Information is intelligence
HomePoliticsआयोगले ल्यायो निर्वाचन कार्यतालिका

आयोगले ल्यायो निर्वाचन कार्यतालिका

- Advertisement -spot_img

काठमाडौँ : चुनाव हुने/नहुने विषयमा सर्वोच्च अदालतले फैसला सुनाउनै लागेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चमा बहस सकिएकै दिन आयोगले कार्यतालिका ल्याएको हो ।

आयोग स्रोतका अनुसार निर्वाचनको तयारी भइरहेको सन्देश दिन कार्यतालिका ल्याइएको हो । कानुनले मतदान हुने दिनभन्दा अगाडिको १ सय २० दिनलाई निर्वाचन अवधि मानेको छ । सरकारले कात्तिक २६ मा पहिलो चरणको मतदान हुने घोषणा गरेकाले असार ३१ गतेबाट निर्वाचन अवधि सुरु हुँदै छ । निर्वाचन हुने/नहुने टुंगो लगाउने फैसला भने सर्वोच्च अदालतबाट त्यसअघि नै आउने अपेक्षा गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यतालिकालाई अदालतको मुद्दासँग जोडेर हेर्न नमिल्ने बताए । निर्वाचन अवधि प्रारम्भ हुने समय नजिकिएकाले निर्वाचनसम्बन्धी कुन काम कहिले गर्ने भनेर ‘क्यालेन्डर’ तयार गरिएको बताए । उनले भोलि अदालतको फैसला जे आउँछ त्यहीअनुसार नै हुने उल्लेख गर्दै अहिले आयोगले गर्नुपर्ने प्रारम्भिक काम मात्रै थालेको जनाए । ‘चुनावको मिति तोकिइसकेकाले आयोग तयारी अवस्थामा बस्नैपर्छ,’ उनले भने ।

आयोगले निर्वाचनको मिति घोषणादेखि मतगणना प्रारम्भ भएसम्मका लागि ६७ वटा क्रियाकलाप पहिचान गरेको छ । असार ३१ गतेदेखि मंसिर ३ भित्र गरिने कामको विवरण कार्यतालिकामा समेटिएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए । दोस्रो चरणको मतदान मंसिर ३ गते हुने भएकाले सोही राति दुवै चरणको मतगणना प्रारम्भ हुने आयोगको कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिकाअनुसार असार ३१ देखि साउन १५ गतेभित्र निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय तोकिएको छ । पहिलो चरणको निर्वाचनका लागि असोज २१ देखि २६ गतेभित्र उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन लगायतको काम हुनेछ । असोज २८ गतेदेखि कात्तिक २३ सम्म प्रचारप्रसारको अवधि तोकिएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गतेदेखि कात्तिक ५ गतेभित्र उम्मेदवारी दर्तालगायत निर्वाचन कार्यक्रम तोकिएको छ । मतदाताको अन्तिम नामावली भदौ २३ गते प्रकाशित गरिनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ २ देखि कात्तिक २ गतेको अवधिमा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु