Information is intelligence
HomeOpinionमाध्यमिक तहसम्म नैतिक शिक्षा : आजको आवश्यकता

माध्यमिक तहसम्म नैतिक शिक्षा : आजको आवश्यकता

- Advertisement -spot_img

नियम-आचरणसँग सम्बन्ध राख्ने नैतिक शब्दले नियममा बाँधिएको वा नियमप्रति प्रतिबद्ध भन्ने अर्थ लाग्छ। व्यावहारिक हिसाबले पनि आफ्नो मर्यादामा रहने नीति-निपुण व्यक्ति नैतिक कहलिन्छ। भलादमी, इमान-जमान भएको, कर्तव्य-अकर्तव्यको ज्ञान भएको भन्ने अर्थले नैतिक शब्दको मर्मलाई प्रष्ट पार्न सक्छ।

सबैमा नैतिक गुण अनिवार्य हुनुपर्छ। आजको यस बसाइमा भने विद्यालयका र विद्यालयीय जीवन व्यतीत गरिरहेका नानी-बाबुहरूको सन्दर्भमा नीतिका कुरा गरिनेछ। हाम्रो यस थलो गुरुकुलीन शिक्षापद्धतिमा आधारित रहेर विद्या-बुद्धि सिक्ने थलोका रूपमा परिचित थियो । गुरुकै आवासमा जाने, सकेको काम सघाएर पढ्ने चलन अहिले पनि कहीँ कतै व्यवहारमा छँदैछ। पूर्वीय दर्शनहरूमा पनि सबैभन्दा पवित्र कर्मका रूपमा विद्यादानलाई अर्थ्याइने गरेको छ । अनेक तपद्वारा प्राप्त हुने विद्यालाई ‘विद्याधनं सर्वधनं प्रधानम्’ भनेर सर्वोत्कृष्ट धनका रूपमा हेरिएको छ।

समयको बदलावसँगै गुरु-शिष्यका परम्परा र व्यवहारमा परिवर्तन आएको छ। राज-घरानियाँमा सीमित रहेको शिक्षा सर्वसाधारणसम्म आइपुगेको धेरै भएको छैन। चन्द्रशमशेरको शासनपछि खुला बनेको हाम्रो शिक्षा नीति हालसम्म आइपुग्दा निकै दरिलो बनेको छ। शिक्षाका क्षेत्रमा सरकारले ७७/७८ बजेटमा राम्रै लगानी गर्नेछ। विश्वविद्यालयहरू एक दर्जन बढी छन्। सामुदायिक, निजि र परम्परागत रूपमा सञ्चालित नेपालको शिक्षा क्षेत्रले उत्पादन गर्ने दक्ष जनशक्तिहरूमा देखिएको नैतिक र बौद्धिक कमजोरीका विषय भने जगजाहेर छ ।

नैतिक शिक्षा भन्नासाथ दोस्रो जनआन्दोलन ६२-६३ अघि विद्यालय तहमा पढाइने संस्कृत भाषा र तिनका कोमल ज्ञानका बारेमा स्मरण गर्नुपर्ने हुन्छ। संस्कृत भाषाका सुभाषित पद्य र जनचेतनाका अनेक किस्साहरूले परिपूर्ण त्यो पाठ्यक्रम बुर्जुवा शिक्षाको नाममा हटाइयो। अझ माओवादी सत्तामा आएपछि त संस्कृत विद्यालयहरूमा आगजनी र तोडफोड तथा संस्कृत पढाउनेहरूको टुप्पीसम्म काटियो । खास त्यो बुर्जुवा शिक्षाले बिगारेको के थियो? जवाफ दिने हैसियत माओवादीसँग आज पनि छैन ।

द्वन्द्वकालपछि संस्कृत शिक्षा बन्द गरिए पनि मलाई कक्षा आठसम्म पढ्नुपर्ने ‘नैतिक शिक्षा’ नामक पाठ्यपुस्तकमा गुरुलाई ईश्वरसँग, जन्मभूमि र जननीलाई स्वर्गसँग तुलना गरिएका सुललित पद्यहरू अझै याद छन् । अहिले पनि सामुदायिक विद्यालयमा पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ६,७ र ८ सम्म नैतिक शिक्षा ५० पूर्णाङ्क पढाइ हुन्छ। तिनमा भएका विषयवस्तुको चुरो कुरो राज्यप्रति बफादार हुने, समयमा कर तिर्ने, लोकतन्त्रका पक्षमा नकारात्मक धारणा नराख्नेबाहेकका पाठ्यवस्तु समावेश छैनन्।

सरकारी पाठ्यक्रम पढाउने सामुदायिक विद्यालयले नैतिक शिक्षा दिइरहे पनि गुणात्मक रूपमा कम छ। निजि विद्यालयले पनि कक्षा ८ सम्म मोरल एजुकेसन पढाइरहेको छ तर त्यो नैतिक शिक्षा हो भन्ने भेउ विद्यार्थीले पाउँदैनन्। शिक्षाको गुणस्तर खस्कँदो मात्रामा रहेको पुष्टि यहीँबाट पनि हुन्छ।

अहिलेका बालबालिकामा कर्तव्य-अकर्तव्यको ज्ञान, स्वाभिमान र सदाचार, राजनीतिक चेत कम हुँदै गएको छ। शहरमुखी शिक्षा नीतिले घरका ससाना काम पनि बालश्रममा गनिन थालेको छ। आफ्नो सरसफाइ आफैँ गर्नु, सामान्य पाककलाका काममा परिवारसँग सरिक हुनु, कृषि कर्मबारे सीप हासिल गर्नु बालश्रम होइन। अभिनेत्री दीपाश्री निरौलाले केही दिनअघि बालबालिकालाई आफ्ना घरका काम गर्नबाट वञ्चित नगरौँ भन्ने तर्क सञ्जालमार्फत राखेकी थिइन्। उनले कोही बालबालिका नहुर्काएको तर्क गरानेहरूले उनलाई उडाए। खासमा हामी बालबालिकालाई घरका कामबाट आराम दिएर नैतिक जिम्मेवारीबाट वञ्चित गरिरहेका छौँ।

विद्यालयीय तहमा पढाइने नैतिक शिक्षा कम्तीमा १२ कक्षासम्म पाउनुपर्ने आवश्यकता किशोर-किशोरीहरू दुर्व्यसन, हिंसा र मानसिक तनावको सिकारमा पर्ने गरेका घटनाले पुष्टि गर्छ। हामीले शिक्षा भनेको भोक चिन्नुलाई भन्न थाल्यौँ, जसबाट प्राविधिक र नाफामुखी पेशा हासिल गर्न दबाव दिइरहेका छौँ।

गाउँमा घाँस-दाउरा गरेर शिक्षा आर्जन गरेका बालबालिकाका तुलनामा शहरका बालबालिकामा जिम्मेवारी र कर्तव्य कम देख्न सकिन्छ। दूध दिने डेरी र मासु फल्ने रूखका प्रसङ्गबाट यस कुरा छर्लङ्ग हुन्छ। गाई भैँसीले दूध दिन्छ, खसीबोकाको मासु हुन्छ भन्ने पत्याउनका लागि उसले त्यो देखेको वा भोगेको हुनुपर्छ।

उकाली ओराली र पाखाभित्ता दौडिएका बालबालिकाका सुगठित र परिश्रमले भरिएको शरीरका अघि तेक्वान्दो खेल्ने बालबालिका पनि रोगप्रति लड्न सक्दैनन्। शहरका पिज्जा-बर्गर र कोदो फापरका बाबरका तुलना गर्नु नै व्यर्थ छ।

तीन कक्षा मात्र पढेका मेरा बा’का अक्षरसँग कुनै स्नातकोत्तर अक्षरले भेट्दैनन्। वहाँले लेख्ने गाउँ-घरका तमसुक – साक्षी प्रमाणका बेहोरा मेरो पढाइभन्दा माथि छन्। घरैबाट भिडियो-संवाद गर्ने मेरा तर्कका अघि बा’का चिठीपत्रका शिलशिला परिपक्व छन्। उहिलेको शिक्षामा भलै प्राविधिक शिक्षा र पहुँच कम थियो तर परिपक्व विद्या थियो। जीवन सिकाइन्थ्यो।

आफूले कक्षा १ मा पढ्दा खरर स्वस्थानी कथा सुनाएको सम्झँदै एस ईई दिन ठीक्क परेका विद्यार्थीलाई लाठी लगाएर म नेपाली पढ्न सिकाइरहेको छु। शिक्षा जीवनयापनकै माध्यम मात्र हो भने कहिल्यै औपचारिक शिक्षा नलिने पशुपक्षी कसरी पेट भर्छन्? आफ्ना मोजादखि चम्चासम्म माझ्न नजान्ने बालबालिकाले लिएको शिक्षा कुन अर्थमा सही छ?

प्रविधिमैत्री विश्वले प्रक्षेपणदेखि प्रहारसम्म सहज बनाइसक्यो। हजारौँ माइलको दूरी एकाध घण्टामै पुग्ने राजमार्गदेखि अर्को ग्रहमा वस्तीसम्म बसाइसक्यो। तर मानवीय धर्म, सदाचार, सुदृढ मित्रता र विश्वबन्धुत्वको धारणा बदलिँदै गएको छ। मोबाइल-ल्यापटपमा झुकिरहने हाम्रा बालबालिका मान्यजनप्रति कहिले झुक्छन्? सुख-सुविधाको भोकमा विदेशिएका मनहरू कहिले राष्ट्र-उन्नतिमा सामेल हुन्छन्? पचासौँ वर्ष पहिले भोकमरीमा नेपालले मह्लम लगाएको कोरिया अहिले सीप परिक्षण गरेर हाम्रा जवान कामदारहरू भेडा चराउन सशर्त लगिरहेको छ। हाम्रा पाखा-टारीमा पाखुरी बजाएर कहिले विदेशीहरूलाई रोजगारीमा बोलाउँला? मनको लड्डु घ्यूसँग खानुबाहेक हामीमा कुनै तर्क छैन।

विदेशी शक्तिका सामु झुक्ने, भ्रष्टाचार, अनियमितता र दण्डहीनताका मार्गमा दौडिरहेको राज्य संयन्त्रलाई खबरदार आजका पब्जी-पुस्ताले गर्लान्? यस सबालको सटीक उत्तर नै नैतिक शिक्षाको आवश्यकता हो। राजस्व कसैले हरण गरे प्रत्यवाय लाग्छ। अर्थात् करछली, राजश्व चुहावट अपराध हो, यो कानुनी रूपमै पनि लागू छ। तर कानुनी तराजुको ढक कसैको मुठ्ठीमा छ।

नैतिक रूपमा हामी उदाङ्ग भइसक्यौँ। हाम्रा बालबालिका र भावी पुस्ता अझ नाङ्गिदै गइरहेका छन्। राज्य तहले यसको लेखाजोखा गर्ला नगर्ला नागरिक तहबाट हामीले गर्नुपर्ने देखिन्छ। हरेक बालबालिकाका अभिभावकले आफ्ना बालबालिकालाई पढाउने शिक्षालय, घरायसी वातावरण र राज्य संयन्त्रको अपरिपक्वतालाई चिनेर नैतिक रूपमा सफल बनाउने कोशिस गर्नुपर्छ। होइन भने होस्टलमा बोडस बसेर पढेका हाम्रा नानीहरू डोकामा राखेर हामीलाई नै जङ्गल कटाउने खालका हुनेछन्।

प्रसङ्गमा उठिसकेको माध्यमिक तहसम्म हामीले नैतिक शिक्षा पढाए घाटा कहाँ र कस्लाई हुन्छ? हाम्रा चेलीहरू बलात्कारबाट जोगिनेछन्। सामान्य घरायसी विवादमा कसैले झुण्डिएर मर्नुपर्दैन। दाइजोका नाममा चेलीहरू जल्दैनन्। छुवाछुतका नाममा नागरिकहरू अनागरिक भएर बाँच्न पर्दैन। सरकारसँग प्रतिप्रश्न गर्ने हिम्मत हामी सबैमा पलाएर आउँछ। प्रेमिकासँग संवाद गरेको नाममा कसैले साथीको गला रेट्दैन। हाम्रो गौरवलाई भविष्यका कर्णधारहरूले गर्व गर्ने वातावरण सिर्जना हुन्छ। तर हामी पेट भर्नका निम्ति निम्न स्तरको नैतिक खाडल खनिरहेका छौँ। कुन दिन कोलम्बसहरूले पत्ता लगाएको खाडीमा भासिएर उतै निस्सासिएका हुनेछौँ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु