Information is intelligence
HomeNewsअसारे विकास : पिच गर्दागर्दै भत्कियो सडक

असारे विकास : पिच गर्दागर्दै भत्कियो सडक

- Advertisement -spot_img

सिन्धुली : असारे विकासको दुर्दशा दुधौली नगरपालिकाको वडा नम्बर १० देखि वडा नम्बर १३ को ठाकुरदमारसम्मको सडकमा देखिएको छ । असार लागेपछि पिच गरिएको सो सडक निरन्तरको वर्षाले भासिनुका साथै पिचसमेत भत्किएको छ ।

ग्रामीण कृषि सडकअन्तर्गत सो सडक डोलिडारको २५ करोड ८० लाख रुपैयाँ लगानीमा बन्दै थियो । पानी जमेपछि सडक भत्किएको स्थानीयले बताएका छन् ।

दुधौलीको लखिमादेखि ठाकुरदमारसम्मको कालोपत्रे सडकअन्तर्गत वडा नम्बर १३ को कामीटारमा सडकको कालोपत्रे सबै भत्किएको छ ।

यो सडक निर्माणको चरणमै रहेको थियो । १२.५ किलोमिटर निर्माण भइसकेको निर्माण कम्पनीले जनाएको छ । ५ सय मिटर सडक निर्माण र केही अन्य काम बाँकी रहेको थियो । सो सडक निर्माणको अवधि २०७८ पुस मसान्तसम्म रहेको निर्माण कम्पनीले जनाएको छ । १५ पुस २०७५ बाट निर्माण भइरहेको सो सडक हस्तान्तरण गर्न बाँकी नै रहेको थियो ।

सडक दुुई ठाउँमा भत्किएको छ । एक ठाउँमा ७० मिटर र अर्को ठाउँमा २ सय ९० मिटर सडक धुजाधुजा भएर भत्किएको छ । कामीटारमा रहेको खोल्सीको होम पाइप पहिरोले थुनिएपछि सडकमाथि बाढी आउँदा सडक भत्किएको निर्माण व्यवसायी छेत्रबहादुर बम्जनले बताए । यद्यपि, स्थानीयले भने सो सडक कमजोर निर्माण र असारे विकासको प्रभावले भत्किएको आरोप लगाएका छन् । उनीहरूले सडक भासिएको र चिराचिरा परेको बताएका छन् ।

एकतर्फी निर्माण भएको दुई महिना नबित्दै कालोपत्रे भत्किएको छ । ग्रामीण पूर्वाधार सडकको निर्माणको काम कोरियन कम्पनी ईसीआई र कन्काई जेभिले गरिरहेको थियो । सडक भत्किएमा वा बिग्रिएमा तीन वर्षसम्म कम्पनीले बनाउनेगरी सम्झौता भएको निर्माण व्यवसायी बम्जनले बताएका छन् ।

सो सडक नालीको भागबाहेक ४.५० मिटर चौडाइ कालोपत्रे भएको थियो भने स्पान कंक्रिट ३ सेन्टिमिटर पिच गरिएको थियो । निर्माणका क्रममा पनि सडकको कालोपत्रे पातलो भएको भन्दै स्थानीयले विरोध गरेका थिए ।
यसैबीच डोलिटारले सो निर्माण कम्पनीसँग तीनवटा सडकको निर्माणको संयुक्त सम्झौता गरेको थियो । काठमाडौंदेखि भक्तपुरसम्मको सडक, दुधौलीकै झँुगा हर्षाही सडक र लखिमा ठाकुरदमार सडक निर्माणको सम्झौता भएको थियो । ती सडकका लागि डोलिडारले ८० करोडको ठेक्का सम्झौता गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु