कीर्तिमानी गोलकर्ता सर्जियो अग्युरोले यो सिजनको अन्त्यसँगै म्यानचेस्टर सिटी छोड्ने भएका छन्।
इंग्लिस क्लब सिटीले ३२ वर्षे स्ट्राइकरले यो सिजनको अन्त्यमा सम्झौता सकिएसँगै क्लब छोड्ने जानकारी दिएको हो।
अर्जेन्टिनाका अग्युरो सन् २०११ मा एथ्लेटिको मड्रिडबाट म्यानचेस्टर सिटी आएका हुन्। त्यस यता उनले सिटीका लागि ३८४ खेलमा २५७ गोल गरेका छन् ।
सिटीको मैदानमा अग्युरोको सम्मानमा उनको प्रतिमा बनाइने छ । यसअघि रंगशालमा कप्तान भिन्सेन्ट कम्पनी र डेविड सिल्भाको प्रतिमा बनाइएको थियो ।
सन् २०१२ मा सिटीलाई ४४ वर्षपछि पहिलो लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका अगुएरोले क्युपिआरविरुद्ध इन्जुरी टाइममा गोल गर्दै उपाधि दिलाएका थिए ।
त्यस यता अगुएरोले थप तीन प्रिमियर लिग उपाधि जिते । यस्तै एक एफए कप र पाँच लिग कप समेत जिते ।