Information is intelligence
HomeNewsचितवन निकुञ्जमा फेरि गैंडा सिकारी

चितवन निकुञ्जमा फेरि गैंडा सिकारी

- Advertisement -spot_img

चितवन — चितवन राष्ट्रिय निकुञ्जमा साउन ८ यता चारवटा गैंडा मृत भेटिएका छन् । चारमध्ये एउटा गैंडाको हाडखोर मात्रै थियो । निकुञ्जभित्रै कुहिएको अस्थामा अर्को गैंडा पनि फेला परेको छ । उक्त गैंडा तस्करहरूले मारेर खाग लगेको हुन सक्ने निकुञ्जका अधिकारीको भनाइ छ । यहीबीचमा कालगतिले मरेका अन्य दुई गैंडा पनि भेटिएका थिए ।

चितवन निकुञ्ज कार्यालयबाट प्राप्त विवरणअनुसार साउन ११ गते सोमबार निकुञ्जको माडी क्षेत्रनजिक घाँगर पोस्टको टुनामुना खोलामा एउटा मरेको गैंडाको कुहिएको शरीर भेटिएको थियो । त्यो गैंडा तस्करहरूले मारेर खाग लगेको निकुञ्जको आशंका छ । ‘गैंडाको पोस्टमार्टममा संलग्न चिकित्सकहरूको प्रारम्भिक अनुमान त्यही छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ।

गैंडाको खाग नभेटिएकाले मात्रै होइन, अन्य शारीरिक अवस्थाले पनि त्यस्तो आशंका बढेको बरालले बताए । ‘खाग काटेको जस्तो देखिन्छ । खप्परमा प्वाल पनि छ । त्यसैले मारेर खाग लगेको हो कि भन्ने आधार देखिएको छ,’ उनले भने । झन्डै अढाई महिनाअघि उक्त गैंडा मरेको हुन सक्ने उनले बताए ।

अमृतेमा एक–डेढ वर्षअघि एउटा गैंडा मरेको थियो । बाहिर गैंडा मरेमा हामीले खाग झिकेर, शरीर खाल्डो खनेर पुर्ने गर्दछौं । निकुञ्जभित्र भएको घटनामा खाग झिकेपछि शरीर त्यसै छाड्छौं । पहिला गैंडा मरेको ठाउँभन्दा पाँच सात सय मिटर पर अहिले कंकाल भेटिएको हो,’ उनले भने । त्यो नयाँ नभएर पुरानै गैंडाको शरीर स्यालजस्ता जनावरले तानेर त्यहाँ लगेको उनको अनुमान छ ।

अमृतेमा भेटिएको कंकाललाई गणना नगर्ने हो भने साउनयता चितवन निकुञ्जमा ६ वटा गैंडा मरेका छन् । अघिल्लो आर्थिक वर्षमा चितवन निकुञ्जमा ३२ वटा गैंडा मरेका थिए । तीमध्ये चारवटालाई तस्करहरूले मारेका थिए । चितवन निकुञ्जमा पाइने ठूलो एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । गैंडा मारेर यसको अंगको कारोबार गरे १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुन्छ ।

गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि तस्करहरूले गैंडा मार्ने गर्छन् । पछिल्लो पटक चैतमा भएको गणनाअनुसार नेपालमा गैंडाको संख्या ७५२ छ । जसमध्ये सबैभन्दा धेरै ६९४ वटा गैंडा चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु