Information is intelligence
HomeNewsसाढे १८ अर्ब विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर

साढे १८ अर्ब विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर

- Advertisement -spot_img

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा साढे १८ अर्ब रुपैयाँको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
चालु आर्थिक वर्ष २०७७-०७८ को हालसम्म राजस्व चुहावटको आरोपमा १८ अर्ब ४५ करोड बराबरको विगो दाबी गर्दै २३१ जनालाई प्रतिवादी बनाई ५८ मुद्दा दायर गरेको हो । दायर भएका मुद्दामध्ये करिब ८० प्रतिशत नक्कली भ्याटको रहेको जनाउँदै विभागले मुद्दा दायर गरिएकामध्ये ११ जना सरकारी कर्मचारी रहेको उल्लेख गरेको छ ।
विदेशबाट सामान आयात गर्दाको सवारी साधान र माल ट्रयाकिङ प्रणाली (भीसीटीएस), औद्योगिक उद्योगको गेटबाट सामानको आपूर्ति तथा व्यापारीबाट व्यापारी (बीटी) मा पठाउँदाको र विदेशी विनियम अपचलन तथा अवैध कारोबारको नियन्त्रणबारे गरेको ट्रयाकिङको आधारमा भएको राजस्व चुहावटको छानवीन गरी विभागले मुद्दा दायर गर्ने गरेको छ ।
२०७४ साल अघिसम्म अर्थ मन्त्रालयको मातहतमा रहेको विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ल्याइएको थियो । विभागका महानिर्देशक रामप्रसाद आचार्यले प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि काम अझै प्रभावकारी भएको र अनुसन्धानलाई तीव्रता दिइएको बताए । “पहिलाभन्दा विभागको काममा तीब्रता आएको छ, भीसीटीएसमा ५२ खर्ब ६४ अर्बको कारोबार आइसकेको छ, सबै आईसकेको छैन” उनले भने, “सबैलाई ल्याउन कोशिस गरिरहेका छौं, सबै ल्याएन सकिए नेपालको अर्थतन्त्रको परनिर्भरता अन्त्य हुन्छ, यसको लागि प्रयास जारी छ ।” उनका अनुसार, भीसीटीएसको निकासी पैठारीमा ९५ प्रतिशत, उद्योगबाट उत्पादित आपूर्ति गर्दा ९० प्रतिशत र बीटुबीबाट पठाउँदा ५० प्रतिशतलाई ट्रयाकिङ गर्न विभाग सफल भएको छ ।
विभागका उपमहानिर्देशक शिवलाल तिवारीका अनुसार आर्थिक वर्ष २०७६-०७७ मा १५ अर्ब १५ करोडको विगो रकम दाबीसहित ३२० जनाविरुद्ध ९७ मुद्दा दायर गरिएको छ भने आर्थिक वर्ष २०७५-०७६ मा ९ अर्ब ८३ करोड बराबरको विगो रकम दाबी ३०१ जनाविरुद्ध ९३ मुद्दा दायर गरेको छ ।
त्यसैगरी विदेशी विनियतर्फ चालु आर्थिक वर्षमा ४ अर्ब ८१ करोड बराबरको विगो दाबीसहित ३६ जनाविरुद्ध २१ मुद्दा, आर्थिक वर्ष २०७६-०७७ मा १ अर्ब २३ करोड बिगो दाबी गर्दै २३० जनाविरुद्ध १४७ मुद्दा तथा आर्थिक वर्ष २०७५-०७६ मा ४ अर्ब ६१ करोडको विगो दाबीसहित ९१ मुद्दा दायर भएको विभागले जनाएको छ ।
व्यापारी कारोबार व्यक्तिगत र मजदुरको नाममा हुनु, नियमन निकाय नहुन नसक्दा गैरकानुनी रुपमा आर्जन गरेको रकम केही सहकारीमा थुप्रिनु, डिजिटल कारोबारको ट्रयाकिङ प्रणाली पर्याप्त नहुनु, शैक्षिक परामर्श गर्ने संस्था, विदेशी कलेजसँगै नेपाल सरकारबाट अनुमति लिएका कलेज तथा म्यानपावर व्यवसायीले विदेशमै आर्थिक कारोबार गर्नुु जस्ता कारणले राजस्व चुहावट बढेको विभागले जनाएको छ । नेपालमा विदेशी कलेजबाट अनुमति लिएर यसरी सञ्चालन हुने कलेजको संख्या ८३ छ ।
विभागका अनुसार, घरजग्गामा कारोबार रकमभन्दा कम देखाएर राजस्व कम तिर्नु, मदिरा सुर्तीलगायतमा नक्कली स्टीकरको उपयोग हुनु, छिमेकी राष्ट्र भारतसँग रहेका १८८० खुल्ला र २२४ छोटी भन्सारबाट हुने तस्करीलाई न्यूनीकरण गर्न नसकिनु, मा तिर्नुपर्ने करको दर एकदम कम हुनु, सुनको अवैद्य कारोबार बढ्नु, ढुंगा, गिट्टी, बालुवा, इट्टा लगायतका निर्माण सामग्रीको कारोबार रकम र कर रकमबीच फरक हुनु लगायतका चुनौती राजस्वमा देखिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु