Information is intelligence
HomeShare Bazarआजदेखि न्यादि हाइड्रोपावरको IPO आवेदन खुल्यो : हेर्नुहोस् कम्पनीको वित्तिय अवस्था

आजदेखि न्यादि हाइड्रोपावरको IPO आवेदन खुल्यो : हेर्नुहोस् कम्पनीको वित्तिय अवस्था

- Advertisement -spot_img

न्यादि हाईड्रोपावर लिमिटेडले २० लाख ९२ हजार ५ सय कित्ता साधारण् शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गरेको छ। निष्काशन आज मिति २०७८ असोज १५ गते देखि असोज २० गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ असोज ३१ गते सम्म खुल्ला रहने छ। 

कम्पनीको जारी पूंजी रु.१ अर्ब ५० करोडको १०% अर्थात रु.१५ करोड बराबरको रु.१०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लामा बसोवास गर्ने नेपाली नागरिकहरुको लागि निष्काशन तथा बाँडफाँड भईसकेको छ। यस्तै, जारी पूंजीको २% अर्थात रु.३ करोड बराबरको ३ लाख कित्ता शेयर संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुका लागि सुरक्षित गरिएको र निष्काशनको लागि बाँकी रहेको १५% अर्थात २२ लाख ५० हजार कित्ता शेयर (सामूहिक लगानी कोष तथा कर्मचारीहरु समेत) सार्वजनिक निष्काशनमा आएको हो।

निष्काशनको अन्तिम चरणमा रहेको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता शेयर मध्ये १ लाख १२ हजार ५ सय कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ४५ हजार कित्ता अर्थात २% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने २० लाख ९२ हजार ५ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

क्रेडिट रेटिङ्ग

न्यादी हाईड्रोपावर लिमिटेडलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) जनाउने “[CARE-NP BB (Is)]” ग्रेडिङ्ग प्रदान गरेको छ। केयर रेटिङ्ग नेपाल लिमिटेडले CARE-NP AA (Is) देखि CARE-NP C (Is) सम्मको ग्रेडिङ्ग प्रदान गर्दछ। जसमा ग्रेड “CARE-NP AA(Is)”ले सकारात्मक आधार जनाउँछ भने “CARE-NP C(Is)” ले नकारात्मक आधार हरु जनाउँछ।

कम्पनीको परिचय

न्यादी हाईड्रोपावर लिमिटेड न्यादी जलविद्युत आयोजना निर्माण तथा संचालन गर्ने र अन्य विद्युत उत्पादन आयोजनामा लगानी गर्ने उद्देश्यका साथ मिति २०६३ फाल्गुन १७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०६४ फाल्गुन २६ देखि कारोबार संचालन गर्दै आएको छ। हाल दुई जना संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी लिमिटेड र लम्जुङ्ग विद्युत बिकास कम्पनी लिमिटेडले प्रवर्दन गरेको कम्पनीले लम्जुङ्ग जिल्ला हुँदै बहने न्यादी खोला तथा सिउरी खोलाको श्रोत उपयोग गरी ३० मेगावाट क्षमता भएको न्यादी जलविद्युत आयोजना बिकास निर्माण गरिरहेको छ।

संचालक समीति

बुटवल पावर कम्पनी लिमिटेड र लम्जुङ्ग विद्युत बिकास कम्पनी लिमिटेडले प्रवर्दन गरेको यस कम्पनीको संचालक समीतिको अध्यक्षता बुटवल पावर कम्पनीको प्रतिनिधित्व गर्दै श्री ओम प्रकाश श्रेष्ठले गरेका छन भने अन्य ३ जना संचालकहरु पनि संचालक समितिमा रहेका छन। बि. ई. (सिभिल) सम्म अध्ययन गरेका श्रेष्ठ बुटवल पावर कम्पनी लिमिटेड, अरनिको निर्माण कम्पनी, इन्टरवर्ल्ड ट्रेडिङ्ग, र खुदी हाइड्रोपावर लिमिटेडको संचालक समितिमा रहेका छन्। उनी सँग २०४८ साल देखि नै निर्माण तथा जलविद्युत क्षेत्रमा रहेर योगदान गरेको अनुभव रहेको देखिन्छ। यस्तै, कम्पनीको व्यवस्थापनको जिम्मा प्रमुख कार्यकारी अधिकृत श्री उत्तम अमात्यले २०७२ असोज २ गते देखि सम्हाल्दै आएका छन। इन्जिनियरिङ्गमा स्नातकोत्तर गरेका अमात्यसँग विद्युत प्राधिकरणको विभिन्न तहमा ३१ वर्षको कार्यानुभव रहेको छ भने अपर त्रिशुली “थ्रिए” मा निमित्त आयोजना निर्देशक रही काम गरेको समेत अनुभव रहेको छ।

वित्तीय विश्लेषण

हाल ३० मेगावाट क्षेमता भएको न्यादी जलविद्युत आयोजना बिकास निर्माण गरिरहेको न्यादी हाईड्रोपावर लिमिटेडको शेयर पूंजी रु.१.०९ अर्ब रहेको छ। जारी पूंजी रु.१.५ अर्बको रहेको कम्पनीले १०% शेयर लम्जुङ्ग जिल्लाका बासिन्दाहरुको लागि निष्काशन तथा बाँडफाँड गरी उक्त जारी पूंजीको १५% हुन आउने रु.२२ लाख ५० हजार (कर्मचारी तथा सामुहिक लगानी कोष समेत) बराबरको प्राथमिक निष्काशन गर्ने प्र्कृयामा रहेको छ। प्राथमिक निष्काशन पश्च्यात कम्पनीको शेयर पूंजी रु.१ अर्ब ५० करोड हुनेछ जसमा ७३% संस्थापक शेयरधनीहरुको हुनेछ भने बाँकी २७% उद्योग प्रभावित क्षेत्र (लम्जुङ्ग जिल्ला), संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा सर्वसाधारण शेयरधनीहरुको हुनेछ। हाल कम्पनीमा मुख्य लगानी श्री बुटवल पावर कम्पनी लिमिटेडको रहेको छ जुन कुल संस्थापक शेयर मध्य ९८.१९% रहेको छ। यस्तै, लम्जुङ्ग विद्युत बिकास कम्पनी लिमिटेडलको नाममा १.८१% शेयर लगानी रहेको छ। यस्तै, आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको जगेडा तथा कोष रु.८.७७ करोड ऋणात्मक रहेको छ जसले गर्दा रु.१.०९ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको कुल शेयर धनीकोष घटेर रु.१ अर्बमा झरेको छ। आर्थिक वर्ष २०७४/७५ मा पनि रु.१.०९ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष रु.२.२३ करोडले ऋणात्मक रहेको थियो भने कुल शेयरधनीकोष रु.१.०७ अर्ब कायम हुन आएको थियो।

हाल ९९% निर्माण कार्य सम्पन गरेको कम्पनीले रु.४१.८३ करोड अल्पकालिन ऋण र रु.३.२ अर्ब दिर्घकालिन ऋण गरी रु.३.६२ अर्ब कुल कर्जा सापत लिएको छ जस अनुरुप कर्जा र कुल शेयरधनीकोष अनुपात ४.१२ गुणा कायम हुन आएको छ। कर्जा तथा सापत आर्थिक वर्ष २०७४/७५ मा रु.१.०७ अर्ब रहेको थियो। कम्पनीले आयोजना निर्माण गर्न रु.४.९५ अर्ब सहवित्तियकरण (Consortium) अन्तर्गत बैंक वित्तिय संस्थाहरुबाट कर्जा स्वीकृत (Bridge Gap Loan सहित) गरेको छ जसमध्ये २०७८ आषाढ मसान्तसम्म रु.३.६५ अर्ब अपभोग गरिसकेको छ। अपभोक गरेको कर्जा मध्ये रु.१.३४ अर्ब ऐभरेष्ट बैंकबाट रहेको छ भने रु.६३.७९ करोड नबिल बैंकबाट, रु.६२.६ करोड ग्लोबल आइएमई बैंक, रु.६६.३६ करोड सनराइज बैंक र रु.३७.९८ करोड जलविद्युत लगानी तथा बिकास कम्पनीबाट रहेको छ। हाल सम्म कम्पनीले कुल स्वीकृत कर्जा सापतको ७३.८१% उपभोग गरेको छ।

मिति २०७८ असोज १ देखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले हालसम्म विद्युत बिक्रीबाट कुनै आम्दानी गरेको छैन जसका कारण कम्पनी रु.२.०४ करोड घाटामा रहेको छ भने आ. व. २०७४/७५ मा रु.६७.६७ करोड संचालन खर्च तथा प्रशासनिक खर्च भएकोमा आ. व. २०७७/७८ मा बढेर रु.२.०४ करोड पुगेको छ।

प्राथमिक निष्काशन (IPO) पश्च्यात कम्पनीको शेयर पूंजी बढेर रु.१.५ अर्ब पुग्नेछ भने जगेडा तथा कोष पनि आ. व. २०७८/७९ मा प्रगति भएर रु.५.८४ करोड ऋणात्मक रहेने कम्पनीको प्रक्षेपण रहेको छ भने कुल शेयरधनीकोष पनि सुधार भएर रु.१.४४ अर्ब कायम रहने छ। यसै आर्थिक वर्ष देखि व्यवसायिक उत्पादन सुरु गर्ने भएकाले आ. व. २०७९/८० भित्रमा कम्पनीको जगेडा तथा कोष सकारात्मक रही रु.१४.७४ करोड कायम रहने अनुमान रहेको छ। यस्तै, चालु आर्थिक वर्षमा कम्पनीको कर्जा तथा सापत उच्च रही अर्को आर्थिक वर्ष पछी क्रमश घट्दै जाने अनुमान रहेको छ। यस आ. व. मा कर्जा तथा सापट रु.४.२२ अर्ब पुग्नेछ भने व्यवसायिक उत्पादन पश्यात कर्जा भुक्तानी हुँदै जाने र आ. व. २०८२/८३ सम्ममा रु.३.०९ अर्बमा झर्ने अनुमान कम्पनीले गरेको छ। त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमास देखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले रु.७५.९५ करोड विद्युत बिक्री आय गर्ने अनुमान गरेको छ भने २०७९/८०, २०८०/८१, २०८१/८२ र २०८२/८३ मा क्रमश रु.९३.४२ करोड, रु.९६.१५ करोड, रु.९८.८९ करोड र रु.१.०४ अर्ब आम्दानी गर्ने लक्ष्य राखेको छ जसको परिणाम स्वरुप खुद नाफा चालु आ. व. को रु.२.९३ करोड बाट बढेर आ. व. २०८२/८३ मा रु.३७.४२ करोड पुग्नेछ।

वित्तिय अनुपातहरु

आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रु.१.८७ ऋणात्मक रहेको छ भने प्रति शेयर किताबी मुल्य रु.९१.९९ कायम हुन आएको छ। कम्पनीले निर्माण सम्पन्न गरी व्यवसायिक उत्पादन गर्न बाँकी रहेकोले प्रमुख वित्तिय सूचकहरु ऋणात्मक रहेका छन्। यस्तै, लक्ष्य अनुसार समयमा निर्माण कार्य सम्पन्न भई व्यवसायिक उत्पादन थालेमा कम्पनीको प्रति शेयर आम्दानी तथा प्रति शेयर किताबी मुल्यमा उलेख्य प्रगति हुने देखिएको छ। कम्पनीले आगामी चार वर्ष (आ. व. २०८२/८३ ) मा प्रति शेयर आम्दानी रु.२४.९५ कायम राखि प्रति शेयर किताबी मुल्य रु.१४६.४३ पुर्याउने लक्ष्य राखेको छ। यस्तै, आउने वर्षहरुमा कम्पनीको प्रमुख वित्तिय अनुपातहरु जस्तै खुद नाफा मार्जिन, कुल सम्पत्तीमा प्रतिफल तथा कुल इक्विटी प्रतिफल आकर्षक रहने अनुमान रहेको छ। यस्तै, लक्ष्य अनुसार प्रगति गर्न सकेमा कम्पनीको व्यवसाय तथा वित्तिय सूचकहरुमा हुने उलेख्य वृद्धिको फलस्वरुप आर्थिक वर्ष २०७९/८० देखि कम्पनीले लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ।

लम्जुङ्ग जिल्ला हुँदै बहने न्यादी खोला तथा सिउरी खोलाको श्रोत उपयोग गरी ३० मेगावाट क्षेमता भएको न्यादी जलविद्युत आयोजना बिकास निर्माण गरिरहेको न्यादी हाईड्रोपावर लिमिटेड हाल दुई जना संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी लिमिटेड र लम्जुङ्ग विद्युत बिकास कम्पनी लिमिटेड संस्थापक शेयरधनीहरुबाट प्रवर्दित कम्पनी हो। हाल ९९% निर्माण कार्य सम्पन्न गरेको कम्पनीले जारी पूंजीको १५% हुन आउने रु.२२ लाख ५० हजार बराबरको प्राथमिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ। प्राथमिक निष्काशनबाट प्राप्त रकम कम्पनीले सिभिल, हाइड्रो तथा इलेक्ट्रा मेकानिकल निर्माण कार्य गरे वापत ठेकेदार कम्पनीलाई भुक्तान गर्नमा उपयोग गर्नेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु