http://bit.ly/bajajdurbartimes

अपहरणपछि ६ वर्षीया बालिकाको क्रुर तरिकाले हत्या


अपहरणपछि ६ वर्षीया बालिकाको  क्रुर तरिकाले हत्या

रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको छ । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । परिवारका सदस्यको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा मंगलबार बालिकाको शव भेटिएको थियो ।

सपनाले प्रहरीसमक्ष सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् ।

‘सपनाले चाउचाउ दिएर फकाएर बालिकालाई लगेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘अलि पर लगेर सपनाले बालिकाको कानका मुन्द्रा निकालिन् । बालिकाले परिवारलाई भनिदिने डरले त्यसपछि डोरीले घाँटी कसेर हत्या गरिछन् ।’

बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले सपनाले अपहरण गरी एकान्त ठाउँमा लगेर घाँटीमा डोरीले कसी क्रुर तरिकाले हत्या गरी लुकाइछिपाइ राखेको पाइएको डीएसपी सुवेदीले बताए ।

हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको सपनाले प्रहरीसमक्ष बताएकी छिन् । हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि तीनपटकसम्म सुन चोरीसम्बन्धी मुद्दामा पक्राउ परेर छुट्दै आएकी थिइन् सपना । एक वर्ष बाल सुधारगृह भक्तपुरमासमेत बसेर सपना बाहिर निस्केकी हुन् । अहिले पुनः त्यस्तै प्रकृतिका घटना दोहोरिएको छ ।

दुईपटक बालिका नै रहेको हुँदा चोरीका सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरी मिलापत्र गरी सपनालाई छाडिएको थियो । तेस्रोपटकको समयमा उनी १७ वर्षकी थिइन् सोही समयमा एक वर्ष बाल सुधारगृहमा बसेकी थिइन् ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send