Information is intelligence
HomeNewsवर्षायाममा वन्यजन्तु अनुगमनमा असहजता

वर्षायाममा वन्यजन्तु अनुगमनमा असहजता

- Advertisement -spot_img

कञ्चनपुर : बर्खामा निकुञ्जभित्र गाडी चल्ने सबै बाटा बन्द हुन्छन् । पैदलै सबै ठाउँमा पुग्न सकिँदैन । यस्तो अवस्थामा वन्यजन्तुको अनमुगन र निगरानी गर्न निकै अप्ठेरो हुन्छ । नियमित गस्ती गरिराख्नुपर्ने संरक्षित क्षेत्रमा पनि वन्यजन्तुको अनुगमन र रेखदेख निकै जोखिमपूर्ण हुने गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गस्ती गर्दै निकुञ्ज र राष्ट्रिय संरक्षण कोषका कर्मचारी । तस्बिर सौजन्य : राष्ट्रिय प्रकृति संरक्षण कोष, कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि यतिबेला सबै क्षेत्रमा सवारी साधनको पहुँच छैन । ठूल्ठूला घाँसे मैदानमा हिँडेरै गस्ती गर्न सम्भव छैन । निकुञ्जमा पर्याप्त मात्रामा गस्तीका लागि हात्ती पनि छैनन् । ‘अवस्थाअनुसार पैदल, साइकल, गाडी र हात्तीमा नियमित गस्ती भने गरिरहेका छौं,’ शुक्लाफाँटा निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले भने, ‘बर्खामा गस्ती गर्नु त्यति सजिलो छैन, सबै ठाउँमा पुग्न पनि सकिँदैन ।’

उनका अनुसार निकुञ्जभित्र अनुगमनका लागि सीसी क्यामेराहरू पनि जडान गरिएको छ । यसबाहेक असहज अवस्थामा निकुञ्ज प्रशासन र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले संयुक्त रूपमा अनुगमन गर्दै आएको छ । ‘सीसी क्यामेराकै सहयोगमा चुरे फेदीबाट चोरीसिकारमा हिँडेका एक जनालाई नियन्त्रणमा लिन सफल भयौं,’ पुनले भने, ‘तीन वटा बन्दुकसहित निकुञ्जमा पसेका उनलाई तत्काल नियन्त्रणमा लिएका थियौं ।’ उनका अनुसार निकुञ्जभित्र विभिन्न स्थानमा राखिएका सीसी क्यामेराको सहयोगमा गत आर्थिक वर्षको अन्त्यतिर मात्रै चार जनालाई पक्राउ गरिएको छ । जसमध्ये तीन जना वन पैदावार चोरी तस्करीमा संलग्न थिए ।

निकुञ्जमा गस्तीका लागि १० हात्तीको दरबन्दी छ तर अहिले ६ वटा मात्रै उपलब्ध छन् । यसमध्ये पनि एउटा वृद्ध भइसकेको र अर्को बिरामी भएका कारण ४ वटालाई मात्रै गस्तीमा उपयोग गर्न सकिने अवस्था छ । ‘घाँसे मैदान धेरै छ, हिँडेर जान गाह्रो हुन्छ, हात्तीबाटै गस्ती गर्न पनि पर्याप्त छैन,’ उनले भने, ‘यस्तो बेला सबै क्षेत्रमा पहुँच नहुँदा निगरानी पनि घटेको छ ।’

शुक्लाफाँटा भारतको लग्गाबग्गा संरक्षित क्षेत्रसँग जोडिएको छ । लग्गाबग्गा भारतकै पिलिभित टाइगर रिजर्भसँगै जोडिएको संरक्षित क्षेत्र पनि हो । उक्त क्षेत्र बाघका लागि परिचित छ । यो क्षेत्र आसपास बाक्लो वस्ती छ । यही क्षेत्रबाट वन्यजन्तुको चोरीसिकार हुने जोखिम रहन्छ । यसअघि पटक–पटक बाघको छालासहित पक्राउ परेकामध्ये केही व्यक्ति सोही क्षेत्रका थिए । ‘सीमा क्षेत्रमा पहुँच नहुँदा र बफर जोनमा बस्ती हुँदा जोखिम बढी हुन्छ,’ पुनले भने, ‘तैपनि हामीले नियमित गस्ती र अनुगमनलाई कम गरेका छैनौं ।’

विभिन्न प्रजातिका वन्यजन्तुको नियमित गणनाले पनि गस्तीजस्तै काम भएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले बताए । पछिल्लोपटक निषेधाज्ञामा समेत वन्यजन्तुको गणना तथा अनुगमन गरिएको उनले बताए । ‘चैतमा गैंडा गणना, त्यसपछि बाह्रसिंगा गणना र पछिल्लोपटक निषेधाज्ञामै बाघ तथा आहारा प्रजातिको अनुगमन गर्‍यौं,’ उनले भने, ‘यसले पनि वन्यजन्तुको नियमित अनुगमन र रेखदेखमा सहयोग पुर्‍याएको छ ।’ उनले अहिले पनि हात्तीबाट नियमित गस्ती भइरहेको बताए । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्ज बाह्रसिंगाको प्रमुख बासस्थानका रूपमा चिनिन्छ ।

निकुञ्जमा रहेका विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हुन् । यहाँ २३ सय वटाभन्दा बढी बाह्रसिंगा छन् । हालका वर्षमा निकुञ्जमा बाघ र गैंडाको संख्या पनि बढ्दै गएको छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा १७ वयस्क बाघ र त्यतिकै संख्यामा गैंडा रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु