Information is intelligence
HomeAgricultureजंगली हात्तीद्वारा अन्नबाली नष्ट

जंगली हात्तीद्वारा अन्नबाली नष्ट

- Advertisement -spot_img

सर्लाही — सर्लाहीको चुरे क्षेत्रमा देखिएका जंगली हात्तीले किसानको बालीनाली खाएर नष्ट पार्न थालेको छ । लामो समय भइसक्दा पनि हात्ती नियन्त्रणमा आउन नसक्दा यसको क्षति किसानले व्यहोर्नु परिरहेको हो ।

आइतबार बिहानमात्र तीन वटा जंगली हात्तीले लालबन्दी–१६ परवानिपुर भोर्लेनीमा झन्डै एक बिघामा पाकेको मकै खाएर नष्ट गरेको छ । हात्तीले स्थानीय मनिराम नेपाली, मानबहादुर विक, रेखा थापा र रुद्रबहादुर पुलामीको मकै नष्ट गरेको हो । ‘बिहानै अँध्यारोमा तीन वटा हात्तीको समूहले करिब एक बिघाको मकै खाएर नष्ट गरेको छ, उज्यालो भइसकेपछि फेरि जंगल नै पस्यो,’ स्थानीय दीपक शंकर साहले भने, ‘मकै भित्र्याउने बेलामा हात्तीले खाइदिँदा किसान मर्कामा परेका छन् ।’

साहका अनुसार हात्तीको समूहले यहाँको किराँत मन्दिरको पर्खालसमेत भत्काएको छ । यस्तै बिजुलीको तार र पोलमा पनि क्षति पुर्‍याएको साहले जानकारी दिए ।

जिल्लाको उत्तरी क्षेत्रमा दुई महिनाभन्दा बढी समयदेखि देखापरेको हात्तीको समूहले यसअघि पनि पटक–पटक किसानको बाली खाएर नष्ट गर्दै आएका छन् । हात्तीको समूहले लालबन्दी, हरिवन र ईश्वरपुर आसपासका क्षेत्रमा किसानले लगाएको बालीमा क्षति पुर्‍याउँदै आएको किसानहरूको गुनासो छ । यसरी जंगली हात्ती पटक–पटक बस्ती तथा खेतबारीमा आउँदा स्थानीय भने त्रसित छन् ।

सामान्यतया जंगलमा रहने हात्ती बेलाबेला बस्ती तथा किसानको खेतबारीमा पसेर अन्न खाने तथा नष्ट गर्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन प्रमुख माधव देवका अनुसार हात्तीले क्षति पुर्‍याएका किसानलाई क्षतिपूर्ति दिइने छ । वन प्रमुख देवले जंगली हात्ती बस्ती अथवा खेतबारीमा आउँदा नजिस्काइदिन पनि आग्रह गरे । उनले जिस्काउँदा हात्ती आवेगमा आएर ज्यान पनि लिन सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु