Information is intelligence
HomeNewsविकासका लक्ष्य हाँसिल गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने : राष्ट्रपति भण्डारी

विकासका लक्ष्य हाँसिल गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने : राष्ट्रपति भण्डारी

- Advertisement -spot_img

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्य हाँसिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले शुक्रबार आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत राष्ट्रपति भण्डारीले युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताइन् ।

युवा शक्ति देशको शक्ति भएको भन्दै राष्ट्रनिर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने बताइन् । राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र सामाजिक प्रणाली नै अवरुद्ध हुने बताइन् ।

युवा विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुने उनको भनाइ छ । ‘रोजगारीका लागि युवा बिदेसिदा सामाजिक सांस्कृतिक मूल्य मान्यतामा बिचलन आएको छ । यसले पारिवारिक सुख, शान्तिमा पनि खलल पुगेको छ,’ उनले भनिन् । सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाइन् ।

युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्दै सीपयुक्त गुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याइन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताए । ‘समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ–आफ्नो ठाउँबाट हातेमालो गर्न सबैलाई आह्वान गर्छु,’ उनले भने ।

प्रधानमन्त्री देउवाले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकास लक्ष्यको सार्थक साझेदारका रूपमा युवा सहभागितालाई अगाडि बढाउने बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव कमलप्रसाद पोखरेलले युवाको क्षमता विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले युवाको क्षमतालाई सीपअनुसार उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले युवालाई स्वदेशमा नै रोजगारी दिनसके दैनिक एक हजारको संख्यामा युवा बिदेसिनु नपर्ने बताए । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले परिवर्तनका संवाहक युवा भएकाले युवाको क्षमता विकास गरेर मात्र मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए । सरकारले युवालक्षित कार्यक्रम ल्याए पनि कार्यन्वयनमा समस्या भएकाले युवाका मुद्दा अझै सम्बोधन हुन नसकेको बताए ।

‘खाद्य प्रणालीमा रुपान्तरण मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्र्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो। सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाइरहेको बेला नेपालमा भने २००४ देखि मनाउन थालिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु