Information is intelligence
HomeAgricultureपाल्पामा अकबरेको व्यावसायिक खेती

पाल्पामा अकबरेको व्यावसायिक खेती

- Advertisement -spot_img

जिल्लामा पहिलोपटक अकबरे खुर्सानी खेतीको व्यावसायिक परीक्षण सफल भएको छ । पालुङमैनादीको मैनादी, माथागढीको रुप्से, तिनाउको चर्चरे, बगनासकालीको बराङ्दीलगायतका स्थानमा अकबरे खुर्सानीको परीक्षण खेती गरिएको हो ।
पाल्पाको रिब्दीकोटमा अकबरे खुर्सानी टिप्दै स्थानीय । तस्बिर : माधव अर्याल/कान्तिपुर

२ सय बढी किसानले पहिलोपटक परीक्षणका रूपमा लगाएको अकबरे खुर्सानी राम्रो फलेको छ । माथागढी गाउँपालिका–२, रुप्सेमा कम्तीमा २ सय रोपनीमा अकबरे खुर्सानी खेती गरिएको छ । पालुङमैनादीका एकै जना किसानले १ सय ९० रोपनीभन्दा बढी जग्गामा अकबरे खुर्सानी लगाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चक्लाबन्दी कार्यक्रमले यस वर्ष अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न हौस्याएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसालले बताए । ‘परदेशबाट फर्केकाहरूका लागि अकबरे खुर्सानी खेती मिहिनेत गर्ने थलो बनेको छ,’ उनले भने । माथागढी गाउँपालिका रुप्सेको माडी बहुउद्देश्यीय कृषि सहकारी संस्थाका किसानले लगाएको खुर्सानी पनि राम्रो फलेको छ ।

रुप्सेका ३३ जना किसानले पहिलो वर्ष अकबरे खुर्सानी लगाएको सहकारीका अध्यक्ष तुल्सीराम भुसालले बताए । ‘किसानलाई अकबरे खुर्सानीका विषयमा जानकारी दिएपछि अहिले व्यावसायिक खेती गर्न हौसिएका हुन्,’ उनले भने । एक जना किसानले कम्तीमा ४ लाख कमाइ गर्ने उनले बताए । कोरोनाका कारण रोजगारी गुमाएर भारतबाट फर्केका रुप्सेका तारा पाण्डेयले पहिलो वर्षमै व्यावसायिक खुर्सानी खेती गरेका छन् । चार रोपनी बारीमा लगाएको अकबरेबाट कम्तीमा ६ लाख कमाउने योजना उनको छ । तिनाउको चर्चरेमा पनि ३० बढी किसानले लगाएका छन् ।

‘अकबरे खुर्सानीको खेती गर्दा बजारका लागि कुनै समस्या नहुने देखिएको छ,’ रुप्सेका किसान रामचन्द्र नेपालले भने, ‘बाँदरलगायत अन्य जंगली जनावरबाट बचाउन पनि अकबरे खुर्सानी खेती गर्ने योजना बन्यो र इलाम पुगेर बीउ ल्याएर लगाइएको छ ।’ रिब्दीकोट–७, पालुङमैनादीको त्रिपुट पशु तथा कृषि बहुउद्देश्यीय फार्मका सञ्चालक जनक आचार्यले बाँझो जग्गा भाडामा लिएर अकबरे खुर्सानी लगाएका छन् । ७५ हजार बिरुवा मल्चिङ र बाँकी ५० हजार बिरुवा मल्चिङबाहिर छ ।

यस वर्ष नै उनले कम्तीमा ५० लाखको खुर्सानी बिक्री गर्ने सोच राखेका छन् । कम्तीमा २० हजार किलो उत्पादन गर्ने र २ सय ८१ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने सम्झौता गरेका छन् । ‘पहिलो वर्ष भएकाले अनुभव भएन । अर्को वर्ष थप बिरुवा लगाउने योजनामा छु,’ उनले भने, ‘अर्को वर्ष आम्दानी अझ बढ्ने अपेक्षामा छु ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु