Information is intelligence
HomeNewsरारामा अक्सिजनकाे अभाव

रारामा अक्सिजनकाे अभाव

- Advertisement -spot_img

कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारातालमा अक्सिजनको मात्रा घटेको छ । प्रदूषणका कारण राराको पानीमा अक्सिजनको मात्रा कम भएको हो । तालवरिपरि विभिन्न संरचना निर्माण हुँदा र मानवीय चहलपहल बढ्दा अक्सिजनको मात्रा घटेको रारा राष्ट्रिय निकुन्जले जनाएको छ ।

पशुचौपायाको दिसापिसाब पनि तालमा जम्मा हुन थालेपछि चलचरहरू संकटमा परेको निकुन्जले गरेको अध्ययनले देखाएको हो । तालको पानीमा प्रतिलिटर ७.५ मिलिग्राम अक्सिजनको मात्रा हुनुपर्नेमा ५.१ मिलिग्राम मात्र अक्सिजन रहेको पाइएको निकुन्जका अधिकृत बद्रीविनोद दाहालले बताए । उनका अनुसार फोहोरले तालमा अक्सिजनको मात्रा घटेपछि असला माछालगायत पानीजन्य जीव संकटमा पर्न थालेका छन् । ‘फोहोर तालमा मिसिँदा पानीमा क्षारको मात्रा वृद्धि भएको भेटियो,’ उनले भने, ‘फोहोर नियन्त्रण गर्न नसके अबको १० वर्षपछि माछा र अन्य जलचर लोप हुने देखिन्छ ।’

उनका अनुसार गत वर्षको पुस महिनामा रारा तालका असला माछाहरू मरेर तालमा तैरिएका थिए । फोहोर बढेपछि पानीको स्वच्छता र रङ फेरिँदै गएको निकुञ्जले जनाएको छ । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले गोरु, भैसी, भेडाबाख्रा, घोडा खच्चरलगायत पशुचौपाया छाडा छोड्न थालेपछि तालको पानी दूषित हुन थालेको निकुन्जले जनाएको छ । निकुन्ज क्षेत्रभित्र दैनिक करिब ११ हजार पशुचौपाया चर्ने गरेको कार्यालयको तथ्यांक छ । कार्कीबाडा, पिना, तलितुम, हेन्नकाँध, मुर्मा, झयारी, टोप्लालगायत एक दर्जन बढी बस्तीका स्थानीयले बाह्रै महिना चौपायाहरू रारा निकुञ्जमै चराउने गरेका छन् । त्यस्तै, रारा घुम्न आएका पर्यटकले पनि आफूले प्रयोग गरेका सामग्री तालमा फाल्दा पनि फोहोर बढेको स्थानीय अगुवा कमल शाहीले बताए ।

उनका अनुसार तालवरिपरि निर्माण गर्न लागिएको साइकल लेनले पनि राराको पर्यावरणमा असर पारेको छ । ‘सडक निर्माण गर्दा प्रयोग गरिने मेसिनका कारण पनि पर्यावरणमा असर पर्‍यो,’ उनले भने, ‘साइकल लेन खन्दा निस्किएको माटो पनि तालमै फालिएको छ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु