Information is intelligence
HomeTourismपर्यटकीय लेक चढ्न पदमार्ग

पर्यटकीय लेक चढ्न पदमार्ग

- Advertisement -spot_img

बागलुङ : पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले गत आवमा विनियोजन गरेको रु पाँच लाख ६७ हजार बजेटबाट ८०० मिटर पदमार्ग बनाइएको हो ।

गलकोट–१० पाण्डवखानीको सिद्धथानदेखि गोठथरीसम्म पदमार्ग जोडिएको निर्माण समितिका अध्यक्ष गङ्गबहादुर काउचाले जानकारी दिए । उहाँका अनुसार ४५५ मिटरमा ढुङ्गाको ‘सोलिङ’ र ३५० मिटरमा सिँढी निर्माण गरिएको छ । पदमार्गमा स्थानीयवासीले रु ५० हजार बराबरको श्रमदानसमेत गरेका थिए । गत असार १५ गतेदेखि असार ३० गतेसम्म दैनिक ५० जना श्रमिक पदमार्ग निर्माणमा खटिएका थिए । श्रमिकले एक दिनको रु ५१७ का दरले ज्याला पाएको समितिले जनाएको छ ।

वर्षायाममा जोखिम मोलेर पदमार्गको काम गरिएको अध्यक्ष काउचाले बताए । व्यवस्थित पदमार्ग बनेपछि घुम्टे आउजाउ गर्न सहज हुने भएको छ । “घुम्टे चढ्ने पर्यटकलाई लक्षित गरी पदमार्ग बनाइएको हो, यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ”, सिद्धथान सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर पुनले बताए । पदमार्गले घुम्टे चढ्न सजिलो र छरितो बनाएको उनको भनाइ छ । सिद्धथानका सात घरमा सामुदायिक घरबास सेवा छ । घरबाससँग घुम्टेको पर्यटन पनि जोडिएको छ । तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे जिल्लाकै आकर्षक गन्तव्यस्थलमा पर्छ । त्यहाँ बर्सेनि वैशाखे पूर्णिमा र नयाँ वर्षका अवसरमा मेला लाग्ने गर्छ । घुम्टेको धुरीमा रहेको सिद्ध र भैरवको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले विगत आठ वर्षदेखि नयाँ वर्षको अवसर पारेर घुम्टेमै गुराँस उत्सव आयोजना गर्दै आएको छ । जैविक विविधताले भरिएको घुम्टेमा चैत वैशाखमा दर्जनौँ थरीका गुराँस फुल्छन् । घुम्टेको चुचुरोबाट छिमेकी जिल्लाका समेत रमणीय ठाउँको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त पखको दृश्यावलोकनका लागि घुम्टे उपयुक्तस्थल हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाभित्र समेटिएको घुम्टे लेक चढ्न यसअघि हरिचौर, मल्म हुँदै पनि पदमार्ग जोडिएको छ । घुम्टेलाई सडक सञ्जालसँग जोड्न अहिले मार्ग खोल्ने काम भइरहेको छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु