Information is intelligence
HomeLiteratureसश्रद्धा भानुको सम्झना

सश्रद्धा भानुको सम्झना

- Advertisement -spot_img

मान्छे यो पृथ्वीमा जन्मिन्छ, मर्छ । मर्ने मान्छे यो पृथ्वीमा कति दिन बाँच्यो भनेर मान्छेले त्यति खोजी गर्दैनन् । खोजी गर्छन् त त्यो बाँच्ने मान्छेले समाज, देश र विश्वका लागि के गर्यो भन्ने कुरा । नेपाली साहित्य आकाशमा जाडो मौसमको रातलाई तातो सूर्यको किरणले आनन्द प्रदान गरे झैँ नेपाली भाषा र साहित्यलाई प्रकाशमान बनाउने ताराहरूमध्ये चम्किलो तारा भानुभक्त आचार्य हुन् ।

नेपाली साहित्य क्षेत्रका अग्रणी व्यक्ति भानुुभक्त आचार्यको जन्म वि. सं.१८७१ असार २९ गते तनहुँको ‘रम्घा’ भन्ने गाउँमा भएको हाे । उनको पिताको नाम धनञ्जय आचार्य र आमाको नाम धर्मावतीदेवी आचार्य हो । उनले शब्दहरू कुँदेर निम्न श्लोकद्वारा यसरी आफ्नो परिचय पनि दिएका छन् –

भानूभक्त भनी प्रसिद्ध नरमा जस्को छ नाऊँ पनि
घर् तिन्को तनहूँ त बेंसि चुँदी हो गाऊँ छ रम्घा भनी ।
प्रख्यात् छन् सब लोकमा ति कवि हुन् विद्वान् गुणी खुब् थिया
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ।।
(आफ्नो परिचय दिँदा हरेक ठाउँमा भन्ने श्लोक)

उनी मध्यम वर्गीय परिवारमा जन्मिए तापनि उनले कुनै ठूलो दुःख कष्ट भोग्नु परेको कुरा पढ्न र सुन्न पाइँदैन । सानैदेखि नै पढाइमा लगनशील र मिहेनती थिए । उनका बाजे श्रीकृष्ण आचार्य संस्कृतका विद्वान् थिए । बाजे विद्वान् भएका कारणले नै सामान्य शिक्षा उनले बाजेबाट अध्ययन गरे ।

उनले आफ्नो बाजेबाट सामान्य शिक्षा आर्जन गरेर उच्च शिक्षा हासिल गर्न बाजेका साथ काशी गए । काशीमा बस्दा विभिन्न विद्वान् भएका ठाउँमा जाने सत्सङ्ग सुन्ने कुरामा पनि निक्कै ध्यान दिए । काशीमा उनको धेरै विद्वान् र उमेर खाएका मान्छेहरूसँग पनि भेट भयो । त्यहाँको मनोरञ्जन र दुःख कष्ट भोग्नु परेका बूढाबूढीको अवस्था प्रभाव पर्न गयो । त्यसमा नै प्रभावित भएर निम्न श्लोक लेखेका हुन् कि जस्तो देखिन्छ –

ठुलो नरक् कुन् छ भनेर जान्नू?
यही शरीरै छ भनेर मान्नू।
कस्तो स्वभाव् स्वर्ग भनेर जान्नू?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू।। /
( प्रश्नोत्तर माला, श्लोक : ३)

उनी सानैदेखि श्लोक लेख्न र वाचन गर्न निकै सिपालु थिए । काशीका विद्वान् , गाउँले र घाँसीको प्रेरणाले नेपाली भएर जन्मिए पछि यो भूमिलाई पूज्न केही गर्नु पर्छ भन्ने भयाे । आफ्ना मनमा भएको खुल्दुली मेट्न, मनलाई खुसी पार्न र समाजको वास्तविकता देखाउन साना साना रचनासहित संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई नेपाली अनुवाद गरे । अनुवादको साथमा मौलिकपन, भक्तिरसको प्रयोग गर्दै नेपाली वाङ्मयलाई उदीयमान बनाए । यिनले नेपालीमा अनुवाद गरेको रामायणले नेपाली साहित्यको भरखर पलाउँदै गरेको टुसोलाई मलजल मात्र गरेनन् केही फल पनि फलाए । उनले लेखेको रामायणमा विभिन्न शिक्षाका कुरा, व्यावहारिक ज्ञानका कुराहरू पनि रहेका छन् । उनले लेखेको रामायणमा अत्यधिक सुन्दर र सरल पारामा निम्न अनुसार आरम्भ गरिएको छ –

एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी
ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी ।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै॥ (भानुभक्तीय रामायण, बालकाण्ड : १ श्लोक)

यस्ता रसिक श्लोकहरू रचना गरेर उनले रामायणलाई यति सुन्दर बनाएका छन् । भावका साथ पढ्ने जो कोही लठ्ठ हुन्छन् ।

भानुभक्त आचार्यलाई सम्मान गर्नेहरूको भीडमा केही यस्ता व्यक्तिहरू पाइन्छन् । जसले उनको कृतिहरूमा भएको भाव र मर्मलाई विपरीत अर्थ लगाएर उनीसँगै उनका कवितालाई रूढीवादी चेतना सम्झने, महिला विरोधी कवि र कविता भन्ने , हिन्दूवादी कवि भन्नेहरूको बाक्लो जमात पनि छ। यस कुरामा समर्थन गर्न वधूशिक्षाअन्तर्गत निम्न अनुसार श्लोक जस्ता रचनाहरू दोष दिएकाे देखिन्छ :-

प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून्
सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून् ।
भक्तीले पति ईश्वरै भनि बुझुन् पाऊ–तलैमा परून्
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ।। (वधूशिक्षा, उपदेश श्लोक :१)

यस समयमा सभ्य र शिक्षित मानिएको समाजमा नारीप्रति यति धेरै अन्याय , अत्याचार , दमन , शोषण , हिंसा , बलात्कार हुने गरेको छ। आचार्यले त तात्कालिक देश परिवेशको धर्मलाई आत्मसात् गर्दै नारीहरूलाई सजग र सुरक्षित हुने शिक्षा दिनुका साथै व्यावहारिक शिक्षा दिएका हुन् । वधूशिक्षामै अर्को उपदेश –

झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी
जस्तो पुग्दछ सोहि माफिक असल् धोती कटीमा धरी ।
सासूका चरण विन्द युगमा पूजेर पाऊ परून्
मैले काम गरुँ क्या अह्राउनु हवस् यो ताहिं बिन्ती गरून् ।। (वधूशिक्षा, उपदेश श्लोक :२)

उनको लोकप्रियता र आदिकविको पदवी पाउनुमा उनले लेखेका नेपाली मुटुमुटुमा आनन्द प्रदान गर्ने साहित्यिक कृतिहरूले ठूलो भूमिका खेलेका छन् । नेपाली भाषा, साहित्य , संस्कृति , धर्म , परम्परा , देश प्रेमलाई जसरी माया गरेर नेपाली भाषाको विकासको थालनी गरेका छन् त्यसमा हामीले आजसम्म गरेकाे सम्मान केही पनि होइन। जसरी पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर विशाल नेपालको मानचित्र हामीमा सुम्पिएका थिए, त्यसरी नै भानुभक्त आचार्यले पनि नेपाली भाषा र साहित्य आकाशमा कहिले नअस्ताउने गरी आफ्नो प्रकाशलाई छोडेर गएका छन् ।

नेपाली साहित्य जगत्मा प्राथमिक कालका पहिला कवि भानुभक्त आचार्य नै भने होइनन् तर सम्पूर्ण प्राथमिककाललाई प्रतिनिधि गरेर डोर्याउने श्रेय भने यिनलाई नै जान्छ। सुवानन्द दास-प्रभृति कविले पहिलै नै अनेक कविता लेखेर नेपाली-कविताको श्रीगणेश गरेका थिए। यद्यपि भानुभक्तले दासहरूको सुरुवातलाई राम्ररी समापन गरे।

भानुभक्तमा भएका नेपालीपन, कविताप्रति रहेको लगाव, साहित्यिक कृतिमा व्यवहारिक शिक्षा र मौलिक नेपालीपन झल्कनाका कारणले पनि यिनलाई आदिकवि पदवी र साहित्यका अग्रणी व्यक्ति मान्नु सान्दर्भिक हुन्छ । आदिकविको पगरी त आचार्यले जीवनकालमै पाएनन् तर उनको नेपाली कविता र भाषाप्रति लगाएको आदिम गुणले सार्थकता पाएको अनुभूति हुन्छ।

कविकुशल आचार्यले शिखरिणी, मन्दाक्रान्ता, स्रग्धरा, मालिनी, वंशस्थ छन्दको प्रयोग गरेर कविता रचना गरेका छन् भने शार्दूलविक्रीडित छन्दको बाहुल्य देख्न सकिन्छ । अन्त्यानुप्रास, उपमा र दृष्टान्त अलङ्कारले सजिएका आचार्यका कवितामा वीरतापूर्ण भक्ति रसलाई निकै आकर्षण ढङ्गले प्रस्तुत गरिएको पाइन्छ । भानुभक्तजस्ता काव्यिक चेतले भरिभराउ सागरबाट कविताको रसरूपी पियुषलाई तिर्खाएका प्यासीहरूले गाग्रो, लोहोटा, कचौरा, गिलास वा आचमनीद्वारा उघाएर पिए पनि यिनी रित्तिदैनन्।

घाँसीको प्रेरणाले कविता लेखनमा उद्यत आचार्यबारे मोतीराम भट्टले उद्धृत गरेको कथानकताबाहेक केही खोजी भने भएको छैन। मानवका प्राण बोल्ने भाषिक चेतनाको जग बसाल्ने आचार्यबारे फितला प्रतीत हुने अनुसन्धान र लेखन त भएका छन् तर पर्याप्त छैनन्। एशियाका ज्योति मानिएका गौतम बुद्धबारे संसार अनुसन्धानमा यति प्रयत्न गरिरहेको छ। विश्वव्यापी बन्दै गइरहेको नेपाली भाषा र यसको प्रारम्भिक प्रयोक्ताका हैसियतले पनि भानुभक्तबारे अझ खोजी हुनु आवश्यक छ।

सम्मानका नाममा विभूतिहरूका लहरमा तस्वीर र गल्लीहरूमा बनेका शालिकबाहेक केही हुन सकेको छैन। भानुभक्तका मौलिक कृतिको अध्ययन र मनन मात्र गर्नसके पनि उनीप्रति न्याय र सम्मान दुवै मिल्छ। राज्यदेखि हरेक सचेत नागरिकको अबको कर्तव्य भानुभक्तलाई कुनै छद्म आखाँले होइन स्वतन्त्र नेपाली आँखाले पढ्नुपर्छ।

वर्षदिनमा आउने जन्मजयन्तीमा अवकाश मनाएर उनको गुन हामी तिरेर कहिल्यै सक्दैनौँ। जसरी नश्वर शरीरलाई चलायमान गराउन ईश्वरले प्राण भरेर धरतीमा पठाउँछन् त्यसरी नै भानुभक्तले अवचेतनारूपी भाषिक प्राण भरेर हामी नेपाली हुनुमा गर्व गराएका छन्। भानुभक्तीय रामायणको रचना हुन्न थियो भने हामी अहिले हिन्दी उर्दू वा बङ्गालीमा संवाद गरिरहेका हुनेथियौँ। हाम्रो सर्वस्व हाम्रो भाषालाई सुवर्ण अक्षरले जीवन्त बनाउने आचार्यप्रति अगाध प्रेम, अनन्त श्रद्धाका सयपत्रीहरू!

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु