Information is intelligence
HomePoliticsओलीले एकताको ढोका बन्द गरेमात्र अर्को पार्टी खोलेर सरकारमा : युवराज ज्ञवाली

ओलीले एकताको ढोका बन्द गरेमात्र अर्को पार्टी खोलेर सरकारमा : युवराज ज्ञवाली

- Advertisement -spot_img

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बुधबार बस्दैछ । यो बैठकबाटै नेपाल पक्षले आगामी दिशा तय गर्ने बताइएको छ । यो बैठकपछि नेपाल पक्षका नेताहरु तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका केपी शर्मा ओली पक्षका सांसदसमेत समेटेर बैठक बस्ने बताइएको छ ।

यो बैठकलाई नेपाल पक्षले ‘निर्णायक’ भनेको बुझिएको छ । पार्टी एकता हुन नसके छुट्टै पार्टी गठन गरेर सरकारमा सहभागी हुनेसम्मको निर्णय आउन सक्ने बताइएको छ । यद्यपि यो संभावना तत्कालै हुने स्थिति नभएको पनि बताइन्छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने तत्काल सरकारमा जाने कुनै प्रसङ्ग नचलेको बताउँछन् । उनी भन्छन्, ‘अहिले हामी प्रतिपक्षमा छौं । हामी अहिले सरकारमा जान सकिँदैन । केपी ओलीले एकता नगरेर ढोका बन्द गरेमात्र अर्को पार्टी गठन गरेर सरकारमा जाने कुरा आउन सक्छ । तर त्यो एजेन्डा हाम्रो हैन ।’

उनले पार्टी एक बनाएर लैजानु पर्छ भन्नेमै स्थायी कमिटीमा छलफल हुने मिडियालाई बताएका छन् । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा पनि उनले बुधबार बिहान अहिलेको नेपाल पक्षको एजेन्डाका बारेमा स्पष्ट पारेका छन् । एमालेको विवाद व्यक्तिगत दुई जना नेता (माधवकुमार नेपाल र केपी शर्मा ओली) को समस्याको विषय नभएको बताउँदै उनले सम्मानजक एकता हुनुपर्नेमा जोड दिएका छन् ।

उनी भन्छन्, ‘यहाँ आत्मसमर्पणको कुरा हैन । सम्मानजनक एकता हुनुपर्छ । मापदण्ड १० बुँदे सहमति आइसकेको छ । अझै परिमार्जन गर्नुपर्ने छ भने दुई जना नेताहरु बसेर समाधान गर्नुपर्छ ।’

उनले अहिले सरकारमा जाने भन्दा पनि राजनीतिक कोर्सको कुरा रहेकाले एमाललाई एकता गर्नुपर्ने बताए । नेपाल पक्षको धारणा बताउँदै उनले भने, ‘पार्टीलाई विभाजित गर्ने पक्षमा छैनौं । पछि स्थिति कस्तो आउँछ त्यसपछि मात्र निर्णय हुनेछ ।’

उनले एमालेको तीतो यथार्थ केलाउँदै भनेका छन्, ‘महत्वपूर्ण उपलब्धि भएको छ । संसद पुनस्र्थापना भएको छ । दुःखद यो छ कि दुई तिहाईको सरकार आज बाहिरिनु परेको छ । केपी ओलीका कारण संविधान पनि जोगिन्न र लोकतन्त्र पनि जोगिन्न भन्ने भएपछि हामीले यो कदम चालेका हौं । अब एक भएर आ–आफ्ना कमीकमजोरी हटाएर अगाडि बढ्नु जरुरी छ ।’

उनले सबैले आत्मसमीक्षा गरेर पार्टी एक गर्नुको विकल्प नभएको पनि बताए । स्थायी कमिटी भेलामा यही गम्भीर विषयमा छलफल गर्ने पनि उनले बताए ।

संस्थापन पक्षको बैठक जारी
नेकपा एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटी बैठक पनि चलिरहेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा केही दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम चलिरहेको छ ।

यसअघि सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको थियो । तर ती सांसदहरूलाई पत्र पुगिसकेको छैन ।

पत्र पुगेको २४ घण्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशनसमेत दिएको थियो । नेपाल पक्षले भने उक्त पत्र आए पनि जवाफ नदिने बताएको छ ।

बैठकमा पार्टीबाट नेपाल पक्ष छाडेर जाने अवस्था आएमा संगठनमा के–कस्ता प्रभाव पर्न सक्छन् भन्नेबारे छलफल भएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय