Information is intelligence
HomeAgricultureठोरीमा केरा खेती फस्टाउँदै

ठोरीमा केरा खेती फस्टाउँदै

- Advertisement -spot_img

पर्सा — ठोरी गाउँपालिकाका किसान गत वर्षदेखि व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । यहाँका दुई किसानले मात्र हाल २१ बिघामा व्यावसायिक केरा खेती गरेका छन् । ४० वर्षीय किसान सूर्यबहादुर फिवाले ठोरी–५ सुवर्णपुरमा १७ बिघा जग्गा भाडामा लिई गत वर्षदेखि केरा खेती गरेका छन् ।

चितवनमा डेढ दशकदेखि केरा खेती गर्दै आएका फिवाले आफ्नै गाउँमा भने गत वर्षदेखि केरा खेती थालेका हुन् । चितवनजस्तै हावापानी र माटो भएकाले आफूले यहाँ पनि सम्भव देखेर एकैसाथ ठूलो परिमाणमा केरा खेती गरेको उनले बताए । ‘मलाई चितवनमा १५ वर्षदेखि केरा खेती गरेको अनुभव छ, यहाँ पनि चितवनकै जस्तै हावापानी र माटो भएकाले केरा खेती सम्भव छ जस्तो लाग्यो,’ उनले भने, ‘जग्गा भाडामा लिएर एकैसाथ १७ बिघामा खेती सुरु गरे र सफल पनि भयो ।’

जीतपुर, हेटौंडादेखि काठमाडौंसम्म केरा सहजै बिक्री भइरहेकाले आफूलाई बजारको समस्या नरहेको उनले बताए । पहिलो वर्ष केरा खेतीमा रोगव्याधि नलागे पनि यस वर्ष धेरै पानी परेर केही क्षति पुगेको उनको भनाइ छ । ठोरी–४ विजयबस्तीमा पनि गत वर्षदेखि बुद्धलक्ष्मी श्रेष्ठले ४ बिघामा व्यावसायिक केरा खेती सुरु गरेकी छन् । निजी जग्गामै खेती गरेकाले उनले सुरुमा १ लाख ५० हजार रुपैयाँ मात्र लगानी गर्नुपरेको बताइन् । १ वर्षयता लगानी उठाइसकेकी श्रेष्ठले उत्पादित केरा हेटौंडाका व्यापारीले खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको जानकारी दिइन् ।

१५ देखि २० दिनमा केरा काट्ने गरेको बताउँदै उनले यसरी काट्दा एक गाडी संकलन हुने बताइन् । एक पिकअप भ्यान केरा बिक्री हुँदा पनि ३२ देखि ४३ हजार रुपैयाँ कमाइ हुने गरेको छ । यसबाहेक स्थानीयस्तरमा ठोरी बजारका व्यापारीले पनि केरा खरिद गर्ने गरेको उनले बताइन् । फिवा र श्रेष्ठको अनुसरण गर्दै यस भेगका थुप्रै किसानले थोरबहुत केरा खेती सुरु गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु