Information is intelligence
HomeOpinionवर्णव्यवस्था र जातीय विभेदको प्रश्न

वर्णव्यवस्था र जातीय विभेदको प्रश्न

- Advertisement -spot_img

हाम्रो समाजमा जातीय विभेदको मूल जड भनेको वर्णव्यवस्थालाई मान्ने गरेको पाइन्छ । के साँच्चै नै जातीय विभेदको मूल कारण वर्णव्यवस्था हो त ? अथवा हाम्रो सामाजिक संरचना, अशिक्षा र स्वार्थकेन्द्रित मौसमी मानसिकता हो ? यसबारेमा समयानुकूल बहस, छलफल र अन्तरक्रिया हुन आवश्यक छ । यदि यसो हुन सकेन भने सस्तो लोकप्रियता (भाइरल हुन) हासिल गर्न वा निहित स्वार्थका लागि मानवीय संवेदना र मूल्यमान्यतालाई समेत बेवास्ता गरी मानिस जेजस्तो दुष्कार्य गर्न पनि उद्यत हुन सक्छ । तसर्थ, आउनुहोस् वर्णव्यवस्था र जातीय विभेदका बारेमा छलफल गरौँ।

वर्ण, जात वा थरका आधारमा समाजको विभाजन गरिनु नै वर्णव्यवस्था हो । यही वर्णव्यवस्थाका कारण समाज अविकसित भएको हो भन्ने तथ्यलाई युवापुस्ताले बुझेको पाइन्छ । यथार्थमा यसलाई बुझ्न समाज विकासको सुरुवाती चरणमा जानु आवश्यक छ । समाज विकासको प्रारम्भिक चरणमा वर्णव्यवस्था कुनै जात जनाउनलाई नभएर त्यसबेलाका मान्छेले गर्ने कार्यका आधारमा समाजले निर्धारण गरेको थियो । जसमा ब्राह्मण, क्षत्रीय, वैश्य अनि शूद्र पर्दछन् । यिनै चार वर्णहरू नै अहिलेका जात र थरका रूपमा विकसित भएका हुन् । यही पृष्ठभूमिमा वर्णव्यवस्था र जातीय विभाजन देखिन्छ

ब्राह्मण भन्नाले प्राप्त शास्त्रीय मतानुसार “जन्मना जायते शूद्र कर्मणा द्विज उच्यते ।”
अर्थात् जन्मजात सबै मान्छे शूद्र हुन्छन्; कर्म या संस्कारले मात्र द्विज वा ब्राह्मण हुन्छन् । यसैगरी वर्ण व्यवस्था कसरी तय भयो भन्ने कुरा श्रीमद्भगवत् गीतामा यस्तो भनिएको छ –

“चातुर्वर्ण्य मया सृष्टं गुणकर्मविभागशः।” (४/१३)

अर्थात् गुण (सत्व, रज, तम) र कर्मका आधारमा चार वर्ण (ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्र)को सृष्टि गरिएको हो । यस तथ्यका आधारमा मानिसका गुण(विशेषता वा सामर्थ्य) र उसले गर्ने कर्मका आधारमा वर्णव्यवस्था र जातीय विभाजन गरिएको पाइन्छ । त्यसैले निर्धारित गुण र कर्म नभएपछि स्वतः ऊ वर्ण वा जातिच्यूत मानिन्छ अर्थात् ब्राह्मण कुलमा जन्मेर ब्रह्म (ज्ञान) बुझ्दैन भने ऊ ब्राह्मण हुन सक्तैन । ठीक त्यसैगरी अन्य व्यक्तिमा पनि गुण र कर्म परिवर्तन भएको छ भने सोही गुण र कर्मका आधारमा उसको वर्ण वा जात निर्धारण हुन सक्छ ।

यसरी चातुर्वर्ण्य व्यवस्थालाई एक प्रकारको सामाजिक संरचना र विभाजन भने पनि वर्णव्यवस्था आफैँमा खराब छैन किनकि त्यहाँ परस्पर भेदभाव, अवहेलना र घृणाको प्रवृत्ति नभई सकारात्मक, स्वच्छ र पवित्र सन्देश पनि पाइन्छ । यसर्थ वर्णव्यवस्थाले निर्धारण गरेका चार वर्ण (ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्र) भनेका समाजरूपी गाडीलाई गन्तव्यमा पुर्‍याउने चार पाङ्ग्रा हुन् । यिनलाई वर्तमान समाजले जातीय विभेदको नाममा बुझ्ने कोसिस गर्नु त्यति सान्दर्भिक र वैज्ञानिक देखिँदैन । यो चाहिँ दुराग्रह मात्र हुन्छ ।

श्रीमद्भगवत् गीताको अठारौँ अध्यायमा वर्णव्यवस्थाअनुसार कर्म विभाजन यसरी गरिएको छ –

ब्राह्मणक्षत्रियविशां शुद्राणां च परन्तपः ।
कर्माणि प्रविभक्तानि स्वभाव प्रभावैगुर्णैः ।।४१।।

अर्थात् मानिसका स्वभावजन्य गुणका आधारमा चारवटै वर्ण (ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्र)को कर्म विभाजन गरिएको हुन्छ ।

माथि उल्लिखित तथ्यका आधारमा इन्द्रियलाई नियन्त्रण गर्नु, नीति नियमको पालन गर्नु, शारीरिक र मानसिक शुद्धिकरण, व्यावहारिक सरलता, वेद शास्त्रादिको अध्ययन, ज्ञानविज्ञानमा पारङ्गत हुनु, अध्यात्मप्रति आस्था, लोकहितमा समर्पित हुनु आदि ब्राह्मणका स्वाभाविक कर्म मानिएका देखिन्छन् । यसैगरी क्षत्रियका स्वभावजन्य गुण र कर्मलाई वीरता, दानशीलता, धीरता, चतुरता, युद्ध कुशलता र प्रजापालन एवम् सुशासन मानिएकोे पाइन्छ । जस्तैः

शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३।।

कृषिकर्म, गोरक्षा/पशुपालन, व्यापार वाणिज्य आदि सबै वैश्यका स्वाभाविक कर्म हुन् भने परिचर्यात्मक कार्य/समस्त मानवजातिको हितमा सेवा गर्नु अथवा आफ्नो श्रम र सिप प्रयोग गर्नु शूद्रवर्णको स्वाभाविक कर्म हो भनी श्रीमद्भगवत् गीतामासमेत उल्लेख गरिएको पाइन्छ । जस्तै:

कृषिगौरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम् ।
परिचर्यात्मकं कर्मं शुद्रस्यापि स्वाभावजम् ।।४४।।

यस्तै काम र गुणका आधारमा विभाजित यस्ता पदवी उनीहरूको कर्मको आधारमा पनि फेरबदल हुन्थे । यी चार वर्ण तत्कालीन समाजले निर्धारण गरेका पदवी हुन्, जुन कालान्तरमा जातका रूपमा परिणत भयो । वास्तवमा भन्ने हो भने जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्रिय, वैश्य वा शूद्र हुँदैनन्; उनीहरू त आआफ्नो कर्मका आधारमा ब्राह्मण, क्षत्रिय, वैश्य वा शूद्र हुन्छन् । जो मानिस ब्राह्मण कुलमा जन्मेर पनि ब्राह्मणको कर्म जान्दैन र अध्ययन पनि गर्दैन भने त्यो नाम मात्रको ब्राह्मण हुन्छ । ठीक त्यसैगरी अन्य जातिमा पनि लागु हुन्छ । प्राचीनकालमा शूद्र ब्राह्मण र ब्राह्मण शूद्र भएका प्रशस्त उदाहरण पाइन्छन् । ब्राह्मणबाट शूद्र र क्षत्रिय, वैश्य, शूद्रबाट ब्राह्मण भएका तथ्य पनि छन् । यो सबै उनीहरूको निरन्तर अध्ययनशीलता, तपस्या र साधनाको परिणाम थियो । कौशिक, वाल्मीकि, गौतम, अगस्त्य, माण्डव्य, मातङ्ग, व्यास, पराशर, वसिष्ठ, विश्वामित्र, भारद्वाज र नारदादि ऋषिमुनिहरू सबै ब्राह्मण कुलमा जन्मेका थिएनन् । ब्राह्मणइतर वर्णमा जन्मेर पनि यिनीहरूले आफ्नो कर्म र साधनाले ब्राह्मणत्व प्राप्त गरेका थिए । नेपालको सन्दर्भमा हेर्ने हो भने स्वामी प्रपन्नाचार्य (काले राई), नरहरिनाथ योगी, डा.जगमान गुरुङलगायतका सम्मानित विद्वत्जनलाई कर्म र साधनाका आधारमा ब्राह्मण मान्न सकिन्छ । उनीहरूको साधना कुनै ब्राह्मणको भन्दा कम छैन । तर ब्राह्मण कुलमा जन्मिएर पनि मादक पदार्थ सेवन गर्ने, भ्रष्टाचार तथा व्यभिचार गर्ने, निहित स्वार्थका लागि जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्ने सबै नरपशुहरू शूद्र नै हुन् । त्यसैले कसैले पनि जातीयताको आधारमा आफूलाई अपमानित, कमजोर र उपेक्षित नठानी आफूलाई कर्म र साधनाका आधारमा अब्बल साबित गर्नसक्नुपर्छ । यसैमा जातीय गौरव र आत्मसम्मानको अनुभूति सजीव रूपमा गर्न सकिन्छ । जात र थर परिवर्तन गर्दैमा केही हुँदैन, संस्कार र मानसिकता परिवर्तन हुनुपर्छ ।

अब कुरा गरौँ थरको । हाम्रो समाजमा कार्यका आधारमा जात तय भएजस्तै स्थान र पेसा वा कर्मका आधारमा थर निर्धारण भएको पाइन्छ । स्थान र स्थल एकअर्काका पर्यायवाची शब्द हुन् । स्थान वा स्थलबाट अपभ्रंश भएर थल हुँदै थर भएको हो । वर्तमानमा ‘थर’ शब्दले व्यक्तिको गोत्रसम्बद्ध जातलाई जनाउँछ । नेपाली समाजमा पेसा र स्थानका आधारमा मानिसको थर निर्धारण भएका प्रशस्त उदाहरण पाइन्छन् । जस्तैः पोखरी नजिकै बस्ने पोखरेल, भूर्तिबाट भुर्तेल/भुर्त्याल, लम्जीबाट लम्ज्याल, लम्सुबाट लम्साल, दुल्लुबाट दुलाल, दबाडाबाट दबाडी, बाँसीबाट बस्याल, दहबाट दाहाल, खारबाट खरेल आदि स्थानका आधारमा थर निर्धारण भएका हुन् भने पेसा वा उपाधिका आधारमा कार्की (कर अधिकृत), खड्का, रोका, भण्डारी, अधिकारी, लेखक, पण्डित, सुवेदी, चतुर्वेदी, पाठक, आचार्य, उपाध्याय, वैद्य, जोशी, तुलाधर आदि थरहरू निर्धारण गरेको पाइन्छ ।

उपर्युक्त तथ्यका आधारमा थर जन्मजात नभई मानिस बस्ने थातथलो वा उसले गर्ने पेसा वा कर्मको आधारमा निर्धारण भएको हो भन्ने पुष्टि हुन्छ । आज जुन थरको मान्छे छ, उसले आफ्नो थातथलो वा पेसा परिवर्तन गर्‍यो भने उसको थर पनि परिवर्तन हुन सक्छ । जस्तै : शिक्षण पेसा गर्ने शिक्षक, पत्रकारिता गर्ने पत्रकार, ठेक्का गर्ने ठेकादार आदि ।

यदि एउटा त्रिपाठी ब्राह्मणको जँड्याहा सन्तानले आफ्नो पुख्र्याैली पेसा नअपनाएर आफ्ना बुबाले तीनवटै वेद पाठ गर्न सक्ने भई प्राप्त गरेको ‘त्रिपाठी’ पदवीलाई आफ्नो थरका रूपमा कसरी लेख्न सक्छ ? के आचार्यका सन्तान सबै आचार्य नै हुन् त ? जसले एउटै वेदको अध्ययन गरेको छैन, त्यो कसरी चतुर्वेदी भयो ? त्यस्तै जसले सुन बनाउँछ त्यसलाई सुनार, लोहाको काम गर्नेलाई लोहार र तामाको काम गर्नेलाई ताम्रकार भनिन्छ तर उक्त थर भएको परिवारमा जन्मेर कुनै पनि सिप नभएका हल्लिएर बस्ने व्यक्तिलाई जन्मकै आधारमा सुनार, लोहार, ताम्रकार आदि भन्नु त्यति सङ्गतियुक्त हुँदैन । यो त निर्धनलाई धनबहादुर र कमजोरलाई बलबहादुर भनेजस्तै हुन्छ ।

हाम्रो समाजमा जहिलेदेखि पुर्खाको पदवीलाई जात मानेर अँगाल्ने प्रचलन आयो, त्यसै दिनदेखि हाम्रो देश र समाज अवनतिको चाया र अधोगतिको छायाँको सिकार बन्दै आएको छ । हामी त केवल जात र थरको गीत गुनगुनाएर आसमान पुग्न चाहन्छौँ तर जात र थर कसरी रहन गयो, त्यसको बारेमा अध्ययन गर्दैनौँ र त्यसको गहिराइमा पुग्दैनौँ, मात्र सतहमा उफ्रिन्छौँ ।

वास्तवमा समाजमा जातीय विभेद सिर्जनाका कारण हाम्रा सांस्कृतिक परम्परा र सभ्यता नभएर तिनलाई आफूअनुकूल बनाएर तोडमोड गरी पस्कनेहरू हुन् । सस्तो लोकप्रियता, प्रचारबाजी र अर्थमुखी पात्रका कारण समाजमा दिनप्रतिदिन सामाजिक सद्भाव, सहिष्णुता र समभाव सङ्कटमा पर्दैछ । “सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली” भन्ने राष्ट्रिय गीति अंशको मूल भाव र मर्मलाई कुल्चेर विदेशीको डलरमा रमाउने र डकार्नेहरूका कारण समाजमा जातीय विभेदका नाममा देशलाई द्वन्द्वको दलदलमा फसाउनु किमार्थ स्वीकार्य हुन सक्तैन । यस्ता स्वार्थी र अतिवादी विरुद्ध सचेत भई सबै प्रकारका विभेदको अन्त्य गरी पारस्परिक सहअस्तित्व र सम्मानमा आधारित सुखी, समुन्नत र समतामूलक समाज निर्माण गर्नु आजको युगीन आवश्यकता हो । जातीय विभेदको नाममा एकथरीले अर्कोथरीलाई अपमानित गर्ने, पारस्परिक घृणा र विद्वेष फैलाउने र अनेक लाञ्छना लगाउनेजस्ता दुष्कार्यहरू मानवता विरोधी कार्य हुन् । घृणाले घृणा जन्माउँछ र प्रेमले प्रेम भनेजस्तै निषेधले निषेध नै गर्छ भन्ने कुराप्रति पनि आजको शिक्षित र सभ्य समाज सचेत हुनुपर्छ । अन्यथा प्रतिशोध र बदलाको भावनाले अगि बढ्न खोज्दा त्यसको परिणाम पनि दुःखान्त नै हुन्छ । समानताको नाममा गरिने सङ्घर्षले व्यक्तिको मौलिक र सम्पत्तिको हक हनन हुनु हुँदैन भन्नेप्रति पनि हामी सचेत हुनुपर्छ । आफ्नो अधिकार खोज्दा अर्काको अधिकार हनन गर्ने र अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन् र कानुनको दृष्टिमा सबै बराबर हुन्छन्, कोही सानो ठुलो हुँदैन भन्ने कुरालाई पनि सबैले सम्मान गर्नुपर्छ ।

हाल सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म देखापरेका जातीय विभेदसम्बन्धी मुद्दाहरूका पक्ष विपक्षमा विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिहरूले आआफ्ना धारणा र प्रतिक्रिया सार्वजनिक गरेका छन् । उक्त विषयलाई लिएर अनेक खाले टीकाटिप्पणी पनि भएको देखिन्छ । यस्ता विषयमा टीकाटिप्पणी गर्दा वा कदम चाल्दा विषयवस्तुको गम्भीरता, व्यक्तिको वैयक्तिक स्वतन्त्रता र आत्मसम्मानजस्ता संवेदनशील पक्षलाई पनि ध्यानमा राख्नुपर्छ । त्यसैले हाम्रो मानसिकता समयानुकूल परिवर्तन हुनुपर्छ किनकि कुनैपनि व्यक्ति स्वयंमा उच्च र निम्न जातिको हुँदैन । उसको मानसिकताले उसलाई उच्च र निम्न जातिको बनाउँछ । उच्चताबोध र हीनताबोधकै कारण मानिसहरू मानवबाट ब्राह्मण, क्षत्रिय वा दलितमा विभाजित हुन्छन् । त्यसैले हाम्रो मानसिकताले नै हामीलाई उच्च र निम्न जाति वा ब्राह्मण, क्षत्रिय वा दलितमा कित्ताकाट गरी ‘वसुधैव कुटुम्बकम्’को भावना विपरीत मान्छे मान्छेमा विभेद सिर्जना गर्छ र हामीलाई मानवबाट दानवमा परिवर्तन गरी हामीबिच विद्वेष, घृणा र उपेक्षाभाव सिर्जना गर्दछ । तसर्थ, हामी मानव भएकाले मानव मानवबिच सद्भाव, सम्मान र सहिष्णुता कायम गर्दै सहअस्तित्व र समानतामा आधारित समाज निर्माणका लागि एकजुट हुनुपर्छ । अनेकताको होइन, एकताको मानसिकताले अघि बढ्दा समाजमा जातीय विभेदका साथै सबै किसिमका विभेदको अन्त्य सम्भव हुन्छ ।

अहिलेको सन्दर्भ नियाल्दा एकातिर समाजमा जातीय विभेदको मूल कारण वर्णव्यवस्थालाई मान्ने गरिन्छ भने अर्कातिर जातीय विभेदलाई ईश्वरीय वरदानका रूपमा लिने गरेको पनि पाइन्छ । यी दुवै अतिवादी सोच, दृष्टिकोण र चिन्तनका उपज हुन् । वर्णव्यवस्था समाज र तत्कालीन पेसा र कर्मलाई व्यवस्थित गर्न निर्धारण गरिएको देखिन्छ भने जातीय विभेद अनुदारवादी समाजले वर्णव्यवस्थामा टेकेर निर्धारण गरेको मानवता विरोधी अपराध हो । त्यसैले यस्ता मानवता विरोधी अपराधलाई दुरुत्साहित गर्न आजको शिक्षित र सचेत युवापुस्ताले स्वार्थ र प्रलोभनबाट मुक्त भई समाजलाई समयानुकूल परिवर्तन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । उच्चता र हीनताबोधबाट मुक्त भएर सबैसँग मैत्रीभाव राख्नुपर्छ । समाजमा भएका हरेक कुरालाई जातीयतासँग जोड्नु हुँदैन । सर्वप्रथम हामीले आफ्नै घर, परिवार र समुदायबाट विभेदको अन्त्य गर्नुपर्छ । यसो गर्न सकेमा विभेदरहित समाजको निर्माण सहजै हुन्छ । समाजमा विद्यमान अन्धविश्वास, कुसंस्कार, कुरीति र विसङ्गतिमा आधारित जातीय विभेदजस्ता सामाजिक कलङ्कलाई हटाउन मुद्दामामिला र प्रचारबाजीको लडाईँभन्दा जनचेतनामूलक कार्यक्रम, कानुनी सचेतता र वैचारिक सङ्घर्षको आवश्यकता छ । तसर्थ, सस्तो प्रचारबाजी र वैदेशिक अनुदानको प्रलोभनमा गरिने जातीय विभेद विरुद्धका सङ्घर्ष क्षणिक र परिणाममुखी नहुने भएकाले सार्थक परिणामका लागि पारस्परिक सम्मान, सहअस्तित्व र समन्वयमा आधारित समाज निर्माण गरौँ । सकिन्छ विभेदरहित सभ्य र सहिष्णु समाज निर्माण गरौँ, सकिँदैन बिगार्ने कोसिस नगरौँ ।अस्तु।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु