Information is intelligence
HomeNewsनारायणगढ–मुग्लिन सडक अस्तव्यस्त

नारायणगढ–मुग्लिन सडक अस्तव्यस्त

- Advertisement -spot_img

चितवन : संघीय राजधानी काठमाडौंको लाइफ लाइन मानिने नारायणगढ–मुग्लिन सडक पाँच दिनदेखि पहिरोले अस्तव्यस्त छ । नारायणगढदेखि २० किमि पर सेती दोभानमा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । प्राविधिकहरू अझै साता–दस दिन यस्तै रहने अनुमान गर्छन् । नारायणगढ र भरतपुरका सडकभरि काठमाडौं हिँडेका गाडीहरूको ताँती देखिन थालेको छ ।

सेती दोभानमा ढुंगासहितको पहिरो खसेपछि सोमबार मध्यरातिबाट नारायणगढ मुग्लिन सडक ठप्प भयो । मंगलबार दिउँसो चार बजेतिर पहिरो सफा भयो र दोहोरै गाडी चल्न थाले पनि जति बेला पनि बन्द हुने जोखिम छ । ‘कति बेला फेरि बन्द हुने हो भन्नै सकिन्न,’ भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । खनालसँग कुरा हुँदा सडक खुलेको एक घण्टा जति भएको थियो । ‘शुक्रबार साँझपख ठूलो पहिरो आयो । तत्काल सफा गर्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘शनिबारदेखि सफा गर्न सुरु भएर बेलाबेलामा गाडी चल्न थालेका छन् । तर कति बेला पहिरो आउँछ र बन्द हुन्छ ठेगानै छैन ।’

भोर्ले नजिक पर्ने सेती दोभानमा प्राविधिकहरूले यसरी पहिरो जाने कल्पना पनि गरेका थिएनन् । शुक्रबारपछि निरन्तर पहिरो गएको र अझै साता–दस दिन यसरी नै खस्न सक्ने खनालको अनुमान छ । यहाँ माटोको लेदोसँगै ठूला चट्टान खसिरहेको छ । पाखामा त्यस्ता चट्टान अझै अड्केर बसेका छन् । ‘केही समय या केही दिन गाडी रोकेर बग्दै गरेको माटो र अड्केका सबै चट्टान झार्न मिल्ने सम्भावना पनि छैन । त्यसैले आफ्नै गतिमा कहिलेसम्म सबै खसेर सकिन्छ भनेर कुर्नुपरेको छ ’ खनालले भने ।

पहिरो खसेको पाखाको बीचबाट पानीको मूल फुटेर दुई इन्च जति पानी आइरहेको छ । त्यसले गलाएको माटो र आडमा रहेको चट्टानहरू झर्न थालेको इन्जिनियर खनालले बताए । भिजेको माटो अझै १० मिटर उचाइ माथिबाट खस्न बाँकी रहेको उनले बताए । ‘माथि गएर हेर्दा कडाखाले चट्टानको सतह देखिएको छ । भिजेको माथिको र भित्रको सबै माटो र चट्टान झरेर सकिएपछि बल्ल पहिरोको दुःख नहोला,’ खनालले भने । पछिल्लो समय यो सडक खण्डमा यसरी निरन्तर पहिरो खसेको थिएन । नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपको दुई लेनको फराकिलो सडक बनाउन विस्तारको समयमा ठाउँ–ठाउँमा पहाड काटिएको थियो । त्यस्ता ३२ ठाउँमा ठूला पहिरो गएर दुःख दिएको थियो । तीमध्ये अधिकांश ठाउँमा पहिरो नियन्त्रणपछि समस्या बल्झिएको छैन । चारकिलो भन्ने ठाउँमा पुरानै समस्या छ । तर सेती दोभानमा विस्तारका बेला पहाड र पाखो ताछ्ने काम भएको थिएन । ‘अरू ठाउँमा पहिरो जाँदा सफा गरिन्थ्यो । उही पानी आए फेरि खस्थ्यो नभए यसरी चार–पाँच दिनसम्म ह्वारह्वार्ती आएर दुःख भने पाइएको थिएन,’ खनालले भने ।

सेती दोभानमा जहाँ पहिरो खसेको छ, त्यसको पाखामाथि इन्द्रमणि भुजेलले मकै छरेका थिए । उनले लगाएको मकै सबै पहिरोमा पर्‍यो । सात जना परिवार बस्ने घर पहिरोको सिधै माथि छ । घर कुन बेला खस्छ भन्ने डरले उनी छिमेकीको आश्रयमा सरेका छन् । ‘इन्द्रमणिले खेती गरेको २५ वर्ष जति भयो,’ इन्द्रमणिका छिमेकी तथा त्यहाँको गाईखुरे टोल विकास संस्थाका अध्यक्ष रोमबहादुर गुरुङले भने, ‘जग्गा त ऐलानी हो तर उनले खेती गरेका थिए । त्यो ठाउँमा यसरी पहिरो खसेको मलाई ख्याल नै थिएन । अहिले त इन्द्रमणिको बिजोग भयो । बाटो सत्यानाश भयो । साराले दुःख पाए ।’

गुरुङ त्यहाँ बस्न थालेको ३५ वर्ष भयो । पहिरोको यस्तो विकराल रूप यसअघि नदेखेको उनले बताए । सेती दोभानमा पहिरो जाँदा चारकिलो, पाँचकिलोमा पनि पहिरो गएको थियो । त्यो ठाउँमा अहिले ठूलो पहिरो खसेर गाडी ठप्प हुने समस्या भने नरहेको खनालले बताए । नारायणगढदेखि १४ किमि पर ठूलो ढुंगा खसेको थियो । त्यो चट्टान यति कडा छ कि ब्रेकरले निरन्तर फुटाउँदा पनि अहिलेसम्म आधा पनि नफुटेको खनालले बताए । सेती दोभानमा खस्ने चट्टान पनि ब्रेकरले नै फुटाउनुपर्ने खालका छन् ।

संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम क्षेत्रसँग जोड्ने भरपर्दो सडक योबाहेक अरू छैन । यो सडक हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी, यात्रु बस र मालवाहक ट्रकहरू गुड्छन् । पहिरोले अवरोध गरेपछि राजधानी हिँडेका मालवाहक ट्रक, इन्धन बोकेका ट्यांकर भरतपुरको केन्द्रीय बसपार्क, बाइपास सडक र नारायणगढको पोखरा बसपार्क, आँपटारी रामनगर क्षेत्रमा नै बस्न बाध्य भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु