Information is intelligence
HomeTourismपर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

- Advertisement -spot_img

चितवन : नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ ।

कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । “भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, हेटौँडा, तनहुँसम्मका आन्तरिक पर्यटक झरना हेर्न तथा नुहाउन आइरहेका छन्”, उनले भने, “यतिबेला दैनिक २०० को हाराहारीमा आन्तरिक पर्यटक झरनामा आउँछन् ।” युवायुवती यहाँ आएर गर्मी छल्नेदेखि तस्वीर लिने, टिकटक बनाउने तथा भिडियो लिने गर्दछन् ।

कालिकाको शक्तिखोर–सिद्धि सडकखण्डअन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको पैदल यात्रापछि सिन्ती झरना पुगिन्छ । सिन्ती झरनासम्म मोटर बाटो पुगेको छैन । यहाँको मोटर बाटोबाट ४० मिनेट उकालोे हिँडेपछि झरना पुगिने वडाध्यक्ष क्षेत्री बताउँछन् । कोरोना महामारीका कारण लामो दूरीका पर्यटकीय गन्तव्यमा जाने वातावरण नहुँदा युवापुस्ताको आकर्षण स्थानीय सिन्ती झरनामा बढिरहेको वडा सदस्य लालबहादुर गुरुङले बताए । “चार वर्षअघिसम्म यसको खासै चर्चा थिएन, जनप्रतिनिधि आएपछि झरनाको प्रचार हुन थालेको हो । त्यसपछि आन्तरिक पर्यटक आउन थालेका हुन्”, गुरुङले भने ।

महाभारत पर्वत शृङ्खलाअन्तर्गत सिन्तीखोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको उहाँ बताउनुहुन्छ । झरनाको लम्बाइ करिब ५० मिटर रहेको बताइन्छ । सौराहाबाट पथप्रदर्शक र केही आन्तरिक पर्यटक लिएर झरना पुग्नुभएका पर्यटन व्यवसायी विजय लामाले झरना अत्यन्तै आकर्षक र सुन्दर रहेको बताए । उनले भने, “यसले आन्तरिक पर्यटक मात्र होइन, भोलिका दिनमा सौराहा आउने बाह्य पर्यटकलाई पनि लोभ्याउन सक्नेछ ।”

उनले माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने बताए । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने उनी बताउँछन् । उनले भने, “सौराहाबाट पर्यटक लैजान सकिन्छ, तर त्यहाँ उद्यान, होटल, खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन जरुरी छ, बाह्य पर्यटकले सुरक्षित महसुस गर्नलाई त्यहाँको सुरक्षा व्यवस्था गर्न प्रहरी बिटको स्थापना गर्नुपर्छ ।”

नगरपालिकाका सूचना अधिकारी अच्युतराज रेग्मीले गुरुयोजना बनाएर झरनाको विकास र प्रचारप्रचार गर्ने तयारी भइरहेको बताए । उनका अनुसार झरनाको गेट निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्रामस्थललगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाउन लागिएको छ । झरनास्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदलमार्ग सुधार, व्यवस्थित शौचालय निर्माण गरी यसको प्रचारप्रसारसम्मको भूमिका बढाउने गरी योजना तयार पारिरहेको उनले बताए । उनले भने, “यसका लागि नगरपालिकाले कार्यविधि बनाउँदैछ ।” (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु