Information is intelligence
HomeLiteratureरोपाइँको महिना

रोपाइँको महिना

- Advertisement -spot_img

आकाशले एकतमासले गण्डकी बर्साइरहेको थियो।

ढुवाटे खोलो उर्लिँदै र कुर्लिँदै दौडिँदै थियो; म्याराथनमा दौडिरहेको धावकजस्तै।

खोल्साहरू पनि बैँसले उन्मत्त देखिन्थे; नदीलाई भेट्न छाङ हाल्दै दगुर्दै थिए। वैशाख-जेठको खडेरीका रोलरले कुल्चिएका रूखहरू पनि हाँस्दै थिएँ यतिबेला, हरियो मुस्कान छर्दै।

खेतका गराहरू पनि बर्खे भलमा चुर्लुम्मै डुबेका थिए। रोपाइँको चटारो थियो। एक साता भएको थियो, म हली बनेको। गाउँघरमा अर्मपर्म गर्दै रोपाइँ गर्ने परम्परा छ। आज रोपाइँ गर्ने पालो हाम्रामा छ।

म बिहानै उठेँ। खेततिर पानीको मेसो मिलाउन झरेँ। आमाले कान्लामा घाँस काट्दै हुनुहुन्थ्यो।

“थाकेर लोत परेका छौ। एकै छिन सुतेको भए पनि हुन्थ्यो। पानीको मेसो म मिलाइहाल्थेँ।” आमाले घाँसको पाँजो डोकामा हाल्दै ममता पोख्नुभयो।

मनमनै सोचेँ, “आमाको मन…………।”

“आमा! आज हलि म मात्रै हुँ ?” गोरीबाट बग्दै गरेको पानी थुन्दै भनेँ।

“जोदाखरे आज एक हलले नै भ्याइन्छ कर! घर चैँ पर्सि दुई हल बनाम्ला।” आमाले डोकामा घाँस खाँद्दै भन्नुभयो।

“अनि खेताली (रोपारा) को को आउने हुन् आमा आज ?” खले गरातिर कुलो सोझ्याउँदै आमालाई सोधेँ।

मुसाले खनेर प्वाल पारेका दुला पुरेँ।

“दर्शन-ढुङ्गे साइँला बाकी छोरी सुकीर्ति पनि आउने हुन् आज। कति छिटो रोप्छिन्। बिउ काड्न पनि उस्तै! उनलाई छिटै आउन भनिछु बिउ काड्न। कति जाती छिन् है उनी त!” आमाले घाँसको डोको बोक्दै भन्नुभयो।

सुकीर्ति आउने भएपछि मेरा त हड्डीसमेत खुसी भए। आजको रोपाइँ स्वर्णिम हुने भयो; म मख्ख परेँ।

……………

खाना खाएर म गोरु चराउँदै थिएँ।

सिमसिम झरी बत्किरहेको थियो। उनी छिटो आउलिन्, बिउ काड्न ब्याडतिर जालिन्, यस्तै सोचेर म पनि ब्याडको आलीमा थचक्क बसेँ।

घडी हेरेँ। सवा नौ हुन थालेको थियो। उनी आउने बाटातिर आँखा बिछ्याएँ तर देखिइनन्। सोचेँ, एकै छिनमा आउलिन्।

झन्डै दश मिनेटपछि उनी झुल्किइन्। उनका साथमा डोको थियो। रोपाइँको दिन पनि चिटिक्कै परेर आएकी; कुर्ता सुरुवाल लगाएर!

“खेत रोप्न आएकी हौ कि राम हेर्न जान?” उनी ब्याडसम्म आइनपुग्दै जिस्क्याइहालेँ। उनलाई जिस्क्याउन साह्रै रमाइलो हुन्थ्यो।

“डोको बोकेर राम हेर्न जान्छन् र बुद्धु ?” उनले अविलम्ब प्रतिप्रश्न तेर्स्याइन्, डोको ब्याडको कुनामा ठड्याउँदै।

सिमसिम पानी कति भाग्यमानी रहेछ, जसले उनको शरीरको अङ्ग अङ्ग चुमेको थियो।

कुर्ता-सुरुवाल भिजेर लुछ्रुक्कै भएको थियो। उनले कुर्ता तानेर तिघ्रानेर पुर्‍याइन्।

जसै कुर्ता माथि तानिन्, तिघ्रा रातै देखियो। जुको ढाडिएर हात्ती जत्रै बनेको थियो।

“आमा! जुको!” उनी चिच्याइन्।

“हाहा! जुकासँग पनि डराउने तिमी त बिचरी !” जिस्क्याउन ढिलो गरिनँ।

“छिटो फाल्दिनू न।” उनी आँखा चिम्म गर्दै भनिन्।

उनको नजिकै गएँ। जुको थुतेर पर हुर्र्याइदिएँ।

जुकाले बिचरीको पवित्र रगत चुस्नुसम्म चुसेर ढाडिएको थियो। जुकाले खाएका ठाउँबाट बाक्लो रगत बग्न थाल्यो।

कम्मरमा बाँधेको पटुको च्यातेँ। रगत बगिरहेको ठाउँमा बाँधिदिएँ।

“नडराऊ सुकी! जुको फाल्दिसकेँ। अब बिउ काड्न लाग।” मायालु पाराले ‘सुकी’ भन्थेँ। उनी मख्खै पर्थिन्।

उनी मुस्कानका सिमसिम बाछिटा छोड्दै बिउ काड्न बसिन्।

………

मैले गोरु नारेँ। तीन सिया गतिलरी जोत्न पाएको थिइनँ, गुरे गोरुले सोइला भाँच्यो। घुर्चुलको सोइला बनाएर फेरि जोत्न लागेँ।

सुरुमै ठुला गरामा जोत्न लागेको थिएँ। जोतेर सिध्याएँ। आली लगाउने ठिँयारे (बाउसे) हरूले पनि आफ्नो काम सिध्याए।

अब खोक लगाउने बेला भयो। उनीसहित आमाहरूले ब्याडमा बिउ काड्दै हुनुहुन्थ्यो।

मलाई खोक लगाउने बेला गोरु दगुराउन खुब मज्जा लाग्थ्यो।

बर गोरु थिए, पुच्छर समाइदियो कि एक सय बिसका गतिमा दौडिन थाल्दथे।

त्यसैमाथि खेतालीहरूलाई हिलाले छ्याप्न कम्ता मज्जा आउन्नथ्यो; त्यो पनि लाटै मेसाले।

मलाई भने उनलाई हिलाले छ्याप्न मन थियो।

आमाहरू बिउका मुठा डोकामा राख्दै हुनुहुन्थ्यो।

म भने खोकमा चढेर गोरु दगुराएँ। हिलो जति जम्मै उनको शरीरमा टाँस्सिन गयो।

उनी रिसले चुर भइन्। राती न पिरी भइन्। रुन मात्रै सकिनन्। म भने नदेखेझैँ गरी आफ्नै धन्दामा लागेँ।

खोकले गरो सम्माएर भ्याएँ। गोरू अर्को गरामा लगेँ। मेलो बनाउन पल्तिरका माल्दाइ उकाल्लागे।

“खुब राम्री भएर आउन परेको! खुच्चिङ !” उनलाई झन् जिस्क्याउन थालेँ।

उनले त मतिर मुन्टोसम्म फर्काइनन्। सोचेँ, आज जून घोप्टिएको हुनुपर्छ। म पनि कस्तो खराब मान्छे ! बेदाग ‘जून’मा हिलो छ्याप्ने चेष्टा गरेछु।

“रोपेर भ्याएसी पौडी खेल्न जाम्ला ! क्यार्न रिसाएकी छौ र ?”

उनलाई फुर्काउन थालेँ तर उनी फुर्किनन्।

त्यसपछि म आफ्नो सुर गर्न लागेँ।

……

अन्तिम गरो जोत्दै थिएँ,

दाहिने खुट्टामा चसक्क केही बिझेको भान भयो।

हलामा ब्रेक लगाएँ।

हिलाबाट फुत्त खुट्टो झिकेर हेरेँ। मकैका बुटीले खुट्टो बेस्सरी काटेको रहेछ। आलीमा गएँ। थचक्क बसेँ। अड्किएको बुटी थुतेँ। बुटी धार थियो! रगत बगिरहेको थियो तर कसैलाई केही भनिनँ।

त्यसबेला त्यहाँ आमा हुनुहुन्नथ्यो । खै कता जानुभएछ।

“बाबु! के भयो ?” उपल्ला गरामा रोप्दै गरेकी भाउजूले चियाउँदै भन्नुभयो।

“केही होइन भाउजू! बुटीले कोतारेको मात्रै हो।” भाउजूलाई ढाँट्दै भनेँ।

मेरो एक आखर सुन्नासाथ उनले मतिर पुर्लुक्क हेरिन्।

मैले खुट्टो सुम्सुम्याएको देखेर मतिरै आइन्। बिउको मुठी हिलामा हुर्र्‍याइन्।

“बुटीले त्यतिका काटेको रहेछ। खुपै ढाँट्नी है!”

मेरा खुट्टातिर सङ्केत गर्दै भनिन्,”ल्याउनुस् म टालो बान्दिन्छु।” उनले आफ्नो चुन्नी च्यातिन् र मायालु पाराले काटेको खुट्टामा बाँधिदिइन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु