Information is intelligence
HomeEconomyमहङ्गो भएको भन्दै च्याङ्ग्रा ल्याउने निर्णयबाट खाद्य पछि हट्दा उपभोक्तलाई मूल्यवृद्धि

महङ्गो भएको भन्दै च्याङ्ग्रा ल्याउने निर्णयबाट खाद्य पछि हट्दा उपभोक्तलाई मूल्यवृद्धि

- Advertisement -spot_img

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो जिम्मेवारी तथा उदेश्यबाटपछि हटेर निजी क्षेत्रलाई जिम्वेवारी सुम्पँदा उपभोक्ताले भने मूल्यवृद्धिको मार खेप्नुपर्ने भएको छ ।

निजी क्षेत्रको एकाधिकारलाई अन्त्य गर्दै बजारमा मूल्य स्थिरता कायम गर्न सरकारी तवरबाट स्थापित सरकारी स्वामित्वको यो कम्पनीले प्रभावकारी कार्य नगरी उपभोक्ता हीतभन्दा ब्यापारीसँगको मिलोमतोमा लाग्दा उपभोक्ताले महङ्गीको मार खेप्नुपरेको उपभोक्तावादीहरु बताउँछन् ।

खाद्य व्यापार कम्पनीले बजारमा च्याङ्ग्राको उपलब्धता कम भएको तथा मूल्य बढेको भन्दै संस्था स्थापनाको उदेश्य तथा उपभोक्ताको हीतमा गर्नुपर्ने कामबाटपछि हट्दै च्याङ्ग्रा नल्याउने निर्णय गरेको छ । सुरुमा दशैंका लागि मुस्ताङबाट एक हजार वटा च्याङ्ग्रा ल्याउने बताएको खाद्यले आफुले गरेको निर्णयबाट पछि हट्दा त्यसको मार भने दशैंमा मासु उपभोग गर्नेहरुमाथि पर्ने भएको हो ।

चाडवाडको समयमा एकातिर खाद्यान्य लगायत दैनिक उपयोग्य वस्तुको मूल्य ढाड सेक्नेगरी बढिरहेको अवस्थामा यो वर्षको दशैंका लागि मासुका लागि खसीबोका खरीदका लागि समेत उपभोक्ताले निजी क्षेत्रबाट आउने खसीबोकाका भर पर्नुपर्दा महङ्गो मूल्य खर्चनुपर्ने भएको छ । खाद्य व्यापार कम्पनीले आपूर्ति बढाएर हस्तक्षेपकारी भुमिका निर्वाह नगर्दा यो वर्ष खसीबोकाको मासुको मूल्य बढ्ने संकेत देखिएको हो । यसले राजधानी काठमाण्डौंमा दशैं मान्नेहरुका लागि यो वर्षको दशैं विगतको वर्षहरुको तुलनामा महङ्गो हुने भएको हो ।

पशुपन्छी मन्त्रालयले सरकारी कम्पनी खाद्य व्यवस्था तथा ब्यापार कम्पनी बाहेक ‘हेफर इन्टरनेशनल’ सँग आवद्ध सहकारी, बाख्रा व्यवसायी महासंघ, र खसी बोका व्यवसायी मार्फत खसीबोका तथा च्यांग्रा आपूर्ति गर्दै आएको छ । तर यो वर्षको लागि कार्ययोजना र तय भैसकेको खसीबोका तथा च्याङ्ग्राको परिमाण पनि खाद्य ब्यापार कम्पनीले नल्याउने भएपछि दशैंमा उपत्यकामा मासुको आपूर्तिमा निजी क्षेत्रको एकाधिकार बढ्नेछ । यसले मूल्य बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।

पशुपन्छी मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य शहरहरुमा खसीबोकाको औसत माग प्रतिदिन करिब २ हजार वटा रहेको छ । अन्य चाडपर्वहरु र दशैको दिनहरुमा काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुको औषत माग प्रतिदिन ५ हजार पुग्ने अनुमान छ ।

त्यसअनुसार दशैंमा उपत्यकाका लागि मात्रै ५० हजार खसीबोका आवश्यक पर्नेछ । यस हिसाबले काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुमा खसी, बोका र च्याङ्ग्राको कुल माग ५० हजार वटा (२५ देखि ३० के.जी प्रति जनावर ज्यूदो तौल) हुन्छ । दशैंको १० दिनमा आवश्यक माग ५ हजार मध्ये २ हजार ५०० खसीबोका काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष निजी क्षेत्रको मनोमानी नहोस् भन्नका लागि तथा मूल्य स्थीरता कायम गर्न उपत्यकामा खसीबोका तथा च्याङग्रा ल्याएर बिक्री गर्ने गरेको छ । खाद्यले खसी।च्याङग्रा बिक्री गरेकै कारण निजी व्यवसायीले अस्वाभाविक मूल्य निर्धारण गर्न पाउँदैनन् । तर यो वर्ष खाद्यले यसअघि ल्याउने तयारी गरिसकेको च्याङ्ग्रा समेत नल्याउने भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत सरकारले थोरै नाफा राखेर दशैंका लागि खसीबोका तथा च्याङ्ग्रा ल्याउने गरेको थियो । तर यो वर्ष मासुका लागि पूर्णतः निजी क्षेत्रको भर पर्नुपर्ने अवस्था छ । यसले उपभोक्तामाथि महङ्गो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ । अघिल्लो वर्ष ६ करोडको खसीबोका तथा च्याङ्ग्रा बिक्री गरेको खाद्यले यो वर्ष अघिल्लो वर्षभन्दा आधा कम बजेट अर्थात ३ करोडको मात्र खसीबोका बिक्री गर्ने बताएको छ ।

अघिल्लो वर्ष २५ देखि २७ हजारमा पाइने रोज्जा च्याङ्ग्राको मूल्य यो वर्ष मुस्ताङ्गमा नै ४० हजार पुगेको छ । त्यसमाथि खाद्यले नल्याउने भएपछि यो वर्ष उपत्यकामा च्याङ्ग्रा खरीद गर्नेले निजी क्षेत्रबाट ब्यापारीले आयात गरेको किन्नुपर्दा महङ्गो पर्ने अनुमान छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घटस्थापनाको भोलिपल्ट अर्थात असोज २२ गते शुक्रबारदेखि थापाथलीबाट दशैंका लागि खसीबोका बिक्री गर्न लागेको छ । उपत्यकाको कुल मागको तुलनामा निकै कम मात्र खसीबोका बिक्री गर्ने कम्पनीको तयारी छ । दशैंमा ५० हजार वटा खसीबोकाको खपत हुने गरेकोमा खाद्यले २ हजार मात्र ल्याउँदैछ । कम्पनीले मकवानपुर र दाङका किसानहरुबाट २ हजार वटा खसीबोका ल्याएर बिक्री गर्न लागेको हो । तर मूल्य बढेको भन्दै यो वर्ष पुर्व निर्धारित १ हजार वटा च्याङ्ग्रा ल्याउने निर्णयबाट खाद्य पछि हटेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन खाद्य व्यापार कम्पनी नीतिगत रुपमा चल्न नसकको आरोप लगाए । उनका अनुसार जुन नीति बनाएर यो संस्था अगाडि बढ्नुपर्थो त्यस अनुसार चल्न सकेको छैन । कुनै नेता, मन्त्री वा व्यक्तिको भरमा संस्था सञ्चालन हुँदा त्यस संस्थाको प्रभावकारीता कम हुँदै गइरहेको उनले भनाई छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द उपत्यकाका सबैलाई पुग्नेगरी कम्पनीले खसीबोका ल्याएर वितरण गर्ने सक्ने संयन्त्र नै नभएको स्वीकार गर्छन् । सरकारको स्रोतका हिसाबले पनि यो सम्भव नभएको उनको जिकिर छ ।

उनले भने,“ उपत्यकाका सम्पूर्ण मान्छेलाई पुग्नेगरी खसीबोका आयात गर्न सरकारको स्रोत हुनुपर्यो नि । ४० हजार खसीबोका ल्याएर वितरण गर्ने सक्ने संयन्त्र पनि छैन, आर्थिक हिसाबले गाह्रो पनि हुन्छ ।” चन्दका अनुसार कम्पनीले सिस्टम बसाल्ने हो । कम्पनीले दशैंका लागि खसीबोकाको मूल्य निर्धारण गरेपछि उपभोक्तालाई बार्गेनिङ गर्न सजिलो हुन्छ ।

पशु सेवा विभागका अनुसार उपत्यकामा दशैंका लागि कम्तिमा ५० हजार खसीबोका आवश्यकता पर्छ । सरकारी निकाय खाद्य व्यापार कम्पनीबाटबाट कुल आवश्यकताको ४ प्रतिशत अर्थात २ हजार मात्र खसीबोका आयात हुने भएपछि बाँकी ९६ प्रतिशतको जिम्मा निजी क्षेत्रलाई दिइएको छ ।

यो वर्षको दशैंलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मकवानपुर र दाङका किसानहरुबाट २ हजार खसीबोका र मुस्ताङबाट १ हजार च्याङग्रा ल्याउने तयारी गरेको थियो । तर कम्पनीले च्याङग्राको मूल्य आकासिएको तथा छुट्टाइएको बजेट कम भएको भन्दै च्याङग्रा बिक्री नगर्ने बताइसकेको छ ।

अन्य बेलाको भन्दा दशैंको समयमा देशभरी नै खसीबोका तथा च्याङग्राको माग उच्च हुने गरेको छ । हरेक घरघरमा एउटा सिङ्गो खसी ढाल्नुपर्ने परम्पराका कारण समेत यो समयमा मासुको माग उच्च हुने गर्दछ । तर ५० हजार हाराहारीको माग रहेको उपत्यकामा सरकारी तवरबाट मागको ४ प्रतिशत मात्र आउँदा त्यसले मूल्यमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्न नसक्ने सरोकारवालाहरु बताउँछन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना पछिल्लो समय सरकारी संयन्त्र निकै कमजोर हुँदै गइरहेको बताउँछन् । सरकार नै च्याङ्ग्राको मूल्य महङ्गो भयो भनेर पन्छिन नमिल्ने उनले बताए । नोटबजार डटकमसँगको कुराकानीमा उनले भने ‘आफैँले गरेको निर्णयबाट खाद्य व्यापार कम्पनी पछि हट्नुले ब्यापरीसँगको मिलोमतो भएको आंशका गर्न सकिन्छ । यसले उपभोक्ताको हकहीतको पक्षमा काम गर्नुपर्ने निकाय नै बजारमा अस्वभाविक रुपमा बढ्ने मूल्यलाई हस्तक्षेप सट्टा उल्टै निजी ब्यापारीलाई प्रश्रय गरेको भान हुन्छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी सरकारी तवरबाट मात्र नभई निजी क्षेत्रको समेत सहभागिता र माग तथा उपलब्धका आधारमा मूल्य तोकिने गरेकाले यो वर्ष पनि त्यसअनुसार नै मूल्य निर्धारण हुने बताउँछिन् ।
उनका अनुसार दशैंमा खसीको मासुको माग यत्रतत्र हुन्छ । सरकारले सिस्टम मात्र बसाल्ने हो । विगतका वर्षहरुको अनुभवका आधारमा पनि यो वर्ष पनि बजारमा मासुको मूल्य सरकारले तोकेकै मूल्यको सेरोफेरो हुने उनको भनाई छ ।

“हामीले मुस्ताङबाट ल्याउने भएको च्याङग्रा उपलब्धता न्यून भएपछि नल्याउने भएका हौं । उपभोक्ता नठगिउन भनेर नै हामीले ३ करोड मूल्य बराबरको २ हजार खसिबोका ल्याउने भएका हौं ।” सुवेदीले भनिन्, “उच्च माग हुने समयमा खाद्यले खसिबोका ल्याएर मूल्य तय गरिदियो भने त्यही मूल्यको सेरोफेरोमा बजार मूल्य रहने भयो । हाम्रो उद्धेश्य पनि त्यही हो । सबै माग धान्ने भन्दा पनि बजारमा सरकारी तवरबाट रिप्रिजेन्ट गर्ने, रेफ्रेन्स दिने प्रयोजनका लागि मात्र हो ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत वर्ष १ हजार ४०० वटा च्यांग्रा र १ हजार ६०० वटा खसीबोका खरिदका लागि ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट व्यवस्था गरेको थियो । कम्पनीले च्याङ्ग्रा नल्याउने भएपछि अघिल्लो वर्षभन्दा आधा अर्थात ३ करोडको मात्र खसीबोका ल्याउन लागेको हो ।

खाद्यका सीईओ चन्द किसानहरुले जोखेर च्याङग्रा नदिने भएपछि यो वर्षको दशैंमा च्याङ्ग्रा नल्याइने भएको बताउँछन् । उनका अनुसार गत वर्षहरुमा च्याङग्रा चीनबाट आउने गरेको थियो तर यस वर्ष कोभिड संक्रमणका कारण चीनबाट च्याङग्राको आयात नहुने भएको छ । उनले भने ‘स्थानीय किसानहरुबाट मुस्ताङबाट महङ्गो मूल्यमा खरीद गरेर उपत्यकामा ल्याउँदा अत्याधिक महँगो हुने भयो । त्यसकारण नल्याउने भइएको हो । महङ्गो मूल्यमा खरीद गरेर ल्याइएको च्याङग्रा बिक्री हुन कठिनाई हुने भएकाले पनि च्याङग्रा नल्याउन लागिएको हो ।’

पशु सेवा विभागका अनुसार पछिल्लो समय व्यवसायीक रुपमा खसीबोका पालनको थालनीले उत्पादन बढ्दा नेपाल खसीबोकाको मासुमा आत्मनिर्भर बन्दै गइरहेको छ । तीन वर्षअघिसम्म देशमा वार्षिक १० अर्ब रुपैयाँ बराबरको खसीबोका आयात हुँदै आइरहेको थियो । पछिल्लो दुई वर्षयता अन्य देशहरुबाछ खसीको मासु आयात गर्नुपर्ने अवस्था छैन । देशभित्रकै उत्पादनले पुग्ने अवस्था छ ।

सरकारले यो वर्ष असोज ११ गतेदेखि लामो दूरीका लागि बसको अग्रिम टिकट बुकिङ्ग खुलाएको छ । यो वर्ष लामो समय वर्षा रहेका कारण गाउँघरपुग्ने सडक निमार्ण हुन सकेको छैन । जसका कारण अधिकांश पहाडी जिल्ला पूगने सडकको अवस्था निकै दूरअवस्था छ । दशैंका लागि सहजै टिकट नपाइने र कष्ठकर यात्रा गर्नुपर्ने कारण जिल्लामा जाने कठिनाई मोल्न तयार नहुने काठमाण्डौंबासीका लागि यो वर्ष राजधानीको दशैं विगतका वर्षहरुभन्दा महङ्गो हुने भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु