Information is intelligence
HomePoliticsमुख्यमन्त्रीको बचाउ गर्दै जसपा

मुख्यमन्त्रीको बचाउ गर्दै जसपा

- Advertisement -spot_img

जनता समाजवादी पार्टी (जसपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुराशयपूर्ण तरिकाले मुख्यमन्त्री कार्यालयमा छापा मारेको आरोप लगाएको छ ।

प्रदेश २ का मुख्यमन्त्रीको बचाउ गर्दै जसपाले अख्तियारले गरेको सो छापा अमर्यादित, विद्धेषपूर्ण तथा सामुदायिक एवम् राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको आरोप लगाएको छ ।

‘हालै अख्तियारले प्रदेश नं २ मा जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुन्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको छ,’ जसपाको कार्यालयका प्रमुख प्रकाश अधिकारीले शुक्रबार विज्ञप्तिमार्फत भनेका छन्, ‘अख्तियारले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न पाउने हो । तर अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवम् राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत छ ।’

जसपाले सो घटनामा घोर विरोध भर्त्सना र आपत्तिसमेत प्रकट गरेको छ । ‘जसपा, नेपाल सधैं अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको विरुद्ध सुशासन र सदाचारको पक्षमा रहेको कुरा सर्वविदितै छ । राज्यको सम्पूर्ण तह र निकायहरूमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

अख्यितारको कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरूमा नैराश्यता र हिनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकारी कार्यहरूमा प्रतिकूल असर पर्ने जसपाको ठहर छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु