुटारले नयाँ पुस्तकसँगै विद्यार्थीलाई कक्षाकोठामै राखेर दुई साताका लागि गृहकार्य दिन थालेको छ । प्रधानाध्यापक विजयकुमार थिङका अनुसार विद्यालयमा दैनिक एउटा कक्षामात्र सञ्चालन गरिएको छ । ‘गृहकार्य सिट वितरण, नयाँ पुस्तक, छात्रावृत्ति र सिकाइ सहजीकरण गरिएको छ,’ उनले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेका छौं, विद्यालयलाई दैनिकजसो सेनिटाइज गरिएको छ ।’ शिक्षकहरू खोप नपाएसम्म विद्यालय आउनै डराइरहेकाले तत्काल व्यवस्था गर्न सरकारसँग उनले माग गरे । गाउँपालिकाका सबैजसो विद्यालयले सरकारले उपलब्ध गराएका पुस्तक वितरणसँगै पायक पर्ने स्थानमा विद्यार्थी जम्मा गरेर पढाइलाई निरन्तरता दिएको उनको भनाइ छ ।

फिक्कल गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीको उपस्थिति अनुपातका आधारमा सिकाइ सहजीकरण गरिएको छ । वैकल्पिक माध्यमबाट पढाइसँग जोड्न सबैतिर अनुरोध गरिएको जिल्ला समन्वय समितिका संयोजक शंकर बर्मा तिवारीले जनाए । ‘वर्षायाममा उसै पनि विद्यार्थीहरूको विद्यालयमा उपस्थिति कम हुने भएकाले स्वास्थ्य मापदण्ड अपनाएर पढाउँदा केही बिग्रँदैन,’ उनले भने, ‘यतिखेर सबै खेतीपातीमा जुट्ने भएकाले विद्यालय बिदाको समय हो, कोरोना कहरले धेरै बन्द भएकाले मिलाएर खोल्नुपर्छ ।’ जिल्लाका नौ वटै स्थानीय तहमा विद्यालय खोल्ने तयारी भए पनि कोरोना संक्रमणको त्रास कायमै छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु