Information is intelligence
HomeBusinessपार्की समुदायको पेसा संकटमा

पार्की समुदायको पेसा संकटमा

- Advertisement -spot_img

बझाङ : पुस्तौंदेखि निगालाका सामान बनाएर जीविका चलाइरहेका बझाङको थलारा गाउँपालिकाका पार्की समुदायको पेसा संकटमा परेको छ । निकुञ्जले निगालो काट्न प्रतिबन्ध लगाएपछि खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा पर्ने थलारा–५ दुवाली गाउँका पार्कीहरूको परम्परागत पेसा संकटमा परेको हो ।

दुवालीमा ३० परिवार पार्की थरका मानिसको बसोबास छ । दलित समुदायअन्तर्गत पर्ने यो समुदायका मानिसहरूको खेतीपाती गर्ने जग्गा जमिन छैन । निगालाका डोको, सुप्पा (नाङ्लो), रोटी राख्ने छाप्रा (टोकरी), भकारी, पाथीजस्ता सामानहरू बुन्ने र त्यही बेचेर जीवन निर्बाह गर्ने यो समुदायको पेसा निगालाकै अभावमा बन्द हुने अवस्थामा पुगेको हो । ‘खेतीपाती गरिखाऊँ भने जग्गा जमिन छैन । निगालाका सामान बनाउने सीप थियो, निकुञ्जले चाहिएको बेला निगाला काट्न दिँदैन । अन्त निगालो पाइँदैन,’ स्थानीय प्रभते पार्कीले भने, ‘जिजुबाजेका पालादेखि गर्दै आएको काम गर्न नपाएपछि गाउँका मानिसलाई बिहान बेलुकाको छाक जुटाउन गाह्रो भइरहेको छ ।’

उनले खप्तड राष्ट्रिय निकुञ्जले वर्षमा एक पटकमात्रै निगालो काट्नका लागि अनुमति दिने गरेको बताउँदै एकपटक काटेको निगालोले वर्षभरि सामान बनाउन अपुग हुने बताए । ‘एकपटक काटेको निगालो १५/२० दिनसम्म चल्छ । त्योभन्दा बढी राख्यो भने चोया निकाल्नै नमिल्ने गरी सुक्छ । हामी वर्षभरि नै खाली हात बस्नुपर्छ ।’

पार्की समुदायले बुनेका निगालोका सामान गाउँघरमै खपत हुने गरेको र माग पनि पर्याप्त रहेको छ । एउटा डोको ४ सय, नाङ्लो ६ सय, अन्न राख्ने भकारी साइज हेरेर १ हजार देखि ५ हजारसम्म गाउँघरमै बिक्री हुने स्थानीय बताउँछन् । गाउँका १० वर्षदेखि माथि उमेरका सबैजसो मानिससँग निगालोको सामान बनाउने सीप भए पनि निगालो नपाउँदा बेरोजगार हुनुपरेको उनीहरूको गुनासो छ । ‘निगालो भयो भने घरमै बसेर दिनकै हजार/पन्ध्र सय कमाउनुहुन्थ्यो । घरपरिवारको पनि हेरचाह हुन्थ्यो,’ कच्चा पर्दाथको अभावमा पुर्ख्यौली पेसालाई निरन्तरता दिन नसकेर आफ्नो श्रीमान् भारतमा मजदुरी गर्न गएको बताउँदै गुरुदेवी पार्कीले भनिन्, ‘निगालो काट्न बन्द गरेपछि अहिले इन्डियाको मजदुरी गर्नुपरेको छ । सीप त्यसै खेर गएको छ ।’

निगालो अभावका कारण पुर्ख्यौली पेसा विस्थापन भएपछि एकल महिला, वृद्ध र असहाय घरमूली भएका परिवारहरूले गाउँमा मागेर गुजारा गर्नुपरिरहेको अर्का स्थानीय गणेश पार्कीले बताए । एक वर्षभित्र नकाट्दा जंगलमा रहेको निगालो पनि सुकेर खेर जाने भएकाले व्यवस्थित तरिकाले काट्नका लागि अनुमति दिनुपर्ने उनको भनाइ छ । ‘एक वर्षभित्र काटेन भने निगालो पनि फुलेर सुक्छ । उता जंगलमा निगालो त्यसै खेर गइरहेको छ । यता हातमा सीप हुँदाहुँदै हामीहरूले मागेर खानुपरिरहेको छ,’ गणेशले भने, ‘बरु कस्तो निगालो काट्ने, कुन ठाउँ भनेर निकुञ्जका कर्मचारीको निगरानीमा चाहिएको बेला निगालो काट्ने व्यवस्था गरिदियो भने हाम्रो पुर्ख्यौली पेसा संकटमा पर्ने थिएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय