Information is intelligence
HomeAgricultureदाजुभाइको लोभलाग्दो उद्यम

दाजुभाइको लोभलाग्दो उद्यम

- Advertisement -spot_img

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् । यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्किएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए ।

मीन रेश नुन्थला माविमा अध्यापन गराउँदै व्यवसायलाई पनि अघि बढाउने दाइको उद्देश्यमा साथ दिन तयार भए । विसं २०६८ मा दुई भाइ मिलेर फर्निचर उद्योग सञ्चालन गरे । फर्निचर उद्योग स्थापना गरेको १० वर्ष भइसक्यो । अहिले थापा दाजुभाइकहाँ सामूहिक प्रयासमा बाख्रा, लोकल कुखुरा, बङ्गुर, बँदेलपालन तथा व्यावसायिक तरकारी खेती छ । कुटानी–पिसानी मिलसमेत छ । दाइले विदेशबाट फर्केपछि गाउँमै व्यवसाय गर्ने सोच बनाएको र त्यसमा आफूले साथ दिएको मीन बताउँछन् ।

“सुरुमा हामी दुवै शिक्षक थियौँ, दाइ छोडेर विदेश जानुभयो, मैले निरन्तर शिक्षण पेसा गर्दै आए, उनी गाउँ फर्केर आएपछि आफ्नै व्यवसाय गरौँ भन्नु भो र सुरु गरियो, दाइले दिनभर व्यवसायलाई समय दिनुहुन्छ, म बिहान–बेलुका समय दिन्छु”, उनले भने, “बँदेलका र बङ्गुरका पाठापाठी बिक्रीलाई बढी जोड दिएका छौँ, बाख्रा र कुखुरामा भर्खर लागानी गरेका हौँ ।” अहिले तीनवटा माउ बँदेल र ४० वटा बङ्गुर छन् । अहिले ३० वटा बङ्गुरबाट पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा छ । बङ्गुरका पाठापाठी मात्रै बेचेर वार्षिक रु तीनदेखि चार लाख कमाउने गरेको गिरीले बताउनुभयो । “फर्निचर उद्योगबाट निस्केका काठ सदुपयोग गर्न बङ्गुरको खोर निर्माण गरेका थियौँ तर अहिले बँदेल र बङ्गुर व्यावसायिकरूपमा पालेका छौँ”, उनले भने, “विदेशमा भन्दा स्वदेशमा राम्रो कमाइ हुँदो रहेछ, अहिले थोरै भए पनि वार्षिक १०÷१२ लाखको कारोबार हुँदै आएको छ ।” दुई भाइले पीपलडाँडा ताजा तरकारी तथा पशुपालन फार्म दर्ता गरेर कुखुरा, बाख्रा र तरकारीसमेत उत्पादन गर्दै आएका छन् । अहिले दर्जनभन्दा बढी बाख्रा मासुका लागि बागलुङ बजारमा बिक्री भएको छ । फार्ममा आठ बाख्रा, सय लोकल कुखुरा छन् भने दुई रोपनी बारीमा लटरम्म सिमी फलेको छ ।

दुई भाइ मिलेर गाउँमै जागिर खाँदै व्यावसायिक फर्निचर उद्योग, पशुपालन तथा तरकारी उत्पादनमा लाग्नु अन्यलाई समेत उदाहरणीय कार्य भएको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । (रा स स )


दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु