Information is intelligence
HomeNewsचुरेमा एसियाली हात्ती

चुरेमा एसियाली हात्ती

- Advertisement -spot_img

गुलरिया : तराईको उखरमाउलो गर्मी छल्न भारतबाट एसियाली हात्तीहरू झुन्डका झुन्ड नेपाल आएका छन्। भारतको दुधवा नेसनल पार्क तथा कर्तनियाघाट वाइल्ड लाइफ सेन्चुरीका बासस्थानहरूमा बस्दै आएका जंगली हात्तीहरू बर्दियाको मधुवन नगरपालिकामा अवस्थित खाताजैविक मार्ग हुँदै बर्दिया राष्ट्रिय निकुञ्जभित्रको चुरे क्षेत्रमा आइपुगेका हुन्।

चुरे पहाडको फेद हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली र बबईको शीतल नदी तटीय क्षेत्र, प्रशस्त आहारा र सुरक्षित बासस्थानका कारण हात्तीको कैयौ झुन्ड निकुञ्जमा प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। यतिखेर बर्दियामा हात्तीको संख्यामा बढोत्तरी भएको छ। पोथी हात्तीले नेतृत्व गर्दै भाले हात्तीको सुरक्षामा तीन/चार वटा झुन्ड बर्दिया भित्रिएको छ।

‘पहिलो पटक ४०/५० वटा हात्तीको समूह नेपाल प्रवेश गर्‍यो ’, उनले भने, ‘लगत्तै केही दिनको अन्तरालमा १५÷२० वटा हात्तीको दुईवटा समूह जैविकमार्ग डल्ला हुँदै निकुञ्ज प्रवेश गरेको हो।’ करिब ८० वटा प्रवासी एसियाली हात्तीहरू नेपाल प्रवेश गरेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा ४० वटा रैथाने हात्ती बस्दै आएका छन्। हात्तीका झुन्ड थपिएसँगै बर्दियामा हाल जंगली हात्तीको संख्या करिब १ सय २० पुगेको छ। उनले भने, ‘यी हात्तीहरू फिरन्ते भएकाले केही समय भारतमा र केही समय नेपालमा बिताउँछन्।’

गर्मी छल्न नेपालमा आएका हात्तीहरू जाडो छल्न भारतीय जंगलमा पुग्छन्। यिनीहरूको बसाइ चार महिना नेपालमा हुन्छ। यस अवधिमा यिनीहरू चुरे क्षेत्रको बबई उपत्यकासम्म पुग्ने गर्छन्। अधिकृत श्रेष्ठले थपे, ‘यिनै हात्तीहरूलाई भारतमा हुँदा भारतले र नेपालमा रहँदा नेपालले आफ्नो संख्यामा गणना गर्छन्। समूहमा रहने हात्तीहरू प्रायः गाउँघरतिर पस्दैनन्। केही हात्तीहरू भड्किएको अवस्थामा गाउँघरतिर आउने गर्छन् र ती खतरनाक हुन्छन्। हामीले समुदायलाई हात्ती नेपाल प्रवेश गरेकाले सजग रहन अनुरोध गरेका छौं।’

सडक पूर्वाधारका कारण अम्रेनीदेखि चिसापानीसम्मको राजमार्ग क्षेत्र पार गर्दा उनीहरूलाई हम्मेहम्मे पर्छ। वन क्षेत्रको अतिक्रमणलगायत हात्ती हिँड्ने बाटोमा मानवबस्ती भएका कारण मानव र हात्तीबीच द्वन्द्व बढेको पाइन्छ। हात्तीबाट मानवीय तथा भौतिक क्षति हुन नदिन समुदाय स्तरमा ‘हात्ती मेरो साथी’ लगायतका चेतनात्मक कार्य गर्दै हात्तीको आनीबानीका बारेमा सचेत पार्दै आएको उनले प्रष्ट्याए।

मानव—हात्तीबीचको द्वन्द्वात्मक अवस्था हात्ती संरक्षणको प्रमुख चुनौती हो। हात्तीले समुदायमा मानवीय तथा भौतिक क्षति पुर्‍याउँदै आएको छ। मानिस हात्तीप्रति रुष्ट छन्। २०५५ सालदेखि हालसम्म हात्तीको आक्रमणमा परी ४२ जनाले ज्यान गुमाएको निकुञ्जको तथ्यांक छ। यसै वर्ष हात्ती आक्रमणमा आमाछोरीसहित ४ जनाको मृत्यु भएको छ।

हात्तीले बालीनाली नोक्सान गरेको आवेगमा समुदायले पनि करेन्ट लगाएर हात्ती मारेका छन्। मानव–हात्ती द्वन्द्व रोक्न निकुञ्जले जैविक बार, सोलार फेन्सिङ, आरसीसी वाललगायतका भौतिक संरचना निर्माण गरेको छ। निकुञ्जले हात्तीको बासस्थान सुधार गर्दै आहारा वृद्धिलाई प्राथमिकता दिँदै आएको छ। निकुञ्जले हात्तीबाट मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेको सम्पूर्ण उपचार गर्ने गरेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु