Information is intelligence
HomeLiteratureअ इ उण्

अ इ उण्

- Advertisement -spot_img

…त्यसपछि बुढी औँलाले फेसबुकको पन्ना पल्टाइमाग्छु म । केही तस्वीरहरू छोटो समय देखिदै लोप हुँदै जान्छन् । एड फ्रेन्ड भन्दै एउटा प्रोफाइल देखिन्छ । म हेरिमाग्छु । कतै देखेको मान्छेजस्तो लाग्छ र हेरिरहन्छु । सायद हेरिरहन्छु र देखेको मान्छेजस्तो लाग्छ । क्रमश: धमिलोबाट तिख्खर हुँदै जान्छन् आँखामा केही घटनाहरू र दगुर्छन् । अनायासै म बोलेछु – ‘ऐच्! बे गरिसकिछ लौ !’

यसो यताउता फर्केर हेर्छु । कोठामा कोही छ कि भनेर । एक्लै रहेछु । ढुक्क हुन्छु आफ्नो आवाज कसैले नसुनेकोमा, फेरि आश्चार्यमा पर्छु आफ्नै आवाज सम्झेर,फोटोको निधारमाथि लामो रातो टीका देखेर । फेरि मलाई धेरै समय आश्चार्यमा परिरहन अल्छी लाग्छ ।

हो म कोठामा एक्लै रहेछु । मान्छे एक्लै भएपछि क्रमश: साहसिक हुँदै जाँदो रहेछ ।म कतिसम्म एक्लो छु भनें म चुक्कुल नलगाइकन ट्वाइलेट बस्न सक्छु । कोही आउँदैनन् भन्नेमा यतिसम्म विश्वास छ मलाई । साहसिकको दृष्टान्त अल्लि खल्लो भो है ! भए होस्, मलाई के ।

निधारमाथिको रातो धर्को लामो ताजा घाउजस्तो लाग्छ मलाई । कुन्नि किन उसको नाममा स्पर्श गर्छु म । प्रोफाइल खुल्छ ।कभरफोटोमा एकजोडा मान्छे छन् । केटा खासै राम्रो छैन अपेक्षाकृत । मैले बहुत धेरै अपेक्षा गरें क्यारे । केटी हाँसिराछे हृदयघातक हाँसो ।

कुनै फोटामा एक युवक र युवती छन् , र त्यो फोटो कुनै युवकले हेरिरहेछ भनें उसले सुरुमा युवतीलाई नै हेर्छ । तर त्यही फोटो बिहेको होस्, दुलाहा दुलही छन् , र युवकले हेरिरहेछ भनें उसले दुलाहालाई हेर्छ सुरुमा । यसको पनि कुनै मनोविज्ञान होला नि ।

‘हल्लो फ्रायड , तिम्रो नाममा मसँग धेरै प्रश्न जम्मा भएका छन् ।’

केही दृश्य तेजिलो हुँदै जान्छन् मेरा अगाडि । स्मृतिका पाना यसै पल्टिन्छन् , केवल छायाजस्तो बनेर । यस्तो छाँया जसमा छाँया हो भन्ने प्रमाण ज्योतिले मात्रै दिन सक्छे । गाढा अन्धकारमा तेजिलो प्रकाशले निर्माण गरेको छाँया ।

भर्खर ११ कक्षाको परीक्षा दिएर बिदामा म घर गएको थिएँ । कुनै दिन म दिदीको घर पनि पुगें । केही टाढाको दुरीमा छ दिदीको घर । म हाप्तिक बसाइँ बसें । बसाइँ क्रमशः रमाइलो हुँदै जानथाल्यो । मैले चिनजान गरें धेरै केटाहरूसँग,केटीहरूसँग । अनि ‘चहलपहलम् ददामि’ कार्यक्रम सुरु गरें ।तिनै चिनजान मध्ये अलिक धेरै र फरक चिनजान गरेकी मान्छे हो फोटोमा देखिएकी ।

कस्तो बेपत्ता राम्री थिई ऊ । पूरा पत्र नफैलिइसकेको तर धेरै पत्र फैलिएको गुलाफजस्तो । ओठमा रङ पोतेकी ।अमिलाका दाना समान वक्षस्थल । निधारमा सानो कालो टीका लगाएकी । पछि कुनै दिन भनेकी थिई – ‘कसैको नजर नलागोस् भनेर कालो टीकी लगाकी मैले ।’

उसलाई के थाहा- मेरो पहिलो नजर नै त्यही टीकीमा परेको थियो । म‌ैले त्यही टीकीमै नजर लगाएँ ।

उसको नाम अर्कै थियो । नाम फेरिएछ ,थर फेरिएछ ,घर फेरिएछ । म सोच्दिनँ- मन फेरियो होला कि नाइँ ? भनेर । सोच्नुको अर्थ के ? फेरि सोचेर के हुन्छ ? मानौँ उसको मन फेरिएको छैन रे ! त्यसको अर्थ के ? के यी कुरा सोच्नु आवश्यक छ ? फेरि आवश्यक कुरा मात्रै सोचिन्छ भन्ने के छ ! र ? मैले अहिले आएर मात्रै यस्ता कुरा किन सोचें ? कुरा त चार बर्ष अघिको हो

मान्छेले अनावश्यक कुरा पनि सोचोस् ,जान नहुने ठाउँमा पनि जाओस् एकपटक ,त्यो बाटो पनि हिँडोस् मान्छे एकपटक जहाँबाट फेरि फर्किन मिल्दैन ।सम्बन्ध यस्तो पनि बनाओस् मान्छेले एउटा ,सम्झिन मिल्छ तर पर्खिन मिल्दैन । र पनि खै किन किन सोचिल्याउँदा आनन्दले चुम्बन गर्छ हृदयको नाजुक भागमा ।

आनन्द पनि कम्ताको छ र ! चुम्बन गर्छ ,त्यो पनि हृदयमा, त्यसमा पनि नाजुक भागमा । नाचिहिँडुँ लाग्छ मलाई जिन्दगीको बाटैबाटो।

तीन साँझको भेटघाटमै उसले त माया गर्छु भनिदिई । म त कालो मान्छे,यसैयसै झनै कालो भैगएँ । यस्तो लाग्यो – तीन साँझमा हामीले भेट गर्दाको समयको अँध्यारो जम्मा गरेर राखेकी थिई । अनि आज मैमाथि घोप्ट्याइदिई ।

म त्यो समयमा नै एउटी आइमाइलाई प्रेम गर्दै थिएँ । त्यै नाथे प्रेम । खानु न खुट्नुको प्रेम।त्यै नाथे प्रेमले आज नि रुवाउँछ । जब कि म खुट्टामा प्वाल पर्ने गरेर रड जाँदा पनि रोएन।के अौकात छ नाथे प्रेमको जो मलाई रुवाइरहन्छ ? कुनै चिडिया हुन्थ्यो भने प्रेम नामको, ढुङ्गामाथि त्यसको टाउको राखेर बाह्र पन्ध्र छपनि ढुङ्गाले हिर्काउथें ।झोकै चलेर आउने के ।

मलाई त केही भन्नै आएन । एउटी केटीले माया गर्छु भन्दैछे । अब के गर्नु म । जे गर्नु उसैले गरी । कसोकसो मैले मुख खोलेछु ।भनेछु- “म राम्रो छैन।”
ऊ फटाफट बोली – “मैले रुप हेरेको हैन नि हजुरको।”
मलाई त रिस उठिआयो । मनमनै भनें- “के यत्रो आँखो हेरिस् त रुप नहेरेर?”
आवाज निकालेर भनें – “के हेरेकी त अनि ?”
उसले हाँस्दै भनी- “तर हजुरको आँखा राम्रा छन् ।”

हाइज्जो! म त अन्तै फर्किएँ । उसले मनको कुरा गरी ।
मन हेरेको कुरा गरी । मलाई त भन्नू मन थियो- “मन हेरेर सबै नाप्ने भैस् अब । त्यै मात्रै बाँकी थ्यो त्यो पनि गरिस् ।”

ऊ अबोध बच्चाजस्तै थिई । मलाई मन दुखाइदिने कुनै रहर पलाएन । मैले केही भनिन । उसले – मन राम्रो हुनुपर्छ,रुपजस्तो भए नि फरक पर्दैन- भन्दै के के भनिरही ।मलाई प्रतिवाद गर्न मन लागेथ्यो- इस् हो ! भन्दै तर गरिन ।

मलाई थाहा थियो नामुद वकिलसँग बहस गरेर बरु जित्न सकिन्छ, पुलिससँग मेरो गल्ती हैन भनेर उम्किन सकिन्छ । सानोमा होमर्क नगरी विद्यालय जाँदा सरलाई – कापी घरमै छुटेछ – भनेर पत्याउने गराएको पनि छु । तर ‘रुप हैन मन हेरेकी हुँ’ भन्दै आउनेलाई हराउन असम्भव हुन्छ ।यिनीहरू केवल जित्नका लागि मात्रै त्यसो भन्छन् । हैन भने यहाँ मन हेर्ने हृदय भेट्नु बहुत गाह्रो कुरा हो ।

हामी एकसाँझ नदी कनारमा थियौं । सायद पाँच जना जति थियौं । केटा दुई जना थियौँ ,बाँकी केटी ।
म एकनास नदीमा ढुङ्गा हानिरहेथें । उसले भन्छे- “किन ढुङ्गा फालेको ?”
म हाँस्दै भन्छु- “बगरमा ढुङ्गा धेरै भए, अलिकति नदीमा फाल्दिऊँ कि भनेर नि ।”

ऊ अोठ बक्र पार्छे । यो केटीमा कुनै त्यस्तो ठुलो कुरा छैन । सम्झना गरिराखुँ लाग्ने । तर ससाना कुरा छन् बहुत चाख लाग्दा । मैले उतिबेलै पनि उसको बारे केही लेखुँ भन्ने सोचें तर कुन्नि किन लेखिन मैले । लेख्थें भनें म यहीँ कुरा लेख्थें- उसले आफूलाई मन परेको कुरामा आँखा कति उज्यालो बनाई, मन नपरेको कुरामा नाक कसरी बङ्ग्याई । यस्तै यस्तै।

यस्तैमा केटा साथीले भन्छ – “खोलापारि ढुङ्गा कसले पुराउने ?”
म ढुङ्गा टिपेर फ्याक्न थाल्छु ,ऊ पनि फ्याक्छ । मेरो पुग्दैन ,उसको पुग्छ । म हार्छु । फेरि भन्छ – “पारी पुराइस् भनें तँलाई उसले माया गर्छे नत्र गर्दिनँ । ल फ्याँक् ढुङ्गा ।”
उसले उताबाट यत्तिकै हेरिराछे,उसका साथी हाँसिराछन् । म त यत्तिकै ट्वाँ पर्छु ।उसले फाल्ने इसारा गर्छे । मेरो पुरुष हृदयले हार्ने कुरा सोच्दैन । म एउटा च्याप्टो र वजन धेरै भएको ढुङ्गा टिप्छु । फ्याँक्नु अघि उसलाई हेर्छु । उसले त आँखा बन्द गरेकी छ लौ! आज सोध्न मन लाग्छ मलाई – के तिमीले भगवानसँग केही प्रार्थना गरेकी थियौ त्यो समय ?

म फ्याँक्छु ढुङ्गा । खोलापारि मात्रै हैन अल्लिमाथि नै पुग्छ ढुङ्गा । मेरो पुरुष हृदय जितेकोमा खुसी हुन्छ । उता हेर्छु त ऊ रोइरहेकी छ । म यसै चुपचाप हुन्छु । मलाई जितेर गल्ती गरेंजस्तो लाग्छ ।

खै! त्यो बेला ऊ किन रोई मलाई थाहा छैन । उसको हृदयमा प्रेम कति थियोे त्यो पनि थाहा छैन । तर मेरो पाखुरामा बल कम थिएन । मेरो हृदयमा प्रेम ? खै!…।

आखिर प्रेम भन्नू के नै हो र ? आफूलाई मन पर्ने सबैभन्दा मीठो आदत- प्रेम ।

म केही दिनपछि घर फर्कन्छु र होस्टेलतिर लाग्छु । उसको आफ्नो फोन थिएन ।कुनैकुनै बेला बाबाकोबाट फोन गर्थी । हामी छोटो समय बोल्थ्यौं । अचानक एकदिन साँझपख मेरो मोबाइल जफत पर्यो।प्रिन्सिपलले लगिदिए । हाम्रो बोलचाल गिलासको चियाजस्तो घिप्लिक्क पोखियो ।पिंधमा चियापत्तिजस्तो टर्रो सम्झना मात्रै बाँकी रह्यो । मैले कुन्नि कति समयपछि गिलास उठाएर पखालें भन्ने कुरा मलाई नै थाहा छैन ।

पाँच महिनापछि मैले मोबाइल त फिर्ता पाएँ । तर तिमीलाई तिम्रो बुबाको नं मा फोन गर्ने साहस फिर्ता पाइन ।

मलाई माफ गर,
मैले प्रिन्सिपलसँग बदला लिनकै निम्ति प्रिन्सिपलकी छोरीसँग अफेयर चलाएँ ।


घर जानुभन्दा अगाडि
मैले भनेको थिएँ- “पर्सि म घर जान्छु।”

भोलिपल्ट साँझपख ऊ आई भेट्न मलाई ।हामी बाटैबाटो परसम्म हिँडिगयौँ । हात नसमातिकनै ,कुम नजोडिकनै । मलाई डर लागिरहेथ्यो कसैले देख्छन् कि भन्ने तर ऊ ढुक्कसँग हिँडिरहेकी थिई । म अझै पनि आइमाई मान्छेको साहस देखेर चकित हुन्छु । कति साहस हुन्छ अहो आइमाई मान्छेमा । अझ प्रेममा परेकी आइमाई होस् , साहसको छुट्टै भण्डार लिएर हिँड्छे ।आइमाई मान्छे सिसाका टुक्रैटुक्राले बनेको बाटोमा खालीखुट्टा हिँडिदिन सक्छे ।आइमाई मान्छे कोमल हृदयमा गोटी वाला जुत्ता लगाएर हिँडिदिन पनि सक्छे ।साच्चिकै साहसी हुन्छन् आइमाई ।

साँझ घर जाने बेला एउटा सादा खाम मेरो हातमा थमाउदै उसले भनी – कोठामा गएर हेर्नुहोला है । म त यसै खुसी भैगएँ । के थाहा ठूलै नोट पो राखेकी छ कि ! खामभित्र । ऊ सरासर गइरही । म ऊ गएको हेरिरहेँ ।साच्चिकै भनूँ भनेँ उसका नितम्ब हेरिरहेँ ।एकपटक त सोचेथे – छि ! के हेरिरहेछु म ।तर भित्रको मान्छेले भन्यो- ओइ पाजी ,यत्ति जाबो इन्द्रिय सुख पनि लिन डराउँछस् ? अनि मैले बेपत्तासँग हेरिरहेँ ऊ गएको । ऊ मोडबाट रुखहरूको छाँया हुँदै हराई ।

(अनि उसको नजरबाट म छेकिएँ।अब ऊ आफू उभिएको जमिनबाट चाहेर पनि मलाई देख्न सक्दिनथी।
मोडहरू बहुत सुन्दर लाग्छन् मलाई।यिनीहरूले हिँडिसकेको बाटो लुकाइदिन्छन्।)

मेरो हातमा खाम थियो । तर बाहिर केही लेखिएको थिएन । अफ्ठेरो पारामा खामबन्दी गरिएको थियो । बहुत धेरै स्टिज लगाइछ । म पिन निकाल्दैनिकाल्दै घरतिर हिँडे । घर पुगेँ दिदीको तर खाममा अझै तिनओटा पिन बाँकी थिएँ । कोठामा पुगेर निकालेँ । उसले भनेजस्तै भो । भनेकी थिई-कोठामा पुगेर हेर्नुहोला । हेरेँ चिठ्ठी रहेछ ।

म सम्झिन्छु!
मैले पाएको पहिलो प्रेमपत्र ।
कठै !
पिनले खोपिएर चिठ्ठीको हृदय छिद्रामय थियो ।
कसैको यादले घोचेर दुख्दादुख्दा दुख्न थाकेको मुटुजस्तो ।

सुरुमै आँखा ह्यान्डराइटिङमा पुगेछन् ।खासै राम्रो थिएनन् । सुरुमै – डियर कृष्ण – लेखेकी थिई । कृष्णको छेउमै एउटा झिनो कमा पनि थियो । यस्तो लेखेकी थिई – डियर कृष्ण,

लाग्यो नेपाली राम्रो पढ्दिरहिछ । सरले -पत्र लेखन- शीर्षकको पाठ पढाउँदा चर्पी गएकी रहिनछ । केही यस्ता मान्छे हृदयको नजिकै छन्,जसलाई देखेर लाग्छ सरले कक्षामा – कसैको मन दुखाइदिन हुँदैन – भनेर पढाउँदै गर्दा अन्तिम बेन्चमा निदाइरहका , निदाइरहेकी थिए ।

पढ्दै गएँ । खै !के के लेखेकी थिई ।धेरै त ट्रकसायरी थिए पत्रमा ।

दिलदेखि दिलको बाटो हुन्छ बहुत थोरै कि.मि.।
फूलहरूमा राम्रो गुलाब,मान्छेहरूमा तिमी तिमी।

म त यसै हाँसिगएछु । ऐना हेर्दिऊँझैँ लाग्यो । फेरि अल्छी गर्दिऊँझैँ लाग्यो । मैले ऐना हेरिन । कति धेरै ट्रकसायरी लेखेकी ।

[यसको ट्रकसायरीप्रतिको मोह देखेर लाग्यो- “यो छिट्टै ट्रक ड्राइभरसँग पोइला जान्छे ।” ]

खामबाट बर्गाकार एउटा सेतो कागजको टुक्रा पनि खस्छ । टिपिहेर्छु । उसको फोटो रहेछ । स्कुले निलो ड्रेस लगाएको आधा छातीसम्म मात्रै देखिने । मनमनै भन्छु – “एस एल सि को फर्म भर्न खिचेको फोटो।” अनि मुसुक्क हाँस्छु ।

गाउँघरमा एउटा उखान छ – ‘कमिलोलाई मुतवो पैरो ।’

समस्या पनि कस्तो आइलागेको ।
मैले पनि अब चिठ्ठी लेख्नु पर्ने भयो । तर लेख्नु के ? दिमागमा केही आएन । एक दुई ओटा सायरी सम्झिन खोजें । त्यै पनि आएन म हुस्सुलाई । बाटोमा ढल्कीढल्की हिँडेको बस सम्झेँ , ट्रक सम्झेँ । अहँ, एउटा सायरी पनि सम्झनामा आएन ।

हात कमाउँदै लेखें- “प्यारी अ इ उण् , खुसी भैरहनु ।” तर त्यसपछि कलम रोकियो ।बल गरिगरी सम्झिन खोजें सायरील।अन्तिममा बसको पछाडि लेखेको – आमा बुवाको आशीर्वाद – ट्रकको पछाडि लेखेको – फेरि भेटौंला – सम्झिएँ । अनि मेरो पहिलो प्रेमपत्र यस्तो लेखियो-

प्यारी अ इ उण् ,
खुसी भैरहनु सधैं ।
आमा बुवाले भनेको मान्नू । आमा बुवाको आशीर्वाद लाग्छ ।
फेरि भेटौंला ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु